Prakash Adhikari April 14, 2022

 

पोखरा(कास्की), १ वैशाख । पर्यटकीय नगरी पोखरामा नव वर्ष महोत्सव सुरु भएको छ ।

विगत दुई बर्ष कोरोना संक्रमणका कारण पर्यटकीय भेला,मेला,महोत्सवमा रम्न नपाएका पोखरेलीहरु नर्याँ बर्ष २०७९ को आगमनलाई विशेष तवरले स्वागत गर्दैछन् ।

पश्चिमाञ्चल होटल सङ्घको आयोजनामा पोखरामा बुधबारदेखि सुरु १७ औँ फेवा नव वर्ष महोत्सव सुरु भएको छ ।

सो महोत्सवको बुधबार उद्घाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी पाँच महिनाभित्रमा पोखरामा बन्दै गरेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने दाबी गर्नुभयो  ।

उहाँले विमानस्थल सञ्चालनको लागि पोखराको ल्यान्डफिल्ड साइट बाधक देखिएकोले नयाँ स्थानमा व्यवस्था गर्न पोखरा महानगरपालिकालाई आग्रह पनि गर्नुभयो ।

मन्त्री आलेले लेकसाइडस्थित रत्नमन्दिर र हिमागृह क्षेत्र वैशाखदेखि नै सर्वसाधरणका लागि खुला गरिने योजना रहेको जानकारी पनि दिनुभयो । यसबाट पर्यटन व्यवसाय थप आकर्षित हुने उहाँको भनाइ छ ।

मन्त्री आलेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ९३ प्रतशित निर्माण सम्पन्न भइसकेको र ठूला विमानहरुको उडान र अवतरणमा समस्याका रूपमा रहेको रिट्ठेपानी डाँडो काट्ने काम तीव्र गतिमा अगाडि बढाउन निर्देशन दिइएको पनि बताउनुभयो ।

उहाँले पोखराको पर्यटन बसपार्क औपचारिक रूपमा सञ्चालनमा ल्याउन निर्देशनसमेत दिनुभयो ।

उहाँले आगामी बजेटमा पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने नीति तथा कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा होटल सङ्घ नेपालका उपाध्यक्ष विनायक शाह, गण्डकी प्रदेशका सांसद राजीव पहारी, दीपक कोइराला, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईलगायतले कोभिड–१९ का कारण प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार विषेश प्याकेज ल्याउनुपर्ने माग गर्नुभयो ।

नेपाली नयाँ वर्षलाई स्वागत गर्न आयोजित महोत्सव वैशाख १ गते सम्म चल्नेछ ।

महोत्सवमा नेपाली संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रवद्र्धन गर्ने मुख्य उद्देश्य रहेको वयवसायीले बताएका छन् । पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर महोत्सव सञ्चालन गर्न लागिएको महोत्सव संयोजक एवं आयोजक सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो ।

 

Share Now

Leave a comment.