Prakash Adhikari March 20, 2022

भिक्टोरिया(सेसेल्स), ६ चैत्र । नेपाल र सेसेल्सबीच द्विपक्षीय श्रम सम्झौता गर्ने सहमति भएको छ ।

सेसेल्स भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र सेसेल्सका समकक्षी रोजगार तथा सामाजिक मामिलामन्त्री प्याट्रिकिया फ्र्यानकोर्टबीच सम्पन्न मन्त्रीस्तरीय बैठकमा यो सहमति भएको हो ।

हिन्दमहासागरमा पर्ने १ सय १५ वटा टापु समेट्ने यो सुन्दर मुलुक मुख्य अफ्रिका क्षेत्रबाट १ हजार ५ सय किलोमिटर पूर्व पर्दछ ।यसको नजिक टापुमुलुकहरुमा कमोरस,मगादास्कर र मरिसस रहेका छन् ।

श्रम सम्झौतालाई टुंगोमा पुर्‍याउन संयुक्त कार्यदल बनाउने पनि सहमति भएको छ । कार्यदलले एक महिनाभित्रै सम्झौतालाई टुंगोमा पुर्‍याउने श्रममन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

श्रम सम्झौता नभएका कारण नेपालीहरू व्यक्तिगत पहुँचका आधारमा सेसेल्स पुग्ने गरेका छन् । त्यसरी गएका नेपालीमध्ये सबैजसो प्रहरी र जेल सुरक्षा गार्डका रूपमा कार्यरत रहेको बताइन्छ । सेसेल्सले जेल सुरक्षाका लागि नेपालीलाई रोजगार दिने भन्दै श्रम सम्झौता अगाडि बढाउन नेपाल पक्षलाई आग्रह गर्दै आइरहेको छ ।

गत पुस ११ गते काठमाडौं आउनुभएका नेपालका लागि सेसेल्सका राजदूत थोमस सेल्बी पिल्ले श्रममन्त्री श्रेष्ठलाई भेटी सेसेल्समा नेपालीका लागि अवसर रहेको भन्दै श्रम सम्झौताको प्रस्ताव राख्नुभएको थियो ।

‘सेसेल्स सरकारले सुरक्षा गार्डबाहेक अन्य क्षेत्रमा पनि नेपाली कामदार लैजान इच्छुक छ । खुला र उदार अर्थव्यवस्था भएको सेसेल्स नेपाली श्रमिकका लागि आकर्षक गन्तव्य हुन सक्छ,’ राजदूत पिल्लेले मन्त्री श्रेष्ठसंग भन्नुभएको थियो ।

मन्त्री श्रेष्ठ रोजगारीको सम्भाव्यता अध्ययन गर्न सचिव एकनारायण अर्याल, सहसचिव राजीव पराजुली, उपसचिव थानेश्वर भुसालसहितको टोली लिएर बिहीबार साँझ सेसेल्स पुग्नुभएको थियो ।

सेसेल्सले जेल सुरक्षासहित प्रहरी सेवा र निजी क्षेत्रमा समेत अवसर दिने जनाएको छ । मन्त्री प्याट्रिका फ्र्यानकोटका अनुसार त्यहाँ कम्तीमा १ हजार २ सय ५० जना नेपाली कार्यरत छन् ।

सेसेल्सले द्विपक्षीय श्रम सम्झौता गरेरै वैधानिक रुपमा नेपालीहरुलाई ल्याउन चाहेको छ ।

यस विषयमा मन्त्री श्रेष्ठ र आन्तरिक मामिलामन्त्री इरोल फोन्सेकाबीच पनि छलफल भएको छ । फोन्सेकाले जेल सुरक्षाका साथै प्रहरी सेवामा पनि नेपालीलाई रोजगारी दिन सकिने बताउनुभएको छ ।

‘श्रम सम्झौतालाई टुंग्याएर हामी नेपाली कामदार पठाउन छिट्टै कार्यदलले काम मन्त्रीले विश्वास गर्नुभएको छ ।

कार्यदलले सेसेल्स जानेको न्यूनतम योग्यता, भाषागत क्षमता, न्यूनतम पारिश्रमिकलगायत सेवासुविधा, कामदार छनोट विधि र स्वदेश फिर्तीलगायत विषय टुंग्याउनेछ ।

कार्यदलमा नेपालको तर्फबाट मन्त्रालयका उपसचिव भुसालले नेतृत्व गर्ने हुुनुभएको छ ।

वैदेशिक रोजगारीका लागि सम्भावित गन्तव्य मुलुक, सरकारीस्तरबाट श्रमिक पठाउने सम्भाव्यता र श्रमिकको सेवा शुल्कसम्बन्धी अध्ययन कार्यदल प्रतिवेदन–२०७५ अनुसार कुल श्रमशक्तिको एकचौथाइ विदेशी श्रमिकको हिस्सा रहेको सेसेल्समा आप्रवासी कामदारको उच्च माग छ ।

२०१७ को एक आँकडाअनुसार त्यहाँ करिब १३ हजार आप्रवासी कामदार छन् । टापु मुलुक सेसेल्सको अर्थतन्त्रमा पर्यटन र मत्स्य उद्योगको प्रमुख योगदान छ ।

विशेषगरी निर्माण र पर्यटन जस्ता क्षेत्रमा ‘न्यून दक्ष’ विदेशी कामदारको उच्च माग छ । ‘सेसेल्सका नागरिकहरू न्यून दक्षले गर्ने काम गर्न रुचाउँदैनन् तर त्यहाँका रोजगारदाताले उच्च दक्षताका क्षेत्रमा विदेशी नागरिकलाई प्राथमिकता दिने गर्छन्,’ प्रतिवेदनमा भनिएको छ ।

Share Now

Leave a comment.