Prakash Adhikari April 1, 2022

काठमाडौं, १८ चैत्र । लामो प्रयास र अथक मेहनतपछि निर्माण सम्पन्न भएको सोलु करिडोर प्रसारण लाइनको शनिबार उद्घाटन गरिने भएको छ।

शुक्रबार भारत भ्रमणमा प्रस्थान गर्नुहुने प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले दिल्लीमा आयोजित विशेष समारोहकाबीच स्वीच थिचेर भर्चुअल माध्यमबाट सो प्रशारण लाईनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

नेपाल विद्युत् प्राधिकरणकाअनुसार सो आयोजना गत महिना मात्रै निर्माण सम्पन्न भएको हो।
प्रधानमन्त्रीको भारत भ्रमणमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि सहभागी हुने कार्यक्रम छ।

सोलुखोला जलाधारा क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माण भएको सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको यसअघि नै परीक्षण गरिसकिएको छ।

नेपाल सरकारको लगानी र भारतीय निर्यातआयात (एक्जिम) बैंकको सहुलितपूर्ण ऋणमा निर्माण सम्पन्न भएको प्रसारण लाइन लामो विवाद, स्थानीयको अवरोध, वन क्षेत्रको जग्गा प्रयोगमा देखिएको समस्याका कारण धेरै जटिलता भोग्नुपरेको थियो।

सबैभन्दा कम रकम कबुल गर्ने भारतको ज्यागुअर बी एस इन्टरनेशनलको संयुक्त उपक्रमलाई निर्माणको ठेक्काबाट बाहिर पारेर दोस्रो स्थानमा रहेको कम्पनीलाई ठेक्का दिलाएर २६ करोड रुपैया भ्रष्टाचार गर्न लागेको विषयमा अख्तियारले तात्कालीन ऊर्जा मन्त्री राधा ज्ञवालीको समेत संलग्नता रहेको तथ्य सार्वजनिक गरेपछि तात्कालीन प्रधानमन्त्री सुशील कोइरालाले उहाँलाई मन्त्री पदबाट बर्खास्त गर्नुभएको थियो ।

प्राधिकरणका सञ्चालक र पदाधिकारीहरुको मिलेमतोमा २६ करोड बढी मूल्य प्रस्ताव गर्ने मोहन इनर्जीले कीर्ते गरी पेश गरेको प्रमाणपत्रलाई मूल्यांकन समितिले मान्यता दिएको थियो । उसले मोजाम्बिकको जाम्बेजी प्रान्तमा अल्टो मोलोक्यूदेखि अपेसम्म ७५ किमी क्षेत्रमा ११० केभीको प्रशारण लाइन र सबस्टेशन सहित ग्रामिण विद्युतीकरणको काम २०१० को जनवरी ३१ मा सम्पन्न थियो । तर सबै क्षेत्र समथर थियो । सोलु करिडर निर्माणमा ६० किमी लामो पहाडी क्षेत्रमा प्रशारण लाइन निर्माण गरेको अनुभव मागियो । उसले फ्रेञ्च भाषामा भएको आफ्नो सक्कली प्रमाणपत्रलाई हाल अस्तित्वमा नरहेको दिल्लीको नोटरी पब्लिकका नाममा अंग्रेजीमा अनुवाद गरी कोष्ठमा पहाडी क्षेत्र भन्ने थपेको थियो ।

सिरहाको मिर्चैयादेखि उदयपुर, ओखलढुङ्गा हुँदै सोलुखुम्बूको दूधकुण्ड नगरपालिकाको तिङ्लासम्मको प्रसारण लाइनको लम्बाइ ९० किलोमिटर छ। यस्तै प्रसारण लाइनमा टावरको सङ्ख्या ३ सय २ वटा छ।​

सोलु करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत तिङ्गलामा १३२।३३ केभी, ३० एमभिए र ३३।११ केभी, ८ एमभीए क्षमताको सबस्टेसन निर्माण गरिएको छ। सबस्टेसन निर्माण सम्पन्न गरी २०७६ भदौ ७ देखि सञ्चालनमा छ। तिङ्ला सबस्टेसनबाटै सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङमा विद्युत् आपूर्ति भइरहेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार ठेकेदार छनोट देखिएको विवाद, सर्वोच्च अदालतको अन्तरिम आदेश, रुट परिवर्तन गर्न माग गर्दै स्थानीयबाट भएको अवरोध, जटिल भौगोलिक अवस्थालगायतका कारण आयोजना निर्माणमा केही ढिलाइ भएकोे थियो।

 

Share Now

Leave a comment.