काठमाडौं, २९ फागुन । सोमबार दिउँसो भएको यूएस बंगला एअरलाइन्सको विमान दुर्घटनाको वास्तविक जानकारी लिन बंगलादेशका नागरिक उड्डयन मन्त्री एकेएम शाहजान कमल र परराष्ट्र राज्यमन्त्री शाहरिर अलामसहितको प्रतिनिधि मण्डल काठमाडौं आएको छ ।
प्रतिनिधि मण्डलमा नागरिक उड्डयन प्राधिकरण र बंगलादेशका उच्च अधिकारी पनि सम्मिलित छन् ।
त्रिभुवन अन्तराष्टिय विमानस्थलमा अवतरणको क्रममा रहेको यूएस बंगला एअरलाइन्सको विमान धावनमार्ग पहिल्याउनु अगावै फोर्सल्याण्ड गर्दा दुर्घटनाग्रस्त हुन पुगेको थियो ।
गृह मन्त्रालयका अनुसार विमानमा सवार चालक दलका सदस्यसहित ५१ जनाको मृत्यु भएको छ भने २० जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।
मृत्यु हुनेमा २२ जना नेपाली, २८ जना बंगलादेशी र एक चिनियाँ नागरिक रहेका छन्।
विमानमा चारजना चालक दलका सदस्यसहित ७१ सवार थिए।
विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार सरकारी उच्च स्तरीय टोलीको साथमा दुर्घटनामा परेका यात्रुका परिवारजन र आफन्तहरु समेत छन्।
सोमबार विमान दुर्घटना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशका प्रधानमन्त्री शेख हसिनासँग टेलिफोन संवाद गरी विमान दुर्घटनाबारे जानकारी गराएका थिए।