काठमाडौं, १० चैत्र । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको प्रतीक्षालयमा बस्दा मानिसहरूले शुल्क तिर्नुपर्ने पछिल्लो नियमको चर्को आलोचना भइरहेको छ।
सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले पनि पछिल्लो कदमको तीव्र विरोध गरिरहेका छन्।
केही भागको व्यवस्थापनको जिम्मा पाएको आईएमएस एअरपोर्ट सर्भिसेजले करिब तीन महिनादेखि शुल्क लिइरहेको विमानस्थलका कर्मचारीले स्वीकारेका छन्।
उक्त कम्पनीले अन्तर्राष्ट्रिय विमानस्थलको आगमन हल, बहुतले पार्किङ तथा व्यापारिक भवन सबलिजमा लिएको छ ।
यात्रीहरूलाई एकदमै सहज र सुलभ सुविधा प्रदान गर्नु आफ्नो उद्देश्य रहेको उक्त निर्माण कम्पनीको वेबसाइटमा उल्लेख छ।
विमानस्थल सञ्चालन विभागका निर्देशक तथा प्रवक्ता टेकनाथ सिटौलाका अनुसार कम्पनीले ३० वर्षका लागि उक्त भाग भाडामा पाएको छ।
विमानस्थल प्रशासन के भन्छ?
आईएमएस एअरपोर्ट सर्भिसेजले अन्तर्राष्ट्रिय आगमन हलमा सुपेरिअर र डिलक्स गरी दुईवटा प्रतीक्षाकक्ष बनाएको छ।
आफ्ना मान्छे लिन जाने र प्रतीक्षालयमा बस्ने व्यक्तिहरूबाट कम्पनीले ५० र १०० रुपैयाँ लिने गरेको प्रवक्ता सिटौलाले बताउनुभयो
।
“उहाँहरूले केही पूर्वाधार विकास गर्नुभएको छ। उभिने ठाउँ मात्रै होइन बस्ने कुर्सीदेखि लिएर राम्रै सेटअप छ, खानेपानी व्यवस्था गर्नुभएको छ। एउटामा एसी पनि लगाउनुभएको छ”, उहाँले भन्नुभयो।
विमानस्थलको प्रतीक्षालयमा बस्नलाई समेत शुल्क तिर्नुपर्ने नियमको आलोचना भइरहँदा प्रवक्ता सिटौलाले भित्र गएर बस्ने वा नबस्ने कुरा व्यक्तिगत रोजाइको विषय भएको जिकिर गर्नुभयो।
नेपाल वायुसेवा निगमको विमान
“त्यहाँ मान्छे लिन आउनेहरू भित्र बस्नैपर्छ भन्ने छैन। उभिनलाई बाहिर पनि ठाउँ छ, भित्र पसेको खण्डमा उहाँहरूको छनोटको कुरा हो। पसेपछि ५० र १०० रुपैयाँ उहाँहरूले लिनुहुँदो रहेछ”, उहाँले थप्नुभयो।
भाडा पाएको कम्पनीले प्रतीक्षालयमा बस्ने मानिसहरूबाट शुल्क उठाउन पाउने वा नपाउने विषयलाई आफूहरूले हेरिरहेको विमानस्थलले जनाएको छ।
प्रवक्ता सिटौलाले भन्नुभयो, “सम्झौताअनुसार शुल्क उठाउन मिल्छ कि मिल्दैन, के छ भनेर सम्झौता पनि हेर्दैछौँ। तर युजर(पेको हिसाबले त्यहाँ लगानी गरेर राम्रै पूर्वाधारको व्यवस्था गरेकोले शुल्क लिएको देखिन्छ।”
“यो उहाँहरूको नयाँ अभ्यास हो। त्यसैले यदि यो उचित छैन, लिन नमिल्ने खालको देखियो भने हामी बन्द पनि गराउन सक्छौँ।”
उहाँले सम्झौतामा भएको प्रावधान हेरेपछि मात्रै कम्पनीलाई केही गर्न सकिने स्पष्ट पार्नुभयो।
विश्वका अरू विमानस्थलमा आफूहरूले पनि त्यस्तो नपाएको उल्लेख गर्दै सिटौलाले भन्नुभयो, “बाहिरका विमानस्थलमा यात्रुहरू एक्जिट पोइन्टबाट बाहिरिएपछि घामपानी छेक्ने कुरुवाका लगि उभिने ठाउँ हुन्छ त्यति हो।”
सुन्दै अप्ठेरो लाग्योः पूर्वसचिव
एकजना भूतपूर्व पर्यटनसचिवले प्रतीक्षालयमा बस्दा आगन्तुकका कुरुवाहरूले शुल्क तिर्नुपर्ने कुरा सुन्दै आफूलाई अप्ठेरो लागेको बताउनुभयो।
“यो त एकदमै नौलो कुरा भन्नुभयो म आफैँ त्यहाँ गएको सात-आठ वर्ष भयो। बिजनेस लाउन्जलगायत सञ्चालन गर्ने अभ्यास त छ”, पूर्वपर्यटनसचिव दीपेन्द्रपुरुष ढकालले भन्नुभयो।
“भित्र कसैलाई रेस्टुराँ चलाउन दिएको छ भने त्यहाँ टेबल, मेच होला। त्यहाँ बसेको शुल्क कफी खाएकै पैसामा पर्ला, तर कुर्सीमै बसेबापत पैसा लिएको मैले कतै पाएको छैन।”
“त्यस्तो कुनै व्यवसाय नै सञ्चालन अनुमति दिइएको छ भने अर्कै कुरा भयो। हैन भने भ्यालू एड गरेको भनेर राम्रो, गतिलो कुर्सी राखिदिएर जस्तो हुन्छ नि अलि गद्दावाल कुर्सी राखेर त्यसमा बसेबापत ुपैसा देऊु भन्न त पाइएन नि !”, ढकालले थप्नुभयो।
यसबारे प्रतिक्रिया लिन खोज्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आईएमएस एअरपोर्ट सर्भिसेजका प्रतिनिधिले केही बताउन चाहेनन्।(बीबीसी)