दिक्तेल(खोटाङ), २३ चैत्र । सरकारले दूधकोशी ६ सय ३५ मेगावाट क्षमताको जलाशययुक्त जलविद्युत् आयोजना निर्माणको काम अगाडि बढाएको छ ।
आयोजना निर्माणको चरणमा लैजानको लागि सरकारले सोलुखुम्बु, ओखलढुंगा र खोटड. जिल्लामा करिब २५ हजार रोपनी जग्गा अधिग्रहणको काम सुरु गरेको ।
राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने दूधकोसी आयोजनाका लागि खोटाङको १३ हजार रोपनी, ओखलढुङ्गाको ९ हजार रोपनी र सोलुखुम्बुको ५ सय रोपनी जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाइएको हो ।
खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिका–६ भदौरेको सिमानामा पर्ने दूधकोसीस्थित रभुँवाघाटमा ६ सय ३५ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको काम अघि बढ्दैछ । ओखलढुङ्गाको जग्गा प्राप्ति (अधिग्रहण)का लागि गत फागुन २३ गते गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरिएको थियो ।
जलविद्युत् आयोजना सञ्चालनका लागि सरकारी जग्गाबाहेक करिब २० हजार रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने अनुमान गरिएको आयोजनाका उपनिर्देशक सीताराम प्रखाछेँले जानकारी दिनुभयो ।
खोटाङको रावाबेँसी गाउँपालिकाका ५ हजार ३ सय ४ कित्ता, ऐसेलुखर्क गाउँपालिकाका ५ सय २२ कित्ता र ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिकाका २ हजार ४ सय ९ कित्ता जग्गा अधिग्रहणको तयारी छ ।
सोलुखुम्बुको जग्गा अधिग्रहणका लागि केही समयपछि जग्गा प्राप्तिसम्बन्धी सूचना आह्वान गरिनेछ । सम्बन्धित क्षेत्रका जिल्ला प्रशासन कार्यालयमार्फत जग्गा प्राप्तिको प्रक्रिया थालेसँगै प्राप्ति गरिने जग्गा रोक्का भएको र उक्त क्षेत्रमा कुनै पनि संरचना बनाउने वा थप्ने काममा रोक लगाइएको छ । खोटाङतर्फको जग्गा गत असार २३ गतेदेखि नै रोक्का गरिएको प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले जानकारी दिनुभयो ।
हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा निर्माण गरिने विद्युतगृह, क्याम्प तथा लामीडाँडामा निर्माण गरिने बाँध र क्याम्पका लागि आवश्यक जग्गा अधिग्रहण गर्न सूचना प्रकाशित गरिएको छ ।
धितुङ र लामीडाँडामा थप दुई हजार रोपनी जग्गा अधिग्रहण गरिने आयोजनाले जनाएको छ । खोटाङमा मुआब्जा वितरण गर्न जग्गाको मूल्याङ्कन गर्ने काम अन्तिम चरणमा पुगेको मुआब्जा निर्धारण उपसमितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठले जानकारी दिनुभयो ।
लामीडाँडाको रभुँवाघाटस्थित कोसी किनारमा रहेको बजारमा २ सय मिटर अग्लो बाँध निर्माण गरी बनाइने जलाशययुक्त जलविद्युत आयोजनाबाट १३.३० किलोमिटर हेडरेस सुरुङमार्फत धितुङमा पानी खसालेर विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ आयोजना अघि बढिरहेको छ ।
रभुँवाघाटमा निर्माण गरिने बाँधदेखि सोलुखुम्बुतर्फ दूधकोशी किनारमा १०, खोटाङतर्फको रावाखोलामा ८ र ओखलढुङ्गाको ठोट्नेखोला किनारमा ४ किलोमिटर क्षेत्रफल डुबान हुने बताइएको छ ।
दूधकोशी आयोजनाबाट ३ जिल्लाका १ हजार १ सय ५० परिवार प्रभावित हुने छन् । खोटाङका ६ सय ५७, ओखलढुङ्गाका ४ सय ७९ र सोलुखुम्बुका १४ परिवार आयोजनाबाट प्रभावित हुने भएका छन् ।
जापान सरकारको सहयोगमा कोसी बेसिन अध्ययन गुरुयोजनाअन्तर्गत २०४२ सालमा पहिचान भएको दूधकोसी आयोजनाको काम अघि बढाउन सरकारलाई सिफारिस गरिएको विद्युत् प्राधिकरणले जनाएको छ ।
आयोजना बनेपछि विद्युतीय सेवासँगै दूधकोसी जलाशयमा डुङ्गा सयर, माछापालन तथा पर्यटन प्रवर्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । आयोजना सञ्चालन हुँदा रभुँवामा बन्ने जलाशयमा हलेसी आउने पर्यटकलाई डुङ्गा सयर गराउन सकिनेछ ।


















