काठमाडौं, ९ बैशाख । माध्यामिक शिक्षा परीक्षा (एसईई) आज (शुक्रबार)देखि सुरु हुँदैछ ।
परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म देशभर सञ्चालन हुँने भएको छ । आज अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ ।
कोरोना महामारीका कारण शैक्षिक वर्ष २०७६ र २०७७ मा आन्तरिक मूल्याङ्कनलाई नै प्रमाणीकरण गरेको राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष भने भौतिक उपस्थितिमा नै परीक्षा सञ्चालन गर्न लागेको हो ।
एसईईमा सबैभन्दा बढी काठमाडौंबाट ३६ हजार र सबैभन्दा कम मनाङबाट २९ जना विद्यार्थी सहभागी हुने एसईई परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिनुभयो ।

बोर्डले २ हजार ७ परीक्षा केन्द्र र एक उपकेन्द्रबाट परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । बोर्डले यो वर्ष नवलपुर जिल्लामा एक उपकेन्द्र तोकेको छ ।
परीक्षा नियन्त्रण कार्यालयको अनुसार २०७८ को एसईईमा कुल ५ लाख १४ हजार ७ सय ६० परीक्षार्थी सहभागी हुनेछन् ।
यो वर्ष परीक्षामा नियमिततर्फ ४ लाख ८८ हजार ७ सय ४२, प्राविधिकतर्फ १४ हजार ५ सय ६४ र ग्रेड वृद्धितर्फ ११ हजार ४ सय ५४ परीक्षार्थी एसईईमा सहभागी हुने बोर्डले जनाएको छ ।
सामान्यतर्फ ११ हजार ६ सय १५ विद्यालय र प्राविधिकतर्फ २ सय ९९ विद्यालयका विद्यार्थीहरु यो वर्ष एसईईमा सहभागी हुनेछन् ।
दुई वर्षपछिको ग्रेड वृद्धि परीक्षा
कोरोना महामारीको कारण दुई वर्ष अन्तारिक मूल्याङ्कन आधारमा नतिजा प्रकाशित हुँदा ग्रेड वृद्धिका लागि परीक्षा दिन नपाएका विद्यार्थीहरुले यो वर्ष दिईरहेका छन् ।
यस वर्ष ग्रेड वृद्धितर्फ ११ हजार ४ सय ५४ विद्यार्थी परीक्षामा सहभागी हुने परीक्षा केन्द्रले जनाएको छ ।
जापानबाट पनि एसईई दिँदै
जापानमा सञ्चालित विद्यालयमा पनि शुक्रबार नै एसईई सुरु हुँदैछ । जापानको टोकियोस्थित नेपाली स्कुल एभरेष्ट इन्टरनेशनलमा पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुन लागेको हो ।
परीक्षाको लागि प्रश्नपत्र अनलाइनमार्फत परीक्षा सञ्चालन हुन आधा घन्टा अघि पठाउने तयारी गरेको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिनुभयो ।
यस विद्यालयमा गत वर्षदेखि एसईई सुरु भएको हो । गत वर्ष कोभिड–१९ का कारण आन्तरिक मूल्यांकनलाई नै बोर्डले प्रमाणीकरण गरेको थियो ।
यो वर्ष भने जापानबाट १९ जना विद्यार्थी सहभागी हुनेछन् । विद्यार्थीको उत्तरपुस्तिका केन्द्राध्यक्षले रुजु गरेर सिलबन्दी गरी नेपाल पठाउनेछन् । गत वर्ष २४ जना विद्यार्थीले एसईई उत्तीर्ण गरेका थिए ।
परीक्षा वैशाख २० गते सकिनेछ ।


















