सल्यान, ६ चैत्र । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी (नेकपा.एमाले)का अध्यक्ष के.पी. शर्मा ओलीको नेतृत्व राज्य सञ्चालनमा असफल भैसकेको बताउनुभएको छ ।
सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालिकाको शंखमूलमा निर्मित शंखपार्कको आज समुद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
पूर्व परराष्ट्र तथा ऊर्जा मन्त्री डा.महतले एमाले अध्यक्ष ओलीले शनिवार प्रधानमन्त्री शेरबहादुर देउवालाई एमालेको चुनाव चिन्हमा मतदान गरेर पुण्य कमाउन दिनुभएको उपदेशको जवाफमा सो अभिव्यक्ति दिनुभएको हो ।
नेकपा एमालेका अध्यक्ष ओलीमा काम गर्ने हैन, ठट्टा गर्ने बानी रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ”राजनीति गर्ने मान्छेहरु देशको समृद्धि र जनताको सुख तथा सुविधालाई केन्द्रमा राख्ने हुनाले सधै गम्भीर हुन्छन । तर उहाँले हास्य कलाकारको जस्तो हसिमजाक बनाउनुभयो । शासन सत्ता सञ्चालन गर्न तपाई र तपाईँको पार्टी असफल भयो । ५ बर्षलाई दिएको जनादेश साढे ३ बर्ष पनि टिकाउन सक्नु भएन ।”
नेपाली कांग्रेसका प्रवक्ता डा.महतले नेकपा एमालेका अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँँदा प्राप्त गरेको झण्डै दुई तिहाईको समर्थन जोगाएर राख्न नसक्नु भएको, आफ्नै पार्टीलाई एकताबद्ध राख्न नसक्नु भएको र दुई तिहाईको समर्थन कायम रहदा त्यसको दुरुपयोग गर्दै प्रतिनिधिसभा विघटन गर्नुभएकोले संविधानको रक्षा गर्न, देशमा कानूनी शासन बहाली गर्न, सुशासन कायम गर्न नेपाली कांग्रेस अग्रसर हुनुपरेको पनि उल्लेख गर्नुभयो ।
नेपाली कांग्रेसका नेता डा.महतले अघिल्लो चुनावमा निकै आकर्षक नारा दिएर जनतालाई झुक्याएर जिते पनि कम्युनिष्ट सरकारले जनताको हितमा काम गर्न नसकेको जिकिर गर्नुभयो ।
“देश र जनताको हितमा काम गर्न नसक्ने र मुलुकलाई नेतृत्व दिन नसक्ने असफल पार्टीलाई फेरी ल्याउने भनेको विकास चाहिएन भन्ने अर्थ लाग्छ । विकास भएन भने हामी गरिबै रहन्छौ ।पिछडिएको अवस्थामा रहन्छौ । त्यसैले आउने चुनावमा तीनै तहमा नेपाली कांग्रेसका प्रतिनिधिलाई मत दिनुहोस् ।” , डा.महतले भन्नुभयो ।
नेका प्रवक्ता डा.महतले नेपाली कांग्रेसले नै मुलुकमा रहेका विभिन्न जातजातिका भाषा, भेषभूषा, संस्कृति, परम्परा र धर्मको संरक्षण गर्ने पनि बताउनुभयो ।
उहाँले नेपाली कांग्रेस फोस्रा आश्वासन दिन नजान्ने र जे गर्न सकिन्छ, त्यही भन्ने भएकोले अघिल्लो निर्वाचनमा कम्युनिष्ट पार्टीप्रति आकर्षित हुँदा जनतालाई धोका भएको पनि उल्लेख गर्नुभयो ।
उहाँले नेता ओलीले नेतृत्व गरेको पार्टीबाट अलग भएर बनेका दलहरुले आग्रह गरेपछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेको उल्लेख गर्दै कांग्रेसको नेतृत्वमा सरकार बनेपछि मुलुकमा भ्रष्टाचार हुन छोडेको, कारोना महामारीबाट जनतालाई जोगाउन पर्याप्त खोपको बन्दोबस्त भएको, बन्दाबन्दी र निषेधाज्ञा हटेर जनजीवन सामान्य भएको पनि बताउनुभयो ।
शंखपार्कको समुद्घाटन संबोधनमा प्रमुख अतिथि डा.महतले नेपाली कांग्रेसले आरम्भ गरेको “घरघर जाऔं, नेपाली कांग्रेस जिताऔ” अभियानको उद्देश्यबारे पनि प्रकाश पार्नुभएको थियो । उहाँले जनताका गुनासा सुन्न र नेपाली कांग्रेस पार्टी, यसको नेतृत्वमा बनेका तीन तहका सरकारहरुले गरेका कामको बारेमा सबै नागरिकलाई बुझाउन हरेक घर पुग्न जिल्लाका नेता तथा कार्यकर्तासंग आग्रह पनि गर्नुभयो ।
उहाँले यही चैत्र ११ गते बस्ने नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकमा स्थानीय निकायको निर्वाचनमा गठबन्धन गर्ने नगर्ने सम्बन्धमा पनि छलफल हुने बताउदै भन्नुभयो, “गठबन्धन स्थानीय आवश्यकताका आधारमा पनि हुन सक्छ । के गर्दा हामी बढीभन्दा बढी सीट जित्न सक्छौ, गठबन्धन गर्दा बढी जितिन्छ भने त्यही हुन्छ, एक्लै जित्छौ भने एक्लै जाने होला तर कार्यकर्ताहरु भने यसमा नअल्मलिन आवश्यक छैन । जनताको बीचमा जाऔं कांग्रेसलाई मत दिने अवस्था सिर्जना गरौं, अहिलेको आवश्यकता त्यही हो ।”
कांग्रेस प्रवक्ता डा.महतले अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेञ्ज कर्पोरेशन(एमसीसी)को उदाहरण दिर्दै कम्युनिष्टहरुले कसरी भ्रमको खेती गर्दछन भन्ने ब्याख्या पनि गर्नुभयो ।
उहाँले अमेरिकाले हाम्रो माग अनुसार नेपालको गरिबी हटाउन मद्दत गर्ने भनेर सडक विस्तार र विद्युत प्रशारण लाईन निर्माणमा ६० अर्बभन्दा बढी नेपाली रुपैया अनुदान दिएको र त्यो लिनेसम्बन्धमा संझौता भएको उल्लेख गर्नुभयो ।
यो संझौता गर्न लामो समय लागेको र अहिले संसदमा रहेका सबै दलहरुले आफू सरकारमा बस्दा अगाडि बढाएको उल्लेख गर्दै डा.महतले भन्नुभयो,“तर संसदबाट पारित गर्ने बेलामा तिनै दलका नेताहरु पहिले मन्त्री भएकाहरु सडकमा राष्ट्रघाट भयो भनेर विरोधमा उत्रिए । यसमा केही कम्युनिष्ट नेताहरुले भने जस्तो हाम्रो नियमकानून नलाग्ने, अमेरिकी सेना आउने जस्ता कुनै कुरा थिएनन् ।”
“उनीहरुले अति गर्न थालेपछि हामीले सत्य कुरा बोल्नु पर्छ भनेर यसका पक्षमा तर्क गर्न थाल्यौ ।”, उहाँले भन्नुभयो, “यो अनुदान रकम हो ,साँवा ब्याज तिर्न नपर्ने । यो हाम्रो माग अनुसार आएको हो । यसको परिचालन नेपाल सरकारको अर्थसचिवको नेतृत्वमा रहेको मिलिनियम च्यालेञ्ज एकाउट भन्ने समितिले गर्छ । त्यसैले ठेक्का लगाउछ । यसको लेखा परीक्षण नेपालको महालेखाले गर्न पाउछ । यसको बारेमा संसदमा कुरा उठाउन पाइन्छ । अरु विदेशी अनुदानमा ठेकेदार,परामर्शदाता,निर्माण उपकरण र कामदार पनि दातृ निकायबाटै आउछ । ऋणमा पनि त्यस्तै हुन्छ । तर यसमा त्यस्तो छैन ।”
डा.महतले एमसीसी कार्यान्वयनमा आएपछि अन्य दातृ मुलुक र निकायलाई यस्तै उदार र पारदर्शी ढंगले नेपाललाई अनुदान वा ऋण सहयोग दिन यसले प्रेरित गराउने बताउनुभयो ।
उहाँले भन्नुभयो, “यो कुरा जनताले बुझ्न थालेपछि यसमा सहमति भयो । संसदबाट पारित भयो । राष्ट्रघाती भएको भए सहमति हुँदैनथ्यो । त्यसैले कम्युनिष्टहरु जेलाई पनि राष्ट्रबादसंग जोडेर जनतालाई अल्मल्याउन खोज्छन । यसमा जनता सचेत हुनै पर्दछ ।”
सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालिकाले शंखमूलमा शखपार्क बनाएको छ । सो पार्क १ करोड ६० लाख रुपैयाको लागतमा बनेको बताइएको छ । पार्कमा ठूलो शंखको प्रतीक स्थापना गरिएको छ । सो शंख प्रतीक नेपालकै सबैभन्दा ठूलो भएको दावी गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष सन्तोष के.सी.को अध्यक्षतामा भएको सो उद्घाटन कार्यक्रममा पूर्व सांसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीवविक्रम शाह पनि उपस्थित हुनुहुन्थ्यो ।
कांग्रेस प्रवक्ता डा. महत सो कार्यक्रममा सहभागी हुन हिजो शनिवार काठमाडौंबाट नेपालगञ्ज हुँदै आइपुग्नुभएको थियो ।


















