Prakash Adhikari April 2, 2022

काठमाडौं, १९ चैत्र ।नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचन शनिबार हुँदैछ । नयाँ कार्यसमितिका लागि सत्ता गठबन्धनमा रहेका राजनीतिक दलनिकट कानून व्यवसायीको बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूह र प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहबीच प्रतिस्पर्धा हुने भएको छ ।

बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्व गोपालकृष्ण घिमिरेले गर्नुभएको छ भने प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीले ।

निर्वाचन समितिका सदस्य सुरेन्द्र महतोका अनुसार बारको निर्वाचनका लागि शनिबार बिहान देशभरको ३५ स्थानबाट एकसाथ बिहान ८ बजेदेखि मतदान प्रारम्भ भएको छ मतदान ४ बजे सम्पन्न हुनेछ ।

बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्यहरु गरी २५ जनाको कार्यसमितिका लागि हुन गइरहेको छ । निर्वाचनमा ९ हजार ७ सय ८ जना अधिवक्ता मतदाता रहेका छन् ।

त्यसमध्ये उपत्यकामा ५ हजार ७ सय र उपत्यकाबाहिर ३ हजार ५ सय रहेका छन् । सर्वोच्च अदालत परिसरमा चारवटा बुथको व्यवस्था गरिएको छ ।

उपत्यकामा धेरै मतदाता भएकाले चारवटा बुथको व्यवस्था गरिएको निर्वाचन समितिका सदस्य महतोले जानकारी दिनुभएको छ ।

बारलाई विधिको शासन, स्वतन्त्र न्यायपालिका, लोकतन्त्र र मानवअधिकारको पहरेदार मानिदै आएको छ ।

बारले न्यायालयभित्रको विकृति,विसंगति,ढिलासुस्ती,आर्थिक अनियमितता,आचरण र आचारसंहिताका विषयलाई पनि उठाउदै आएको छ ।

 

Share Now

Leave a comment.