काठमाडौं, १४ बैशाख । स्थानीय तह सदस्य निर्वाचनका लागि दर्ता भएको मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले आजदेखि (जाँचबुझ) छानबिन थाल्ने भएको छ ।
आयोगले बैशाख ३० गते हुने निर्वाचनका लागि आइतबार र सोमबार मनोनयन दर्ताको कार्यक्रम राखेको थियो । मनोनयन दर्ता गरेका उम्मेद्वारविरुद्ध आयोगले मंगलबार उजुरीको लागि आह्वान गरेको थियो ।
प्राप्त उजुरीमाथि आज र भोलि जाँचबुझ हुने निर्वाचन आयोगका प्रवक्ता शालिकराज शर्मा पौडेलले जानकारी दिनुभएको छ ।
आज र भोलि छानबिन गरेर आयोगले बिहीबार उम्मेदवारको नामावली प्रकाशन गर्ने तयारी गरेको छ ।
१६ बैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्नेछ ।
निर्वाचन आयोगका अनुसार १७ गते मात्रै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।
देशभरका ७ सय ५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि डेढ लाख बराबरले उम्मेदवारी दिएका छन् ।
उम्मेदवारको संख्या डेढ लाखमाथि
मंगलबार राति ९ बजे निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएको तथ्यांक अनुसार स्थानीय तह सदस्य निर्वाचन२०७९ का लागि विभिन्न पदमा १ लाख ५० हजार ४ सय ९४ जनाको उम्मेदवारी परेको छ ।
आयोगका अनुसार नगरपालिकाको प्रमुखमा ३ हजार ४६६, उपप्रमुखमा २ हजार १ सय३६ र गाउँपालिकाको अध्यक्षमा ३ हजार ३ सय ७८,उपाध्यक्षमा २ हजार ३ सय ९२ को मनोनयन परेको छ ।
यसैगरी वडा अध्यक्षमा ३४ हजार ९ सय ४३, महिला सदस्यमा २६ हजार ६३, दलित महिला सदस्यमा २३ हजार ४ सय ७० र वडा सदस्यमा ५४ हजार ६ सय ४६ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।
उम्मेदवारको दलगत स्थिति प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष तथा वडा अध्यक्ष पदमा सबैभन्दा बढी उम्मेदवारी नेकपा (एमाले) बाट परेको छ ।
निर्वाचन आयोगको साँझ ९ बजेसम्मको विवरण अनुसार प्रमुख पदमा एमालेबाट २ सय ८८ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, अध्यक्ष पदमा ४ सय ४६ जनाको उम्मेदवारी दर्ता भएको देखिएको छ ।
सो दलबाट उपप्रमुख र उपाध्यक्षमा क्रमशः २ सय ८३ र ४सय ४५ उम्मेदवारी परेको छ ।
त्यस्तै एमालेबाट वडा अध्यक्ष पदमा ६ हजार ४ सय ६८ जनाको उम्मेदवारी दर्ता भएको आयोगको तथ्याङ्क छ ।
त्यस्तै, सत्तारुढ दल नेपाली काँग्रेसबाट प्रमुख पदमा २ सय ६३ र अध्यक्षमा ३ सय ८२ जनाको उम्मेदवारी परेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुख पदमा २ सय ४८ जनाको उम्मेदवारी परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अध्यक्ष पदका लागि २ सय ९१ जनाको उम्मेदवारी परेको छ ।
स्वतन्त्रबाट प्रमुख पदमा १ हजार ३ सय ७६ र अध्यक्ष पदमा १ हजार २४ जनाको उम्मेदवारी परेको आयोगको लगत छ ।
उपप्रमुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीले सत्तारुढ दल माओवादी केन्द्रलाई उम्मेदवारी दर्तामा उछिनेको छ ।
उपप्रमुखमा राप्रपाबाट २ सय २७ उम्मेदवारी परेको छ भने नेपाली काँग्रेसबाट २ सय १० उम्मेदवारी परेको देखिएको छ । सोहीअनुसार उपाध्यक्ष पदका लागि काँग्रेसबाट ३ सय ५९ जनाको उम्मेदवारी परेको छ भने माओवादी केन्द्रबाट सोही पदमा ३ सय १४ जनाको उम्मेदवारी दर्ता भएको छ ।
त्यस्तै, वडा अध्यक्षमा एमालेबाट ६ हजार ४ सय ६८, काँग्रेसबाट ६ हजार ७७, माओवादी केन्द्रबाट ४ हजार ३ सय ८५ र स्वतन्त्रबाट ५ हजार ८ सय ३१ जनाको उम्मेदवारी परेको छ ।
महिला सदस्यका लागि एमालेबाट ६ हजार ३ सय १८, नेपाली काँग्रेसबाट ५ हजार ९ सय ९६, माओवादी केन्द्रबाट ४ हजार १ सय ७, राप्रपाबाट २ हजार ८९ जनाको उम्मेदवारी दर्ता भएको छ ।
त्यस्तै, दलित महिला सदस्यका लागि एमालेबाट ६ हजार १ सय १२, काँग्रेसबाट ५ हजार ७ सय ३१, माओवादी केन्द्रबाट ३ हजार ८ सय३५, राप्रपाबाट १ हजार ६ सय ३३ जनाको उम्मेदवारी परेको छ ।
त्यस्तै, सदस्य खुलाका लागि एमालेबाट १२ हजार ६ सय ७०, काँग्रेसबाट ११ हजार ९ सय ३४, माओवादी केन्द्रबाट ८ हजार ५ सय ३८ र राप्रपाबाट ४ हजार ६ सय ३० जनाको उम्मेदवारी दर्ता भएको छ ।
निर्वाचनमा नगर प्रमुख पदमा अन्यबाट १ हजार २ सय ९१, उपप्रमुखमा १ हजार २१, गाउँपालिका अध्यक्षमा १ हजार २ सय ३५, उपाध्यक्ष ९ सय १३, वडा अध्यक्ष १२ हजार १ सय ८८, महिला सदस्यमा ७ हजार ५ सय ५७, अन्यबाट दलित महिला सदस्य ६ हजार १ सय ६०, अन्यबाट खुला सदस्य १६ हजार ८ सय ८६ जनाको उम्मेदवारी परेको छ ।


















