Prakash Adhikari April 13, 2022

काठमाडौं, ३० चैत्र । सत्तारुढ नेपाली कांग्रेसले पार्टीको स्थानीय तह निर्वाचनको घोषणा पत्रको मस्यौदा परिमार्जनसहित पारित गर्ने निर्णय गरेको छ ।

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बुधबार अपरान्ह बसेको बैठकले केन्द्रीय सदस्यहरुको सुझावलाई समेत समावेश गरेर सो घोषणा पत्रको मस्यौदालाई पारित गर्ने निर्णय गरेको हो ।

पार्टी प्रवक्ता डा. प्रकाश शरण महतले पत्रकारहरुलाई दिनुभएको जानकारी अनुसार महामन्त्री गगनकुमार थापाले बैठकमा पेश गर्नुभएको मस्यौदामा केन्द्रीय सदस्यहरुको समेत सुझावलाई ध्यानमा राखेर पारित गर्ने निर्णय भएको छ ।

‘कार्य सम्पादन समितिको बैठकमा घोषणा पत्रमा भएका मूल विषयवस्तुलाई महामन्त्री गगन थापाले प्रस्तुत गर्नुभयो । त्यस सम्बन्धमा कार्य सम्पादन समितिका साथीहरुले आफ्नो सुझावहरु प्रस्तुत गर्नुभयो ।’, प्रवक्ता डा.महतले थप्नुभयो, ती सम्पूर्ण सुझावहरुलाई समेटेर सबै केन्द्रीय सदस्य साथीहरुलाई मस्यौदा जान्छ । सबैबाट आएका सुझाबलाई समेटेर घोषणा पत्र पारित गर्ने निर्णय गरियो ।”

आजको बैठकमा कांग्रेसका उपसभापतिद्धय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्धय गगनकुमार थापा र महामन्त्री विश्वप्रकाश शर्मा सहित सहमहामन्त्रीहरु— महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, जीवन परियारले आफ्ना विचारहरु राख्नुभएको थियो ।

बैठकमा केन्द्रिय सदस्यहरु—विजयकुमार गच्छदार, चित्रलेखा यादव, डा. रामशरण महत, अर्जुननरसिंह के.सी., प्रवक्ता डा. प्रकाशशरण महत, बलबहादुर के.सी., ज्ञानेन्द्रबहादुर कार्की, डा. नारायण खड्का, जीपछिरिङ लामा र एन.पी. साउँदले आ–आफ्नो धारणा राख्नु भएको थियो ।

Share Now

Leave a comment.