प्रवक्ता डा.महतले २०४६ सालमा लोकतान्त्रिक व्यवस्थाको पुनर्बहाली भएपछि नेपाली कांग्रेसले लिएका उदारवादी नीतिहरुले गर्दा देशमा शिक्षा,स्वास्थ्य,बाटोघाटो,खाने
कम्युनिष्ट पार्टीहरुले काम हैन कुरा बढी गर्ने गरेको उदाहरण दिंदै उहाँले भन्नुभयो,“अघिल्लो चुनावमा कम्युनिष्ट पार्टीका नेताहरुले गरेको गफमा सामान्य मतदाता झुक्किदा नेपाली कांग्रेस पराजित भयो । २ बर्षमा चीनबाट रेल ल्याउने, समुन्द्र नभएको देशमा पानी जहाज ल्याउने कुरा गरेर उहाँहरुले चुनाव जित्नुभयो तर ५ बर्षलाई दिएको जनादेश साढे ३ बर्ष पनि टिकाउन सक्नुभएन । पार्टी नै फुट्यो । नेपाली कांग्रेसलाई सरकारको नेतृत्व गर्न अन्य पार्टीले अनुरोध गरेपछि कांग्रेसको नेतृत्वमा वर्तमान सरकार बन्न पुगेको हो ।”
कांग्रेस प्रवक्ता डा.महतले पूर्ववर्ति नेकपा एमालेको नेतृत्वको ओली सरकारको आलोचना गर्दै कोरोना संक्रमणको समयमा औषधी खरिदमा समेत भ्रष्टाचार गरिएको आरोप लगाउनुभयो । उहाँले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेपछि कोरोना विरुद्धको खोप ल्याएर अधिकांश नागरिकले लगाउने अवस्था सिर्जना भएको र मुलुक सामान्य अवस्थामा फर्केको पनि दावी गर्नुभयो ।
“देशमा सुशासन कायम गर्न र विकासलाई गति दिन स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले जित्न जरुरी छ। प्रदेश र संघीय संसदको निर्वाचनमा नेपाली कांग्रेसले जित्न जरुरी छ ।”, डा. महतले भन्नुभयो ।
उहाँले नुवाकोट जिल्लाको विकासलाई गति दिने काम पनि नेपाली कांग्रेसको पालामा भएको उल्लेख गर्नुभयो । ओली सरकारको पालामा नुवाकोटको बजेट कटौैती भएको प्रसंग निकाल्दै उहाँले भन्नुभयो,”हिजो डा. रामशरण महतले चुनाव जित्दा नुवाकोटमा अर्बमा बजेट आउथ्यो । ओली सरकारको पालामा त्यो करोडमा झर्यो र त्यै बजेट पनि उपभोक्ता समिति बनाएर बाँडीचुडी खाएको गुनासो आइररहेको छ ।”
फरक फरक समयमा ऊर्जा र परराष्ट्र मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्नुभएका डा.महतले आफू ऊर्जामन्त्री हुँदा पूर्वी नुवाकोटमा ग्रामीण विद्युतीकरण गरेर नुवाकोटलाई अन्धकारबाट उज्यालोतिर लैजाने प्रयास गरेको पनि बताउनुभयो ।
उहाँले नुवाकोट जिल्ला राजधानीको नजिक रहेको र अत्यन्त संभावनायुक्त जिल्ला भएको उल्लेख गर्दै नेपाली कांग्रेसकै प्रयासमा टोखा छरहेको बाटो खुलेको र पिचसमेत भएको तर कम्युनिष्ट सरकारले पर्याप्त बजेट नदिएर मर्मत संभार हुन नसकेको बताउनुभयो। उहाँले कांग्रेसको सरकार बनेपछि आफ्नो प्रयासमा १० करोड रुपैया निकासा गराएर मर्मतसंभारलाई गति दिएको दावी पनि गर्नुभयो ।
कांग्रेस नेता महतले टोखा छहरे सुरुड.मार्ग बनेपछि १० मिनेटमै काठमाडौं पुग्न सकिने र राजधानीको बस्ती नुुवाकोट सर्ने बताउदै त्यसपछि नुवाकोटको जीवनस्तर बढ्ने,स्थानीय कृषि उपजले सही मूल्य पाउने र समृद्ध नुवाकोटको सपना साकार हुने पनि बताउनुभयो ।
म चौतारामा बसेर पढेको हुँ
विद्यालयको बार्षिकोत्सवमा उपस्थित विद्यार्थी,शिक्षक र अभिभावकहरुलाई संबोधन गर्दै डा.महतले शिक्षाको महत्वबारे पनि प्रकाश पार्नुभयो ।
उहाँले भावुक हुँदै भन्नुभयो, “म यसै जिल्लामा पढेको हो । मैले पढदा विद्यालय भवन थिएन । चौतारामा बसेर पढे । प्राथमिक तहको शिक्षा दिने एक शिक्षक हुनुहुन्थ्यो ।तर मेहनत गरेर पढे । छात्रवृत्तिमा अमेरिकामा गएर पीएचडी गरे । देशमा फर्केर जनताको सेवा गर्ने अवसर पाए । ऊर्जा मन्त्री भए । परराष्ट्र मन्त्री भए ।”
विद्यार्थी र अभिभावकहरुलाई लक्षित गर्दै डा. महतले भन्नुभयो,“ शिक्षा सबैभन्दा ठूलो सम्पत्ति हो । कसैले हरण गर्न नसक्ने । अरु सम्पत्ति नासिएर जान्छ । पढेको व्यक्तिले संसारको जुनसुकै कुनामा पुगेर पनि खान्छ ।”
उहाँले अहिले गुणस्तरीय शिक्षाका लागि अवसर आएको बताउदै थप्नुभयो, “अहिले आवश्यक ठाँउमा विद्यालय,कलेज छन् ।पक्की भवन छन् । योग्य शिक्षकहरु हुनुहुन्छ । सूचना र प्रविधिको विकास भएको छ । धेरै ठाउँमा इन्टरनेट चल्छ । सबैको हातमा मोबाइल छ । गुगल र यु ट्युवबाट धेरै कुरा सिक्न सकिन्छ । यसको सही उपयोग गरौं शिक्षामा उत्कृष्टता हासिल गर्न सकिन्छ ।”
डा.महतले २०४६ सालमा लोकतन्त्रको पुनर्बहाली भएपछि नुवाकोटमा पनि शैक्षिक जागरण बढेको उल्लेख गर्नुभयो ।उहाँले त्यसपूर्व हुनेखाने काठमाडौं जाने र सामान्य नागरिकका सन्ततिले पढन लेख्न नपाउने अवस्था रहेको पनि बताउनुभयो ।