नयाँदिल्ली(भारत), १९ चैत्र । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदैछ ।
हिजोदेखि मित्र राष्ट्र भारतको तीन दिने भ्रमणमा रहनुभएका देउवाले आज समकक्षी मोदीसँग एक्ला एक्लै र प्रतिनिधि मण्डलस्तरमा वार्ता गर्ने तयारी छ ।
भ्रमणको सबैभन्दा महत्वपूर्ण दिन नै आज हो । स्थानीय समय अनुसार बिहान १०ः४० बजे प्रधानमन्त्री देउवा राजघाट पुगेर माहात्मा गान्धीको समाधीस्थलमा श्रद्धासुमन व्यक्त गर्ने कार्यक्रम छ।
त्यसपछि ११ः१० बजे प्रधानमन्त्री हैदराबाद हाउसमा पुगेर भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
मोदीसँगको भेटवार्तापछि हैदरबाद हाउसमा नै दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा नेपाल–भारत द्विपक्षीय बैठक बस्नेछ ।
बैठक सम्पन्न भएपछि मध्यान्ह १२ः१५ बजे दुई देशका अधिकारीबीच केही सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । त्यसपछि संयुक्त विज्ञप्ति जारी गरिने छ ।
यसअघि हिजो राति भारतस्थित नेपाली दूतावासमा आयोजित रात्रिभोजमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आजको मोदीसँग हुने भेटवार्ता उपलब्धिमूलक हुने आशा व्यक्त गर्नुभएको थियो।
सहयोग संझौता
प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको नेपाली प्रतिनिधि मण्डल र भारतीय समकक्षी नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधिमण्डल स्तरीय वार्तापछि दुवै देशबीच ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायात क्षेत्रमा महत्वपूर्ण घोषणा हुने भएको छ ।
नेपाली राजदूतावासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीदेउवाले शुक्रवार साँझ नै उक्त जानकारी दिनुभएको थियो । साथै उहाँले नेपाल र भारतबीच केही नयाँ सम्झौतापत्रहरू पनि आदानप्रदान हुने बताउनुभयो।
यही सहयोग विस्तारको संभावनालाई दृष्टिगत गर्दै प्रधानमन्त्रीको भ्रमण दलमा परराष्ट्रमन्त्री डा.नारायण खड्काका अतिरिक्त ऊर्जामन्त्री पम्फा भुसाल, कृषि तथा पशुपंछि मन्त्री महिन्द्र राय यादव र स्वास्थ्य मन्त्री विरोध खतिवडा पनि रहनुभएको छ ।
प्रधानमन्त्री देउवाले शुक्रबार साँझ उहाँको सम्मानमा भारतका लागि नेपाली राजदूत शंकर शर्माले आयोजना गर्नुभएको स्वागत कार्यक्रममा नेपाल र भारतबीचको पारस्परिक ऐतिहासिक सम्बन्धलाई मजबुत बनाउन तथा दुई पक्षीय आर्थिक सहयोगका विषयमा छलफल गर्न आफू भारत भ्रमणमा आएको बताउनुभएको थियो ।
उहाँले आफ्नो यो भ्रमणबाट नेपाल भारत सम्बन्धले थप उचाइ हासिल गर्ने विश्वास पनि व्यक्त गर्नुभयो।
नेपालको बृहत्तर आर्थिक सामाजिक विकासलाई केन्द्रमा राखेर समुन्नत राष्ट्रको मार्गचित्र कोर्ने दिशामा सबै नेपाली पुनः एकपटक जुट्नुपर्ने आवश्यकता औँल्याउँदै प्रधानमन्त्री देउवाले देशको विकासका खातिर योगदान गर्न प्रवासी नेपालीलाई आह्वान गर्नुभएको छ ।
आगामी बैशाख ३० गते देशभरका स्थानीय तहको निर्वाचन एकै चरणमा सम्पन्न गर्नेगरी निर्वाचन आयोगले तयारी गरिरहेको जानकारी दिँदै प्रधानमन्त्री देउवाले सङ्घीय संसद्को निर्वाचन पनि समयभित्रै सम्पन्न गरेर नेपालको लोकतान्त्रिक पद्धतिलाई मजबूत बनाउन आफू प्रतिबद्ध रहेको बताउनुभयो ।
प्रजातन्त्र, मानवअधिकारको संरक्षण र सुशासन कायम गरी सङ्घीय शासन व्यवस्थाको सुदृढीकरण गर्ने अभिभारा वर्तमान सरकारका सामु रहेको बताउँदै प्रधानमन्त्री देउवाले भन्नुभयो, “संविधान जारी गरेपछि तीनवटै तहका निर्वाचन मेरो नेतृत्वको सरकारले सफलतापूर्वक सम्पन्न गरेको थियो । अब फेरि एक वर्षभन्दा कम समयमा प्रदेश र सङ्घीय संसद्को निर्वाचन सम्पन्न गराउने जिम्मेवारी पनि यही सरकार सामु आएको छ ।”
भारतको तीन दिने भ्रमणका क्रममा हिजो दिउँसो ५० जनाको टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा नयाँ दिल्ली आइपुग्नुभएको थियो । हिजै उहाँसँग भारतीय विदेशमन्त्री एस जयशंकर र भारतीय जनता पार्टीका अध्यक्ष जे.पी. नड्डाले भेट गर्नुभएको छ ।
देउवा भोलि आइतबार अपरान्ह स्वदेश फर्कने कार्यक्रम छ ।


















