Prakash Adhikari March 21, 2022

 

दुबाई(संयुक्त अरब इमिरेट्स), ७ चैत्र । आईसीसी विश्वकप लिग २ अन्तर्गत यूएईमा भइरहेको त्रिकोणात्मक श्रृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले आज घरेलु टोली यूएईसँग खेल्दैछ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुने कार्य तालिका छ ।

अघिल्लो खेलमा जित्न सकिने खेल ब्याट्सम्यानहरु मात्तिदा गुमाएको नेपाल सम्हालिएर खेल्न सक्यो भने आज युएईलाई जित्न कठिन छैन् । नेपालसंग खेलेपछि यूएईलाई यो समूहकै कमजोर मानिएको पपुवा न्यु गिनीले समेत पराजित गरेको हुनाले नेपाली खेलाडीहरुको मनोबल उच्च राख्नमा कुनै बाधा देखिंदैन। नेपालले पघहिलो खेलमा पपुवा न्यु गिनीलाई पहिलो खेलमा हराइसकेको छ ।

नेपालले खेलेका दुवै खेलमा शीर्षक्रमका ब्याट्सम्यानमा धैर्यताको अभाव देखियो । ५० ओभरको खेललाई समेत उनीहरुले २० ओभरको टी २० शैलीमा लिए । शीर्षक्रमका ब्याट्सम्यानहरु सुरुमै बाहिरिन बाध्य भए ।

 

ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख दुवै खेलमा फ्ल्प भए । तेस्रो नम्बरमा ब्याटिङ गरेका ज्ञानेन्द्र मल्लले पनि अपेक्षाकृत ब्याटिङ गरेका छैनन्।कसिलो बलिङ गरे पनि अलराउन्डर दीपेन्द्रसिंह ऐरी यो सिरिजको सुरुवाती दुवै खेलमा ब्याटिङमा जम्न सकेनन्। ज्ञानेन्द्र र दीपेन्द्रमा क्यानले गरेको कारबाहीको मनोवैज्ञानिक असर अझै बाँकी छ कि भन्ने देखिन्छ । कारबाहीमा परेका सोमपालमा भने कारबाही फिर्ता लिएपछि सो असरबाट मुक्ति मिलेको हो कि भन्ने देखिएको छ ।

यस पटकको खेलमा मध्यक्रमका ब्याट्सम्यान रोहित पौडेलले मात्र राम्रो ब्याटिङ गरेका छन्। उनले पहिलो खेलमा ६० रन र दोस्रो खेलमा ४६ रन जोडे। ५०रनको एक दिवसीय खेलमा मैदानमा टिक्नुपर्छ र आएका अवसर पनि छोड्नु हुन्न भन्ने ज्ञान रोहितमा देखिन्छ । तर सुरुआतमै अर्को कुनै बलमा प्रहार गर्ने सुन्दर अवसर नै आउदैन कि झै जवरजस्ती चौका र छक्का निकाल्ने क्रममा टी २० मा कुशल मानिएका कुशल भूर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरी लड. सट हिर्काउन खोज्दा चिप्लिएका छन् । यूएईका खेलाडीहरु हाम्रा खेलाडीभन्दा अग्ला भएका हुनाले चौका र छक्कका लागि प्रहार गरिने बलहरु उनीहरुले क्याच गर्न सक्ने संभावनालाई नेपाली ब्याट्सम्यानहरुले बुझ्न सकेनन् । प्रशिक्षक पुबुदु दासनायके र कलिला क्याप्टेन सन्दीपले बुझाउन सकेनन् ।

तर बलिङमा सोमपाल कामीले सानदार पुनरागमन गरेका छन्। पहिलो खेलमा तीन विकेट लिएका उनले दोस्रो खेलमा चार विकेट हात पारे। करण केसीले दोस्रो खेलमा तीन विकेट लिएका थिए। कप्तान सन्दीप लामिछानेले दुवै खेलमा एक एक विकेट लिए।

दुवै खेलमा नेपालले टस हारेर पहिले बलिङ गरेको थियो। पहिलो खेलमा पपुवा न्युगिनीलाई २०४ रनमा रोकेको नेपालले दोस्रो खेलमा युएईलाई १६८ रनमै अलआउट गरेको थियो।

दुवै खेलमा लक्ष्य पछ्याउँदै ब्याटिङ गर्दा नेपालका सुरुवाती चार ब्याट्सम्यान ३० रनभन्दा कममा आउट भएका थिए। जसमा पहिलो खेलमा शीर्ष चारमध्ये तीन ब्याट्सम्यान दोहोरो अंक जोडन् नपाइ आउट भए। दोस्रो खेलमा सुरुवाती चारमध्ये दुई ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

करणकै ब्याटिङमा नेपालले पहिलो खेलमा जित निकाल्न सकेको थियो।

समग्रमा नेपालका लागि आज हुने खेलमा ब्याटिङले महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ। ब्याटिङमा सुधार गरे नेपालले युएईलाई टक्कर दिन सक्छ।

लिग(२ को अंक तालिकमा छैटौं स्थानमा रहेको नेपाल बाँकी रहेका दुवै खेलमा जित हात पारे दुई स्थान माथि उक्लदै चौथो स्थानमा पुग्नेछ। बाँकी दुई मध्ये एक खेलमा हारे नेपाल यथास्थानमा हुनेछ।

त्यसैले दुवै खेलमा जित निकालेर अंक तालिकामा फड्को मार्न सुरुमा युएईलाई हराउनु पर्नेछ।

लिग२ को अंक तालिकामा ‌ओमान शीर्ष स्थानमा छ। ओमानको २८ खेलबाट ३६ अंक छ। युएई अंक तालिकामा दोस्रो स्थानमा छ। उसले १७ खेलबाट २० अंक जोडेको छ। तेस्रो स्थानको स्कटल्यान्डको १२ खेलबाट १६ अंक छ।

चौथो स्थानको नामिबियाको १४ खेलबाट १४ अंक र पाँचौ स्थानको अमेरिकाको १६ खेलबाट १४ अंक छ। छैटौं स्थानको नेपालले १० खेलबाट १० अंक जोड्दा पुछारको पपुवा न्युगिनीले १५ खेलबाट २ अंक जोडेको छ।

नेपालले अब अर्को खेल पपुवा न्युगिनीसग चैत ८ गते दुबाई‍मा खेल्ने छ ।

Share Now

Leave a comment.