वालिड.(स्याड.जा), ३० वैशाख । स्याङ्जामा जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ, १२ जना घाइते भएका छन् ।
वालिङ नगरपालिका ४ सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको जिप पञ्चमूल अर्खलबासस्थित सडक खण्डमा दुर्घटना भएको हो । जीप सडकबाट ५०० मिटर तल खसेको थियो ।
दुर्घटनामा मृत्यु हुनेहरु वालिङ नगरपालिका १४ पञ्चमुल अर्खलबासका रहेका छन् ।
मृतकमा स्थानीय ६३ वर्षकी माया पुन, ९ वर्षका प्रविण कुँवर, ५० वर्षका कुलदीप कुँवर, ५० वर्षकी डेम कुमारी कुँवर, ८६ की हरिकला कुँवर, ५० वर्षकी टेककला कुँवर, २५ वर्षकी जमुना कुँवर, ७० वर्षकी भीमकला कुँवरको दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डीएसपी रवीन्द्र खनालले जानकारी दिनुभयो ।
मृत्यु हुने अन्यमा ७० वर्षकी मुवाकुमारी कुँवर, ४३ वर्षकी पोटकुमारी कुँवर, ४३ वर्षकी जानुका कुँवर, ४२ वर्षकी ज्ञान दली कुँवर, ५० वर्षकी मीना कुँवर र फूलदेवी कुँवर रहेका छन् ।
दुर्घटनामा चालक भुलबहादुर कुँवर पनि गम्भीर घाइते भएका छन् । स्थानीय बेलमाया कुँवर, गौतमी थापा, ज्ञानमाया कुँवर, सरस्वती कुँवर, कविता कुँवर, अनिष कुँवर, कुशल कुँवर, ज्यामकली कुँवर, कौशल कुँवर, सीता कुँवर पनि गम्भीर घाइते भएका छन् ।
घाइतेहरुलाई उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेज पठाइएको डीएसपी खनालले जानकारी दिनुभयो ।
५५ वर्षका नेत्रबहादुर कुँवरको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । उनको वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
स्याङ्जाको वालिङमा मतदाता बोकेर मतदान केन्द्रतर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको हो ।
सिख्रेबाट वालिङतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको बस वालिङ नगरपालिका–१५ मा सडकबाट ५०० मिटर तल खसेको थियो ।
अन्यत्र निर्वाचनको उत्सव मनाइरहेको अवस्थामा स्याड.जा जिल्लाको वालिड. नगरपालिका अर्खलबास भने शोकमा डुबेको छ ।


















