े
सानेपा(ललितपुर), ३० फागुन । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुुर देउवाले नेपाली कांग्रेस केन्द्रदेखि प्रदेशसम्म प्रतिपक्षमा रहेकोले सबै सांसदहरुले जिम्मेवारीपूर्ण ढंगले काम गर्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेसद्धारा पार्टीका तर्फबाट राष्टिय सभा,प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सांसदहरुको लागि पार्टी कार्यालय सानेपामा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले अर्को चुनावमा नेपाली कांग्रेसको पक्षमा जनमत सिर्जना गर्न संसदमा जिम्मेवारीपूर्ण ढंगले प्रस्तुत हुन सांसदहरुलाई आग्रह गरेका थिए ।
उनले अध्ययनशील र मिहेनती भएर देशको हित र जनताको पक्षमा सदनमा आवाज उठाउन पनि आग्रह गरे ।
कम्युनिष्टहरु सर्वसत्तावादतर्फ : पौडेल
अभिमुखीकरण कार्यक्रमलाई संबोधन गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको आरोप लगाएका थिए ।
उनले बामगठबन्धनको बहुमतले सरकार गठन गर्ने पुग्नेमा संसदको दुईतिहाई बहुमतको त्रास देखाएर राज्य नियन्त्रण गर्न खोजेको आरोप पनि लगाए । उनले राष्टिय सभाको पूर्णताको लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेका तात्कालीन सरकारले गरेको तीन सदस्यको शिफारीसलाई थन्क्याएर नयाँ सरकारले गरेको शिफारीसलाई तुरुन्तै अनुमोदन गर्ने कार्यले संविधान असफल बनाउने संकेत देखाउको पनि बताए ।
उनले वर्तमान सरकार लोकतान्त्रिक संसदीय प्रणालीलाई र संवैधानिक अंगलाई असफल बनाउन लागिपरेको आरोप पनि लगाए ।
नेपाली कांंग्रेसका वरिष्ठ नेता पौडेलले न्यायपालिकालाई तर्साएर काम गरेको आरोप लगाउदै स्वतन्त्र,निष्पक्ष र मर्यादित न्यायापालिकालाई निरन्तर प्रहार गरी नियन्त्रण गर्ने प्रयास भएको पनि आरोप लगाए ।
उनले शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्त नै खल्बलिने गरी सरकारले काम गरेको हुनाले केन्द्रदेखि प्रदेश तहसम्म विपक्षमा रहेका नेपाली कांग्रेसका सांसदहरुले सरकारको निगरानी गरी लोकतन्त्र र संविधानको रक्षा गर्न पर्ने आवश्यकतामा जोड दिए ।
वरिष्ठ नेता पौडेलले सांसदहरुलाई छायाँ सरकारको गठनमा पनि ध्यान दिन छायाँ सरकारका मन्त्रीहरुले सम्हालेका मन्त्रालयको सूचना अध्यावधिक लिएर संसदमा प्रस्तुत हुन पनि आग्रह गरे ।
उनले सांसदहरुलाई राज्यका हरेका सूचनामा अद्यावधिक रहन र अधिक अध्ययन गर्न सुझाव दिदै विपक्षी सजग,सचेत र जिम्मेवार भएमा सत्तापक्षका गलत कार्य रोक्न सकिने उदाहरण समेत प्रस्तुत गरेको थिए ।
उनले पहिलो संविधान सभामा नेकपा माओवादीको बहुमत रहे पनि प्रतिपक्ष जिम्मेवार भएकोले उनीहरुलाई स्वेच्छाचारी ढंगले चल्नबाट रोकिएको बताए । १० १२ वटा घट्नामा त्यतिखेर सत्तापक्षले घुँडा टेकेको छ ,नेता पौडेलले भने ।
उनले सानो संख्या भएको मजदूर किसान पार्टीले संसदीय व्यवस्थामा सही प्रतिपक्षको भूमिका अंगीकार गरेकोमा प्रशंसा गर्दै त्यस्तै ढंगले पार्टीको नीति भित्र रहेर राष्ट्र्यि र जिल्ला तथा निर्वाचन क्षेत्रका स्थानीय समस्याका बारेमा संसदमा आवाज उठाउन पनि उनले सुझाव दिए ।
कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न र जनताको आवाज र आवश्यकता मुखरित गर्न नेपाली कांग्रेसका सांसदहरुलाई आग्रह गरेका थिए ।
नेपाली कांग्रेसका सांसदहरुलाई संसदका पूर्व सचिव ठाकुरप्रसाद बरालले प्रशिक्षण दिएका छन् ।