सानेपा(ललितपुर), ९ जेठ । नेपाली कांग्रेसका प्रवक्ता एवम् नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिका संयोजक डा. प्रकाशशरण महतले स्थानीय निर्वाचनमा पार्टी भित्र अन्तरघात नभएको भए कांग्रेसले झण्डै ४ सय पालिका जित्ने अवस्था रहेको बताउनुभएको छ ।
स्थानीय तहको निर्वाचनमा पार्टीको अवस्थाबारे जानकारी दिन सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. महतले पार्टीभित्र अन्तर्घात ठूलो समस्याको रुपमा देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीमा अन्तर्घातको समस्या पुरानै हो । त्यो अहिले पनि देखियो । त्यसकारण धेरै ठाउँमा हामीले पराजय बेहोर्नुपरेको छ ।यदि अन्तर्घात नभएको भए हामी झण्डै चार सय स्थानीय तहमा जित्ने अवस्था हुन्थ्यो । हामी पार्टीमा भएको अन्तर्घातबारे पार्टीमा छलफल गरेर अघि बढ्छौं ।’
उहाँले त्यसका बाबजूद पनि स्थानीय तह निर्वाचनको परिणाम सन्तोषजनक रहेको बताउनुभयो ।
उहाँले पार्टीको सांगठानिक आधा पनि मजबूत भएको र पार्टीले अन्य दलसँग भएको गठबन्धनले पनि धेरै ठाउँमा जित्न सघाएको उहाँले बताउनुभयो ।
अन्तिम चरणका मतगणनाका परिणाम आउन थालेको उल्लेख गर्दै यो निर्वाचनमा गठबन्धनका कारण गठबन्धनका अन्य दलले पनि उल्लेख्य जित हासिल गर्नुभएको बताउनुभयो ।
उहाँले कांग्रेस नेतृत्वको सरकारले सफलतापूर्वक निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित निर्वाचन गर्न सफल भएको दाबी गर्नुभयो ।
प्रवक्ता महतले चुनावमा प्राप्त परिणामले नेपाली कांग्रेस र गठबन्धन दलहरूसमेत सन्तुष्ट रहेको बताउनुभयो । ‘यो चुनावको परिणामले गठबन्धनको अगाडिको मार्गचित्र समेत प्रस्ट गरेको छ । यो परिणामबाट कांग्रेसको नेतृत्व सन्तुष्ट छ । गठबन्धनका शीर्ष नेताहरू समेत सन्तुष्ट हुनुहुन्छ भनेर मैले बुझेको छु,’ उहाँले भन्नुभयो ।
उहाँले बाजुराको बुढीगंगामा यथाशीघ्र पुनः मतदान गराउने र उदयपुरको त्रियुगाको स्थगित गरिएको मतदानका सम्बन्धमा शीघ्र निर्णय गर्न पनि निर्वाचन आयोगसँग माग गर्नुभयो ।


















