Prakash Adhikari May 8, 2022

पोखरा(कास्की), २५ बैशाख । पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुले लोकतन्त्र र संविधान रक्षाका लागि गठबन्धनको जित आवश्यक भएको बताउनुभएको छ ।

वैशाख ३० गते हुने स्थानीय तह चुनाव सन्दर्भमा पोखराको अमरसिंह चौरमा आयोजित चुनावी सभामा बोल्दै नेताहरुले गठबन्धनकै एकतामा देशमा राजनीतिक परिवर्तन भएको र संविधान सभाबाट संविधानसमेत जारी भएकोले प्रतिगमनलाई रोक्न स्थानीय तहको तल्लो एकाई वडासम्मनै गठबन्धनका उम्मेदवारलाई जिताउन गठबन्धन आवश्यक भएको बताउनुभयो ।

नेताहरुले नेकपा एमालेका अध्यक्ष ओली प्रधानमन्त्री हूँदा दुई पटकसम्म संसद विघटन गरेर संविधान र लोकतन्त्र मास्न खोजेका कारण नै अहिलेको गठबन्धन बनेको र तीन तहको चुनावसम्म यो एकता कायम रहने बताउनुभएको छ ।

चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताउनुभयो । उहाँले मुलुकको स्थायित्व र स्थिरता आवश्यक भएकोले एक भएर गठबन्धनका उम्मेदवारलाई जिताउन सबैलाई आह्वान गर्नुभयो ।

प्रधानमन्त्री देउवाले एमाले नेता ओलीले प्रतिनिधिसभा विघटन गरेर संविधानमाथि प्रहार गर्न थालेकोले संविधान र लोकतन्त्र बचाउन गठबन्धन भएको र यसलाई जोगाउन इमानदारितापूर्वक गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभयो ।

कांग्रेस सभापति एवम् प्रधानमन्त्री देउवाले भन्नुभयो ‘‘प्रजातन्त्रको खिलाप र गणतन्त्रको विरोधमा लाग्नेविरुद्ध गठबन्धन आवश्यक छ ।’’

आमसभामा उहाँले नेपाली कांग्रेसका कार्यकर्तालाई सम्झाउँदै भन्नुभयो, ‘‘गठबन्धनलाई शंका उपशंका नगर्नोस्, यसअघि कांग्रेसको अवस्था के थियो ? देशको प्रधानमन्त्री, प्रदेशमा मुख्यमन्त्री र मन्त्री बनेका छन् । यो सबै गठबन्धनकै कारण बनेका हुन् ।’’

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा फेरि अर्को राजनीति दुर्घटनाको खतरा रहेको भन्दै त्यसबाट देशलाई जोगाउन गठबन्धन बनेको दाबी गर्नुभयो ।

‘‘स्थानीय तहको निर्वाचन मात्र होइन, प्रदेश र संघको चुनावमा पनि गठबन्धन अघि बढ्छ । सबैलाई फाइदा हुने भएकोले दलबीच गठबन्धन बनेको हो’’, प्रचण्डले भन्नुभयो ।

विगतमा कांग्रेस एक्लै चुनाव लड्दा काँग्रेसको अवस्था के भएको थियो, त्यो बुझ्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो । प्रचण्डले थप्नुभयो, ‘‘नयाँ युगको सुरुआत पनि अहिलेको गठबन्धनबाटै गर्ने संकल्प लिएका छौं । सर्वसम्मत उम्मेदवार छान्ने कुरा सजिलो थिएन । तर, देशको आवश्यकता अनुरुप सफल भयौँ।’’

चुनावी सभालाई संबोधन गर्दै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कुनै पनि दलले दम्भ राखे केपी ओलीको हालत हुने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘कहिलेकाही कांग्रेसमा दम्भ हुन्छ । दम्भ राम्रो होइन । त्यही दम्भले केपीको विनास गर्‍यो । सबैको शक्ति स्वीकार गर्नुपर्छ ।’’

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको गठबन्धन ओली प्रवृत्ति विरुद्धको गठबन्धन भएकाले देशैभर गठबन्धन पक्षमा माहोल आएको दाबी गर्नुभयो ।

सभामा बोल्नु हुँदै पोखराको मेयरका प्रत्यासी धनराज आचार्यले पोखराको समृद्धि र विकासको खाका प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा उपमेयर उम्मेदवार कोपिला रानाभाटले महानगरमा भएको भ्रष्टाचार न्युनीकरण गर्ने र आफूले कहिल्यै पनि भ्रष्टाचार नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

Share Now

Leave a comment.