काठमाडौं, ८ बैशाख । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक शुक्रबार बस्ने भएको छ।
स्थानीय तह निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार तय गर्ने विषयमा छलफल गर्न कांग्रेस कार्य सम्पादन समितिको बैठक बस्न लागेको हो।
कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो।
उहाँले कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको पनि बताउनुभयो।
मुख्य सचिव पौडेलले बैठकका लागि ‘स्थानीय तह निर्वाचन उम्मेदवारी’ एजेन्डाका रुपमा तय गरिएको पनि जानकारी दिनुभयो।
कांग्रेसको विधानअनुसार महानगरका उम्मेदवारहरू केन्द्रीय संसदीय समितिले टुंगो लगाउने व्यवस्था छ।


















