काठमाडौं, ९ चैत्र । नेपाल पर्वतारोहण संघले बुधबारका लागि पूर्वनिर्धारित साधारण सभा स्थगित गर्नुपरेकोमा दुःख व्यक्त गरेको छ ।
संघले आफ्नो केन्द्रीय कार्यालय,नागपोखरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष सन्तबीर लामाले पूर्व निर्धारित साधारण सभा अदालतको आदेश अनुसार बन्द गर्नुपरेकोमा दुःख व्यक्त गर्नुभएको हो ।
चैत्र ९ गते गैह्रीधारास्थित एलिस ब्याड.क्वेटमा साधारण सभा गर्न सम्पूर्ण तयारी पूरा भैसकेको अवस्थामा मंगलबार साँझ अदालतबाट साधारण सभा रोक्ने आदेश आएकोले अदालतको सम्मान गर्दै अन्तिम क्षणमा साधारणसभा स्थगित गरिएको सूचना सदस्यहरुलाई पठाइएको थियो ।
“संघ संस्थाको नियमित साधारण सभा रोकिन जाँदा काम कारबाहीमा असर पर्दछ । मर्लाई यसप्रति दुःख लागेको छ”, अध्यक्ष लामाले भन्नुभयो।
संघका महासचिव कुलबहादुर गुरुड.ले संघकै साधरण सदस्यहरु संस्थाको नियमित साधारण सभा रोक्न अग्रसर हुँदा दुःख लागेको बताउनुभयो ।
संघलाई साधारण सभा रोक्न उच्च अदालत पाटनले चैत्र ८ गते मंगलबार अल्पकालीन आदेश दिएको थियो ।
संघका सदस्य रहनुभएका सोलु दुधकुण्ड गाउँपालिका वडा नं ३ स्थायी घर भई बुढानीलकण्ठ नगरपालिका वडा नं १२ बस्ने काजी शेर्पा र पासाड.ल्हामु गाउँपालिका वडा नं ५ घर भई काठमाडौं महानगरपालिका वडा नं ७ बस्ने आड.नोर्बु शेर्पाले पूर्वनिर्धारित साधारणसभा नगर्न नगराउन उत्प्रेषणको आदेश माग गर्दै मुद्दा दायर गर्नुभएको थियो । सोही मुद्दामा उच्च अदालत पाटनबाट अल्पकालीन अन्तरिम आदेश भएको हो।
नेपाल पर्वतारोहण संघको चैत्र ६ गते बसेको केन्द्रीय कार्य समितिको बैठकले २०७९ जेठ २७ र २८ गते नयाँ कार्य समितिको निर्वाचन गर्ने निर्णय गरेको थियो ।
संघको सोही बैठकले कार्य समितिको निर्वाचनको लागि संघको विधानको दफा ४२(३) बमोजिम अधिवक्ता डा. गोकुल बुर्लाकोटी निर्वाचन अधिकृत रहेको निर्वाचन आयोग पनि गठन गरेको थियो ।
सो आयोगमा अधिवक्ता डा.रामशरण थपलिया र अधिवक्ता घनेन्द्र श्रेष्ठ सदस्य रहनुभएको छ । अब अदालतले पूर्ण फैसला नगरुञ्जेल संघको साधारण सभा अनिश्चित हुन गएको छ ।


















