Prakash Adhikari March 27, 2022

काठमाडौं, १३ चैत्र। तीन दिने नेपाल भ्रमण सकेर चिनियाँ विदेशमन्त्री वाङ यी आइतबार स्वदेश फर्किनुभएको छ। शुक्रबार साँझ पाँच बजे काठमाडौं आइपुग्नुभएका वाङ आइतबार दिउँसो स्वदेश फर्किनुभएको हो। नेपाल भ्रमणका क्रममा वाङको प्राथमिकता राजनीतिक भेटवार्तामै केन्द्रित रहयो। शिष्टाचार भेट र छलफलसँगै उहाँले केही सम्झौतामा हस्ताक्षर गर्नुभएको छ।

तीन दिने भ्रमणका लागि विदेशमन्त्री वाङ भारतको राजधानी नयाँदिल्लीबाट शुक्रबार नेपाल आउनुभएको हो। वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर आइतबार परराष्ट्र सचिव भरतराज पौड्याललगायतले बिदा गर्नुभएको हो।

Image

शनिबार नेपालका समकक्षी परराष्ट्रमन्त्री डा. नारायण खड्कासँगको भेट गर्दै औपचारिक भेटवार्तालाई निरन्तरता दिनुभएका वाङले आइतबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नुभएको थियो ।

बीआरआईका परियोजना बढाउन अनुरोध

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले बेल्ट एण्ड रोड (बीआरआई) अवधारणाअन्तर्गत अगाडि बढाउन लागिएका भौतिक पूर्वाधारसँग जोडिएका परियोजनालाई शीघ्र कार्यान्वयनमा ल्याउन चीन सरकारलाई अनुरोध गरेको छ।

नेपालको आर्थिक र सामाजिक विकासका लागि महत्वपूर्ण मानिएका ती आयोजना समयमा अगाडि बढ्दा त्यसले सकारात्मक प्रभाव पर्ने भन्दै माओवादीले त्यसका लागि पहल गरिदिन चिनियाँ विदेशमन्त्री वाङ यीमार्फत चीन सरकारलाई आग्रह गरेको हो।

माओवादी अध्यक्ष प्रचण्डसँग चिनियाँ विदेशमन्त्रीको भेटवार्ता

नेपालको त्रिदिवसीय भ्रमणमा रहनुभएका चिनियाँ विदेशमन्त्री एवं राज्यपरिषद् सदस्य वाङ यीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गर्नुभएको शिष्टाचार भेटका क्रममा उक्त अनुरोध गरिएको हो।

माओवादी नेता शक्ति बस्नेतले कोरोना महामारीका कारण लामो समयदेखि नियमित हुन नसकेको तातोपानी र रसुवागढी नाकालाई सहज रुपमा सञ्चालन हुने वातावरण बनाइदिन आफूहरुले चिनियाँ विदेशमन्त्रीको ध्यानकर्षण गराएको जानकारी दिनुभयो।

सो अवसरमा नेपाल चीन सम्बन्धमा विविध आयामका बारेमा कुराकानी भएको थियो। माओवादी अध्यक्ष प्रचण्डले दुई देशबीचको मैत्री सम्बन्धका बारेमा चर्चा गर्दै नेपालको भूमिमा चीनविरोधी गतिविधि हुन नदिने प्रतिबद्धता दोहो¥याउनुभयो।

अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘नेपाल सधैँ एक चीन नीतिको पक्षमा अडिग रहेको र यहाँको भूमि कुनै पनि देशविरुद्ध प्रयोग हुन दिँदैनौँ।’ नेपालको आर्थिक विकाससँग जोडिएको बिआरआई र चीनका तर्फबाट प्रतिबद्धता जनाइएका परियोजना अगाडि बढ्छ भन्नेमा आफूहरु विश्वस्त रहेको अध्यक्ष प्रचण्डको भनाइ थियो।

नेपालको चीनतर्फ बढ्दो व्यापार घाटालाई कम गर्न पनि सहयोग गरिदिन माओवादीका तर्फबाट चिनियाँ विदेशमन्त्रीलाई आग्रह गरिएको थियो।

कोरोनाका कारण नाका सहज नहुँदा व्यापारघाटा थप चुलिएको सन्दर्भमा आवश्यक नीतिगत एवं प्राविधिक रुपमा देखिएका समस्या समाधान गर्न आग्रह गरिएको नेता बस्नेतले जानकारी दिनुभयो। कोरोना कालमा चीन सरकारका तर्फबाट नेपालले प्राप्त गरेको सहयोगप्रति माओवादी नेतृत्वले चीन सरकारलाई विशेष धन्यवाद दिएको थियो।

माओवादी शीर्ष नेतृत्वको आग्रहलाई सकारात्मक रुपमा लिँदै चिनियाँ विदेशमन्त्रीले नेपालको आर्थिक एवं सामाजिक विकासमा चीनले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

उहाँले नजिकको छिमेकी र परम्परागत मैत्री सम्बन्ध भएकाले पनि नेपालको चासो र विकासप्रतिको तीव्र इच्छालाई चीन सरकारले सदैव समर्थन गर्दै सहयोग गरेको र त्यो निरन्तर रहने बताउनुभएको थियो। भेटवार्तामा माओवादीका नेता नारायणकाजी श्रेष्ठ, नेता बस्नेत, अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्ललगायतको सहभागिता थियो।

एमाले अध्यक्षसहितका नेताहरुसंग भेट

आजै विदेशमन्त्री वाड.ले नेकपा (एमाले)का अध्यक्ष के.पी. शर्मा आलीसहित एमालेका शीर्ष नेताहरुसंग पनि भेट गर्नुभएको थियो । भेटमा एमाले नेताहरुले बेल्ट एण्ड रोड अवधारणासँग जोडिएका सडक, रेल, सिँचाइ, शिक्षा र स्वास्थ्यका परियोजनालाई अगाडि बढाउन चीन सरकारलाई आग्रह गर्नुभएको थियो ।

एमाले नेता राजन भट्टराईले आज यहाँ भएको भेटवार्ताका क्रममा कोरोनाका कारण प्रभावित भएका चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनका क्रममा रहेका नेपाली विद्यार्थीलाई सहज रुपमा फर्कने वातावरण बनाइदिन आफूहरुले आग्रह गरेको जानकारी दिनुभयो ।

कोरोना कहरका समयमा चीन सरकारका तर्फबाट नेपाललाई उपलब्ध गराइएको सहयोगप्रति एमालेले धन्यवाद दिएको थियो ।


तातोपानी र रसुवागढी नाकाको नियमित सञ्चालनका लागि एमालेले चिनियाँ विदेशमन्त्री वाङलाई आग्रह गरेको थियो । एमालेले गरेको आग्रहलाई विदेशमन्त्री वाङले सकारात्मक रुपमा लिँदै नेपालको विकास र समृद्धिका लागि सहयोग गर्न आफूहरु तयार रहेको बताउनुभएको थियो ।

विआरलगायतका परियोजनासँग जोडिएका विषयलाई अगाडि बढाउन र त्यसलाई नियमित गर्न चीन सरकारका तर्फबाट सहयोग रहने विदेशमन्त्री वाङको भनाइ थियो । भेटवार्तामा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेललगायत नेताको सहभागिता थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष शिष्टाचार भेट

राष्ट्रपति भण्डारीसँग चीनका विदेशमन्त्रीद्वारा शिष्टाचार भेट

चिनियाँ विदेशमन्त्री वाङले आजै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष शिष्टाचार भेट गर्नुभएको थियो।

भेटमा द्धिपक्षीय हित र आपसी चासोका बिषयमा कुराकानी भएका थिए ।

भ्रमणका क्रममा विदेशमन्त्री वाङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको साँचोसमेत परराष्ट्रमन्त्री मार्फत नेपाल सरकारलाई हस्तान्तरण गर्नुभएको छ।

 

Image

 

Share Now

Leave a comment.