काठमाडौं, १९ जेठ । नेपालबाट भारत विद्युत् निर्यात हुन थालेको छ। त्रिशूली र देवीघाट जलविद्युत् केन्द्रको बिजुली भारत निर्यात हुन थालेको विद्युत् प्राधिकरणले बताएको छ।
भारतको विद्युत एक्सचेन्ज बजारमा निर्यात सुरु गरेको विद्युत् प्राधिकरणको प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिनुभएको छ।
उहाँका अनुसार भारतको एक्सचेञ्ज बजारमा हरेक १५ मिनेटमा मूल्य परिवर्तन हुनेछ। यसअनुसार प्रतियुनिट अधिकतम १२ रुपैयाँ मूल्य कायम छ भने न्यूनतम साढे २ रुपैयाँ पनि हुने गरेको हो।
अहिले भारतले २ सय मेगावाट विद्युत् नेपालबाट माग गरेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाको गत चैत्र महिनाको १९ गतेदेखि सुरु भएको भारत भ्रमणमा भारतसंग विद्युत निर्यातबारे आपसी समझदारी बनेको थियो । प्रधानमन्त्री भ्रमणबाट फर्के लगत्तै भारतले नेपालबाट ३ सय ६४ मेगावाट विद्युत् किन्ने संझौता गरेको थियो।
नेपालको जलविद्युत आयोजनाहरु नदी प्रवाहमा आधारित भएकोले बर्षामा बढी विद्युत उत्पादन हुने र हिउँद अर्थात सुख्खा याममा कम विद्युत उत्पादन हुने गर्दछ ।
नेपाल विद्युत प्राधिकरणले बुधबारदेखि ३७ दशमलव २ मेगावाट विद्युत् निर्यात गर्न थालेको हो ।
अहिले जेठको तेस्रो हप्तमा सुरु भैसकेकोले पूर्वमनसुन सुरु पनि भैसकेको र हिउँ पग्लने क्रम पनि बढेकोले नदीमा पानीको प्रवाह बढेर विद्युत उत्पादन पनि बढ्न थालेको छ ।