काठमाडौं, २७ चैत्र । नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गर्नुभएको नेपाल कम्युनिष्ट पार्टीले पनि यही बैशाख ३० गते हुने स्थानीय चुनावमा प्रतिस्पर्धा गर्ने भएको छ।
यो पार्टीको चैत ४ देखि १४ गतेसम्म कपिलवस्तुको शिवगढीमा बसेको केन्द्रीय समिति बैठकले आफ्ना नेता कार्यकर्तालाई स्वतन्त्र हैसियतमा चुनावमा लड्न दिने निर्णय गरेको थियो।
उक्त निर्णयअनुसार पार्टीले आफ्ना प्रभाव भएका क्षेत्रमा उम्मेद्वारी छान्न सुरु गरेको छ ।
नेकपाका केन्द्रीय सदस्य चूडामणि वलीले रोल्पाको गंगादेव गाउँपालिकामा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसक्नुभएको छ।
२०७४ को स्थानीय तह निर्वाचनमा गंगादेव गाउँपालिका अध्यक्ष उपाध्यक्ष दुवै पद माओवादी केन्द्रले जितेको थियो।
गंगादेव गाउँपालिकामा ७ वटा वडा छन्। रोल्पा सदरमुकामबाट यो पालिका ६५ किलोमिटर उत्तरस्थित रुकुमसँग जोडिएको छ।
‘पार्टीका नेताहरुले मलाई चुनावमा उठ्नैपर्ने सुझाव दिनुभयो, स्वतन्त्र उठ्ने पार्टीको आन्तरिक योजना पनि हो’, उहाँले सञ्चारकर्मीहरुलाई भन्नुभएको छ, ‘त्यही भएर उम्मेदवारी दिन लागेको हुँ।’
कपिलवस्तुको शिवगढीमा चलेको केन्द्रीय समिति बैठकमा महासचिव विप्लवले राखेको ‘चुनावलाई उपयोग गर्ने’ प्रस्तावलाई परिमार्जन गर्दै नेकपाले स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरेको थियो।
२०७३ सालमा गठन भएको नेकपा अझैसम्म निर्वाचन आयोगमा दर्ता छैन। सो पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड गत बिहीबार निर्वाचन आयोग पुगेर दल दर्ता,मतदाता नामावलीमा छुट नाम दर्ता र एकै निर्वाचन चिन्ह लिएर उठने संभावनाका बारेमा जिज्ञासा राख्नुभएको थियो। तर आयोगले त्यस्तो संभावना नभएको बताएपछि सो पार्टी पालिका पालिकामा स्वतन्त्र हैसियतमा उम्मेद्वारी दिएर चुनाव लड्ने निर्णयमा पुगेको बताइएको छ ।
विप्लवको पार्टीले आफ्नो प्रभाव रहेको रोल्पा, कालिकोट, कपिलवस्तु, प्युठान र नेकपाको प्रभाव क्षेत्र रहेका विभिन्न जिल्लामा स्वतन्त्र उम्मेदवारी दिने तयारी भइरहेको जानकारी दिएको छ।


















