किएभ(युक्रेन), १० चैत्र । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशमा रुसले सैन्य आक्रमण गरेको एक महिना पुगेको दिनमा संसारभरिका मानिसहरूलाई अपिल गर्दै सडकमा उत्रिएर रुसी हस्तक्षेपको विरोध गर्दै स्वतन्त्रता र शान्तिका पक्षमा आफ्नो देशप्रति समर्थन जनाउन आग्रह गर्नुभएको छ।
रुसले स्वतन्त्रताविरुद्ध युद्ध छेडेको उहाँले बताउनुभएको छ।
‘युक्रेनी प्रतीक लिएर आउनुस्’
निरन्तरको रुसी बमबारी झेलिरहेको युक्रेनका राष्ट्रपति जेलेन्स्कीले सम्बोधनमा संसारभरिका मानिसलाई बिहीवार सडकमा उत्रिएर युक्रेनप्रति समर्थन जनाउन अपिल गर्नुभएको हो।
आफ्नो दैनिक सम्बोधनका क्रममा केही बेर अङ्ग्रेजीमा बोल्दै उहाँले मानिसहरूलाई युक्रेनी प्रतीक लिएर आउन आग्रह गर्नुभयो।
‘तपाइँहरू आफ्ना सहरका चोक तथा सडकमा आउनुस्। देखिनुस् र सुनिनुस्। मानिसको जीवनको महत्त्व छ, स्वतन्त्रताको महत्त्व छ, शान्तिको महत्त्व छ अनि युक्रेनको महत्त्व छ भनेर बोल्नुस्।’, राष्ट्रपति जेलेन्स्कीले भन्नुभयो ।
‘मार्च २४ मा युद्ध रोक्न चाहने सबैजना एकत्रित हुनुस्।’
उहाँले युक्रेनमा रुसले स्वतन्त्रताविरुद्ध युद्ध छेडिरहेको पनि बताउनुभयो।
रुसको निर्मम र मुढे बललाई संसारले रोक्नुपर्ने उहाँले बताउनुभयो।

रुसले आक्रमण गरेको एक महिना बितिसकेको र यसबीच आफ्नो, सबै युक्रेनी जनताको अनि यस धरतीका सबै स्वतन्त्र मानिसको मुटु चुँडिएको उहाँले उल्लेख गर्नुभयो।
ब्रसल्समा नेटो बैठक हुन लागेको बेला उनको सम्बोधन आएको छ।
बुधवार युक्रेनको राजधानी किएभका भूभागमा निरन्तर रुसी बमबारी भएका छन्।
पश्चिमा विश्लेषकहरूले युक्रेनले प्रत्याक्रमण गरिरहेको र केही साना सहर पुनः आफ्नो कब्जामा लिएको बताएका छन्।
भूउपग्रहले खिचेका तस्बिरमा मारिओपोल सहरमा व्यापक क्षति पुगेको अनि आवासीय भवनहरूबाट धुवाँको मुस्लो निस्किरहेको देखिएको छ।
उत्तरतर्फ रुसले डेस्ना नदीमाथिको एक महत्त्वपूर्ण पुल ध्वस्त पार्दै चेर्निहिव सहर र राजधानीबीचको मुख्य सम्पर्क मार्ग विच्छेद गरिदिएको छ।


















