काठमाडौं, २९ चैत्र । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले गत फागुन २९ गतेदेखि पार्टीले आरम्भ गरेको घरघर जाऔ, नेपाली कांग्रेस जिताऔ अभियानले स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको विजयको आधार सुनिश्चित गरेको दाबी गर्नुभएको छ ।
अभियानको समापन हुने अन्तिम दिन मंगलबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गर्दै उहाँले सो दावी गर्नुभएको हो ।
“घरघर जाऔं,कांग्रेस जिताऔ” अभियानले नेपाली कांग्रेसका नेता र कार्यकर्तामा अभूतपूर्व उत्साह जगाएको बताउदै उहाँले भन्नुभएको छ, “आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको जित सुनिश्चित गरेको छ ।”
गत फागुन २९ गतेदेखि आरम्भ भएको यो एक महिने अभियान देशका सातै प्रदेश, ७७ जिल्ला, ७५३ पालिका ( महा–नगरपालिका–६, उप–महानगरपालिका–११,नगरपालिका–२७६,गाँउपालिका–४६०)र तिनका सबै ६७४३ वडामा अत्यन्त उत्साहका साथ ब्यापक जनसहभागितामा सञ्चालन भएर सफलताका साथ सम्पन्न भएको जनाएको छ ।
नेपाली कांग्रेसले आठ उद्देश्य राखेर यो अभियान सञ्चालन गरेको थियो । जसमा बैशाख ३० मा हुने स्थानीय निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपील गर्दै निर्वाचनको माहौल बनाउने,स्थानीय निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउन वडा र टोल तहसम्म पार्टीभित्र सौहार्दता, एकता र उर्जा अभिवृद्धि गर्ने कांग्रेसका उम्मेदवारहरुलाई विजयी गराउन मतदातालाई अपील गर्ने, “हरेक काँधलाई भारि, हरेक हातलाई जिम्मेवारी” को नीति साथ पार्टीको विधानमा व्यवस्था गरिएका विभिन्न जिम्मेवारी बाँडफाँड गरेर पार्टी पंक्तिलाई स्थानीय निर्वाचनमा वृहत्तर परिचालनतर्फ उन्मुख गराउने र नेपाली कांग्रेसको नेतृत्वमा विगतमा हासिल राजनीतिक र आर्थिक उपलब्धि जनसमक्ष विस्तारित रूपमा राख्ने उद्देश्य राखिएको थियो ।
त्यस्तैनेकपाको सरकारको गत ३ बर्षे कार्यकालमा भएका जनविरोधी गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण जनतासमक्ष व्यापक रूपमा राख्ने,प्रतिपक्षमा रहनुपर्ने जिम्मेवारीका वावजुद संविधान रक्षाका लागि वाध्यात्मक रुपमा सरकारमा जानु परेको यथार्थ जनसमक्ष राख्ने,नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेपछि जनताको जीवन रक्षालाई प्रधान कार्यभार बनाएर सरकारले छोटो समयमा ७० प्रतिशत नागरिकलाई खोप लगाइसकेको र निर्वाचनसम्म पुग्दा प्रायलाई लगाइसक्ने योजना थप स्मरण गराउँदै जनतालाई कोरोना महामारीसंग अझै सतर्कताका लागि अपील गर्ने,
र राष्ट्रिय सहमति निर्माण गरी हालै सम्मको सबैभन्दा ठूलो सहयोग परियोजना एमसीसी (MCC )नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्रीको सुझवुझपूर्ण नेतृत्वमा वर्तमान सरकारले संसदबाट पारित भएको हुँदा त्यसबारे जनस्तरमा छरिएको भ्रम र दुष्प्रचारलाई वुँदागत रुपमा चिर्दै वास्तविक रुपमा राख्ने उद्देश्य पनि यस अभियान सुरु गर्दा निर्धारित गरिएका थिए ।
कांग्रेसले यी आठै उद्देश्य पूरा भएको जनाएको छ ।
यस अभियानको क्रममा नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति, प्रदेश समिति, जिल्ला कार्य समिति, प्रतिनिधिसभा क्षेत्रीय कार्य समिति, प्रदेशसभा क्षेत्रीय कार्य समिति,गाउँ /नगर पालिका कार्य समिति, वडा कार्य समितिका पदाधिकारी र सदस्यहरु सक्रिय रुपमा परिचालित हुनुभएको र पार्टीका सबै भातृ तथा शुभेच्छुक संस्थाहरु परिचालन भएको प्रवक्ता डा. महतको दावी छ ।
हजारौं टोल समिति गठन,लाखौ कार्यकर्ता परिचालन
कांग्रेस प्रवक्ता डा.महतले अभियानकै क्रममा टोल टोलमा समिति गठन भएको दावी गर्नुभयो । हरेक गठित टोल समितिको संख्या १० औं हाजर पुगेको लाखौं सक्रिय सदस्यलाई थप जिम्मेवारी दिइएको उहाँले दावी गर्नुभयो ।
“यस अभियानको क्रममा हरेक पालिकाका वडा वडामा टोल समिति गठन भएका छन् । दशौं हजार टोल समितिको निर्माणले एकातिर पार्टीको संगठन विस्तारमा टेवा दिएको छ भने अर्कोतिर लाखौं सक्रिय कार्यकर्ताहरुलाई नयाँ जिम्मेवारी थपिएको छ । “,उहाँले भन्नुभयो, “वडा र टोलका साथीहरुको नेतृत्वमा देशभरका लाखौ सदस्यहरु परिचालित हुनु यसको सुन्दर पक्ष हो ।”
नेपाली कांग्रेसले स्थानीय निर्वाचनको माहौल बनाउन यो अभियान अत्यन्त सफल भएको दाबी पनि गरेको छ । पत्रकार सम्मेलनमा वितरित प्रेस नोटमा भनिएको, “१४ औं महाधिवेशनका बेलाको प्रतिस्पर्धाले सिर्जना गरेको आपसी मतभेदलाई मेटाउदै यस अभियान अन्तरगत नेपाली कांग्रेसका सबै तहका नेता कार्यकर्ताहरु मतदाताहरुको घरघरमा पुग्नुभयो । पार्टीभित्र एकता र ऊर्जा अभिबृद्धि गराउन यो अभियान सार्थक भएको छ ।”
अभियानको क्रममा नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकार र स्थानीय सरकारले गरेका कामको बारेमा स्थानीय नागरिकलाई विस्तारमा जानकारी दिने काम भएको दाबी पनि कांग्रेसले गरेको छ । प्रवक्ता डा.महतले भन्नुभएको छ, “नेपालमा शिक्षा, स्वास्थ्य, खानेपानी,सडक, विद्युत, सिंचाई, सूचना, सञ्चार तथा प्रविधि, वैदेशिक रोजगार, पर्यटन,उद्योग,ब्यापार,बैंकिङ, शेयर बजार जस्ता आर्थिक सामाजिक क्षेत्रको विकास र जनताको जीवनस्तर सुधारका क्षेत्रमा नीतिगत परिवर्तन र सो अनुरुप कार्यक्रम ल्याएर विकासलाई गति दिने काम कांग्रेसले मात्र गरेको छ भन्ने कुरा जनताका बीचमा स्पष्ट ढंगले गएको छ ।”
नेपाली कांग्रेसले यो अभियानलाई विपक्षी दलहरुले केन्द्रदेखि स्थानीय सरकार सञ्चालन गर्दा भएका आर्थिक एवम् प्रशासनिक अनियमितताका विषयहरु र खास गरि नेकपा एमालेका वर्तमान अध्यक्ष के.पी. शर्मा ओलीले सरकार सञ्चालन गर्दा भएका सेक्युरिटी प्रेस काण्ड, यति काण्ड, ओम्नी काण्ड, कोरोनाको खोप खरिदमा कमिशनका खोप आउन नसकेको कुरा, कोरोना कालमा विदेशबाट अलपत्र श्रमिक उद्धारको चार्टर उडानमा गरिएको भ्रष्टाचारजस्ता अनियमितता जनताका बीचमा उजागर गर्न पनि उपयोग गरिएको जनाएको छ । यो अभियानको क्रममा कतिपय जिल्लामा नेपाली कांग्रेसका सरकारले गरेका राम्रा काम र विपक्षीले गरेका भ्रष्टाचारको बारेमा पुस्तिका नै बनाएर वितरण भएको थियो ।
कांग्रेसले वर्तमान सरकार बनेपछि देशमा ओली आतंंक रोकिएको बताउदै तात्कालीन प्रधानमन्त्री ओलीले संविधानले नदिएको अधिकार प्रयोग गरि दुई दुई पटक गर्नुभएको प्रतिनिधिसभा विघटनको सिफारिस अदालतले बदर गरेपछि संविधान बचाउन नेपाली कांग्रेसले अन्य दलको अनुरोधमा सरकारको नेतृत्व सम्हाल्ने अवस्था आएको कुरा जनतालाई बुझाउन यो अभियान सफल भएको दावी गरेको छ। उसले भनेको छ,”सबैभन्दा लामो इतिहास भएको र प्रजातन्त्रको स्थापना,पुनस्थापना र विकासमा समर्पित रहदै आएको नेपाली कांग्रेसबाट मात्रै देशको लोकतन्त्र र संविधान सुरक्षित रहन सक्छ । नेपाली कांग्रेस विश्वका सबै मुलुकले पत्याएको पार्टी हो भन्ने सन्देश जनताबीच पु¥याउन यो अभियान सफल छ ।”
वर्तमान सरकारले जनताको जीवनलाई उच्च प्राथमिकता दिएको उल्लेख गर्दै कांग्रेसले भनेको छ, “नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेपछि नागरिकको जीवनलाई उच्च प्राथमिकता दिंदै खोपको व्यवस्थापन गरिएको छ । जोखिमयुक्त उमेर समूह पहिचान गर्दै अत्यावश्यक समूहका सबैलाई खोप दिंदै जाँदा एक मात्र खोप लगाउनेको हिस्सा ७५.७ प्रतिशत र पूर्ण मात्रामा खोप लगाउनेको संख्या ६६.१ प्रतिशत पुगेको छ । नागरिकहरु आफ्नो भविष्यप्रति निश्चिन्त भएका छन र मुलुक बन्दाबन्दी र निषेधाज्ञाको अत्यासलाग्दो अवस्थाबाट सामान्य अवस्थामा फर्किएको छ । जनताले सरकारमाथि भरोसा गर्ने स्थिति सिर्जना भएको छ ।”
नेपाली कांग्रेसले यो अभियान एमसीसीका सन्दर्भमा फैलाइएका भ्रम र अफवाहलाई चिर्न सफल भएको पनि जनाएको छ। नेपालको माग अनुरुप अमेरिकाले दिएको ५०० मिलियन डलर(६० अर्ब रुपैया भन्दाबढी)को उदार आर्थिक अनुदानलाई प्रधानमन्त्री शेरबहादुर देउवाको सुझबुझपूर्ण नेतृत्वमा संसदबाट पारित गरिएकोले नेपालको अन्तर्राष्ट्रिय साःख पनि अभिबृद्धि भएको उल्लेख गर्दै कांग्रेस प्रवक्ता डा.महतले भन्नुभएको छ, “प्रधानमन्त्री शेरबहादुर देउवाले हालै गर्नुभएको मित्रराष्ट्र भारतको भ्रमण र मित्र राष्ट्र चीनका विदेशमन्त्री याङ् यीको हालै सम्पन्न नेपाल भ्रमणले नेपालको परराष्ट्र सम्बन्धलाई थप उचाई दिएका छन् ।”
नेपाली कांग्रेसले यो अभियानले हिमालदेखि तराईसम्म,मेचीदेखि महाकालीसम्म नेपाली कांग्रेसको पक्षमा अभूतपूर्व लहर ल्याएको र कांग्रेसका नेता, कार्यकता, शुभेच्छुक,समर्थक र मतदातामा उत्साहको सञ्चार भएको दावी गरेको छ ।
उसले यस अभियानका क्रममा घरघरमा पुगेर कार्यकर्ताहरुले स्थानीय जनताका पीर–मर्का,गुनासो र समस्याहरु सुनेर संबोधन गर्ने कोशिस भएको बताएको छ । कांग्रेसले भनेको छ, “तटस्थ देखिएका नागरिकहरुमा पनि ‘देशका सबै राजनीतिक दलले र विदेशले समेत पत्याएको भरपर्दो र देश चलाउने जिम्मेवार पार्टी नेपाली कांग्रेस नै रहेछ‘ भन्ने सन्देश पुगेको छ।”
गठबन्धनमा लचिलो तर कार्यकर्तामाथि अन्याय हुन नदिने
नेपाली कांग्रेसका प्रवक्ता डा. महतले कांग्रेसको पक्षमा चुनावी माहोल बनेपनि विशिष्ट राजनीतिक परिस्थितिमा भएको गठबन्धनलाई संगै लिएर हिड्ने सदासय अनुरुप हामी स्थानीय निर्वाचनमा तालमेलको प्रयासमा भैरहेको बताउनुभयो ।
नेपाली कांग्रेसले पहिलेदेखि नै स्थानीय आवश्यकता र परिस्थिति अनुरुप सत्ता साझेदार दलहरुबीच स्थानीय तहको निर्वाचनमा तालमेल गर्न सकिने संभावना औल्याएको बताउदै उहाँले भन्नुभयो, “राष्ट्र तथा जनताको हित, लोकतान्त्रिक पद्धतिको संरक्षण र संबर्धन तथा पार्टीको हितलाई केन्द्रमा राखेर आवश्यकताका आधारमा छिट्टै तालमेलको निर्णय हुनेछ ।”
उहाँले गठबन्धनको सबैभन्दा ठूलो र नेतृत्वदायी पार्टी भएकोले नेपाली कांग्रेस तालमेलका सम्बन्धमा लचिलो हुने तर कार्यकर्तामाथि अन्याय हुन नदिने पक्षमा रहेको बताउनुभयो ।
नेपाली कांग्रेसले यो अभियानमा सक्रिय रुपमा समर्पित भएर आ–आफ्ना ठाउँमा खटिनु हुने केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य,केन्द्रीय प्रतिनिधि, पार्टी र भातृ एवम् शुभेच्छुक संस्थाका सबै तहका पदाधिकारी, क्रियाशील सदस्य तथा सम्पूर्ण कार्यकर्ताका साथै कांग्रेसका कुरा सुनेर बुझिदिने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई हार्दिक धन्यवाद दिंदै बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी बनाउन अझ समर्पित भएर लाग्न आह्वान गरेको छ ।
“घरघर जाऔं, कांग्रेस जिताऔ” अभियानका समाचारहरु आ–आफ्ना सञ्चार माध्यमबाट प्रकाशित र प्रशारित गरेर आम नागरिकलाई सुसूचित गरेकोमा सम्पूर्ण सञ्चारकर्मी र सञ्चार माध्यमलाई पनि कांग्रेसले धन्यवाद दिंदै आगामी दिनमा निरन्तर सहयोगको अपेक्षा गरेको छ ।


















