नाम्चे(सोलखुम्बु), २५ बैशाख। यस वर्षको बसन्त आरोहणको पहिलो टोली ८,८४८.८६ मिटर उचाईँको संसारका सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुगेको छ ।
संस्कृति,नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयका अनुसार शनिबार साँझ ६ः५५ बजे कीर्तिमानी आरोही कामीरिता शेर्पासहित ११ जना आरोहण मार्ग बनाउने शेर्पाको टोली शिखरमा पुगेको छ ।
आरोहण आयोजक कम्पनी सेभेन समिट ट्रेकका निर्देशक छाङदावा शेर्पाका अनुसार यस बर्षको पहिलो आरोहणमा शिखर पुग्नेमा कीर्तिमानी आरोही कामीरिता शेर्पा, संखुवासभाका सोना शेर्पा, फुर्वा कुसाङ शेर्पा, पासतेन्जी शेर्पा, तारेमान तामाङ, सोलुखुम्बुका ङिमा टासि शेर्पा, फुर्वा छिरिङ शेर्पा, तेन्जिङ ग्याल्जेन शेर्पा, लाक्पा तेन्जी शेर्पा, फुर्वा छेतर शेर्पा, दोलखाका मिङमा डण्डु शेर्पा हुनुहुन्छ ।

विश्व कीर्तिमानी आरोही कामीरिता शेर्पा यसपटकसहित २६ औं पटक सगरमाथाको आरोहण गर्ने कीर्तिमान कायम गर्नुभएको छ ।
बाटो निर्माण सम्पन्न भएसँगै आधारशिविरमा तयारी अवस्थामा रहेका आरोही आइतबारदेखिनै मौसमको अवस्था हेरेर आरोहणका लागि बाटो लाग्ने तयारीमा जुटेको कम्पनीहरुले जनाएका छन् ।
यस वर्षको सगरमाथा आरोहणको बाटो बनाउने जिम्मा सेभेन समिट ट्रेकले लिएको थियो । मौसम अनुकूल भएकोले यस वर्ष विगतभन्दा छिटो निर्माण सम्पन्न भएको निर्देशक छाङदावा शेर्पाले बताउनुभयो ।
यस वर्ष सगरमाथा आरोहणका लागि ३ सय १६ जना आरोहीले अनुमति लिएका छन् ।
बसन्त आरोहणका लागि नेपालका २६ वटा हिमाल चढन १ सय १३ आरोहण दलले अनुमति लिएका छन् । जसमा ७४ देशका ९ सय १८ जना आरोही संलग्न छन् ।



















