Prakash Adhikari March 26, 2022

 

शिवपुरी(नुवाकोट), १२ चैत्र । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट दुरुपयोग भएको आरोप लगाउनुभएको छ।

आज यहाँ शिवपुरी गाउँपालिकाद्वारा निर्मित भवन उद्घाटन कार्यक्रममा प्रवक्ता महतले भन्नुभयो, ‘यसअघिको ओली सरकारले ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमको रु १९ /२० अर्ब रकमको व्यापक दुरुपयोग भएको छ, यसबाट कुनै रोजगारी सिर्जना भएको छैन।’

ओली सरकारले आफ्ना कार्यकर्तालाई रकम बाँड्नलाई मात्र यो कार्यक्रम ल्याएको र मनपरी ढङ्गबाट सो आयोजनाको रकम बाँडेर सकिएको उहाँको आरोप छ।

प्रवक्ता महतले सो आयोजनाको रकम बाँड्ने क्रममा तिमी कुन पार्टीको मान्छे हो भनेर सोधेरै आफ्नो पार्टीका मान्छेलाई मात्र रकम दिने गरिएको दाबी गर्नुभयो। कुनै पारदर्शी योजनाबिना नै सो आयोजना ल्याइएको र सडकको फोहर टिप्ने तथा झार उखेल्ने काम लगाएर आफ्ना कार्यकर्तालाई रकम बाँडिएको आरोप उहाँले लगाउनुभयो।

कांग्रेस प्रवक्ता डा. महतले ओली सरकारका पालामा कैयौँ अनियमिता भएका र जसका कारण देश आर्थिक रूपमा तहसनहस हुन पुगेको आरोप लगाउनुभयो।

भ्रष्टाचार, अनियमितता तथा कम्युनिस्ट सरकारका अनेक ज्यादतीका कारण नागरिक अत्तालिएर कांग्रेसको नेतृत्वमा सरकार खोजेका र वर्तमान सरकार बनेको दाबी उहाँले गर्नुभयो।

उहाँले आगामी सबै निर्वाचनमा नेपाली कांग्रेस नै पहिलो पार्टी हुने दाबी गर्दै यसका लागि कांग्रेसका कार्यकर्तालाई एकजुट भएर लाग्न आग्रह पनि गर्नुभयो। (रासस)

Share Now

Leave a comment.