Prakash Adhikari May 31, 2022

 

कोबाड.(मुस्ताड.), १७ जेठ । मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ सानोस्वारामा दुर्घटनाग्रस्त भएको तारा एयरको जहाजमा परेर निधन भएकाहरूको थप शव काठमाडौं ल्याउने तयारी गरिएको छ।

नेपाली सेनाको हेलिकप्टरबाट सोमबार १० वटा शव काठमाडौं ल्याइएको थियो। दुर्घटनास्थलमा रहेका चार शवलाई आज बिहानै मुस्ताङकै कोवाङमा झारिएको छ। कोवाङमा रहेका शवलाई आज काठमाडौं ल्याउने तयारी छ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी प्रमुख डिएसपी रामकुमार दानीका अनुसार दुर्घटनास्थलबाट थप चार वटा शव कोवाङ झारिएको छ।

‘आज चार वटा शव कोवाङ झारिएको छ। कोवाङमा रहेका सबै शवलाई काठमाडौं लैजाने तयारी छ,’ उहाँले भन्नुभयो। डिएसपी दानीका अनुसार एउटा शव खोजी कार्य जारी छ।

जहाजमा रहेका २२ मध्ये २१ यात्रुको शव फेला परिसकेको छ। एक यात्रुको शव खोजीका लागि सुरक्षाकर्मीहरू बिहानैदेखि दुर्घटना स्थलमा परिचालन गरिएका छन्।

आइतबार पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको तारा एयरको जहाज दुर्घटनामा चालक दलका सदस्यसहित २२ जना परेका थिए।

आइतबारदेखि सम्पर्कविहीन जहाज सोमबार बिहानमात्रै फेला परेको थियो।

सोमबार साँझ नेपाली सेनाको हेलिकप्टरमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएका शव पोष्टमर्टमको लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो।

Share Now

Leave a comment.