गनी अन्सारी /बीबीसी न्यूज नेपाली
काठमाडौं, २१ जेठ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाहको घोषणाबमोजिम होटल, रेष्टुराँ, वित्तीय संस्था लगायतका शौचालय पनि सार्वजनिक रूपमा प्रयोग गर्न मिल्ने गरी काठमाडौं महानगरपालिकाले पहल अगाडि बढाएको छ।
सहकार्यका लागि सम्पर्कमा आउन भन्दै महानगरले पत्रपत्रिकामार्फत् आइतवार औपचारिक सूचना पनि निकालेको छ।
“नगर कार्यपालिकाको जेठ २ गतेको बैठकबाट शौचालयमा सर्वसाधारणको सहज पहुँच अभिवृद्धि गर्न महानगर क्षेत्रभित्र रहेका होटल, रेष्टुराँ, ब्याङ्क, व्यापारिक भवन, मल, सपिङ कम्प्लेक्स, कम्पनी, फर्म, व्यवसायी, गैरसरकारी सङ्घसंस्थाका शौचालयलाई सार्वजनिक बनाउन आह्वान गर्ने निर्णय भएकोले यो सूचना प्रकाशन गरिएको छ।”
“इच्छुक सम्बद्ध सरोकारवाला व्यक्ति तथा निकायले यो सूचना प्रकाशित गरेको मितिले सात दिनभित्र सम्पर्क गर्नहुन अनुरोध छ”, महानगरपालिकाको सूचनामा भनिएको छ।
मेयर शाहले पनि सामाजिक सञ्जाल ट्विटरमा आफ्नो व्यक्तिगत खातामार्फत् सोमवार सहकार्यका लागि आउन अपील गर्नुभएको छ।
पहिलो बैठकको निर्णय
महानगरको पहिलो कार्यपालिका बैठकले पारित गरेका विभिन्न निर्णयमध्ये सार्वजनिक शौचालयसम्बन्धी निर्णय पनि एउटा थियो।
त्यसमा काठमाडौंभित्र रहेका होटल र रेष्टुराँ लगायतका शौचालय निःशुल्क प्रयोग गर्न दिनका लागि सम्झौता गरेर कार्यान्वयनमा लगिने भनिएको थियो।
शौचालय लेखिएको बत्ती महानगरले जडान गरिदिने र सर्वसाधारणलाई निःशुल्क शौचालय प्रयोग गर्न दिने मेयर शाहले बताउनुभएको थियो।
“रेष्टुरेन्ट खोलिसकेपछि व्यापार मात्रै होइन, एउटा सेवा पनि हो भन्ने कुरा भनाइमा मात्रै सीमित नरहोस् भनेर त्यो साइनबोर्ड लगाइसकेपछि कोही पनि व्यक्ति रेष्टुरेन्टमा गएर कसैलाई सोध्नु पर्दैन।”
“त्यहाँ कुकलाई, वेटरलाई नसोधीकन सीधै शौचालय निःशुल्क रूपमा प्रयोग गरेर फर्किन सक्छ। त्यसका लागि चार-पाँचवटा चेन रेष्टुरेन्टसँग कुरा गरिसकेका छौँ।”
सार्वजनिक रूपमा प्रयोग गर्न मिल्ने शौचालयहरूलाई महानगरले प्रमाणीकरण गरिदिने र गुगल म्यापमार्फत् पनि सजिलै खोज्न मिल्ने गरी काम गरिने उहाँले बताउनुभयो।
“यो निःशुल्क हुन्छ। निःशुल्क भएपछि कसैलाई समस्या पनि हुँदैन। र यसले गर्दा रेष्टुरेन्टको व्यापार झन् बढ्छ”, मेयर शाहले भन्नुभएको थियो।
काठमाडौं महानगरपालिकाले होटल, रेष्टुरेन्ट, बैंक लगायतले शौचालय सार्वजनिक रूपमा सर्वसाधारणलाई प्रयोग गर्न दिने भए सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ। pic.twitter.com/xXBYn8rZx8
— Balen Shah (@ShahBalen) June 6, 2022
बालेन शाह
सो क्रममा उहाँले अब रेष्टुराँको शौचालय प्रयोग गर्नैका लागि केही अर्डर गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने उल्लेख गर्नुभएको थियो।
महानगरले अहिले भएका सार्वजनिक शौचालयहरूको व्यवस्थापन गर्नुका साथै नयाँ शौचालय पनि निर्माण गर्दै जाने पनि उहाँले बताउनुभयो।
रेष्टुराँ व्यवसायी के भन्छन् ?
मेयर शाहको घोषणापछि काठमाडौं उपत्यका र बाहिरका एकाध रेष्टुराँले स्वतःस्फूर्त रूपमा निःशुल्क शौचालय सञ्चालनमा ल्याएको पनि देखिएको छ।
त्यस्तैमध्ये काठमाण्डूको बालुवाटारस्थित टाइम्स स्क्वायर रेष्टुराँ लाउन्ज एन्ड बार एक हो।
“दिसापिसाब विर्सजन गर्ने समस्या टड्कारो रूपमा महसुस गर्दै आएको कुरा हो। मेयरले भन्नासाथ ममा सकारात्मक विचार आयो अनि मैले शुरू गरिहालेँ”, प्रबन्ध निर्देशक राजन ढकालले भन्नुभयो।
त्यसबाट महानगरलाई आफूहरूको तर्फबाट केही योगदान हुनुका साथै केही हदसम्म व्यवसायको प्रवर्द्धन पनि हुने उहाँको विश्वास छ।

सार्वजनिक शौचालय
महानगरले निःशुल्क शौचालय सञ्चालनको दिशामा गर्न सहयोग अझ प्रभावकारी हुन सक्ने ढकाल बताउँनुहुन्छ।
“हामीले गरिरहेको काममा उहाँहरूले केही सहयोग गरिदिनुभयो भने त झन् ‘विनविन सिचुएशन’ हुन्छ। त्यो त धेरै नै राम्रो हुने भयो”, उहाँले थप्नुभयो।
रेष्टुराँ एन्ड बार एसोसिएशन नेपाल रेबानले निःशुल्क शौचालय सञ्चालनका लागि सहकार्य गर्न तयार रहेको जनाएको छ।
तर दीर्घकालीन रूपमा सञ्चालन गर्न विविध व्यावहारिक पक्षबारे छलफल आवश्यक रहेको रेबानका अध्यक्ष अरनिको राजभण्डारी बताउनुहुन्छ।
“एकचोटि घोषित रूपमा निःशुल्क भइसकेपछि पछिसम्म सेवा दिन पनि सक्नुपर्छ। भोलि गएर कुनै प्रकारको द्वन्द्व पनि नहोस्”, बीबीसीसँग उहाँले भन्नुभएको छ।
पानीदेखि शौचालयमा चाहिने आवश्यक सामानको व्यवस्थापनमा लाग्ने खर्च लगायतका विषयमा विचार गर्नुपर्ने पनि उहाँको सुझाव छ।
“उहाँहरूले यो यो सुविधा हामी उपलब्ध गराउँछौँ, को-को आएर सेवा दिन चाहनुहुन्छ भन्न सक्नुपर्यो”,राजभण्डारीले थप्नुभयो।
ब्याङ्कर्स एसोसिएशन के भन्छ ?
सहकार्यका लागि महानगरले आह्वान गरेकामा ब्याङ्क तथा वित्तीय सङ्घसंस्था पनि छन्।
यद्यपि सहकार्यका लागि सूचना निकाल्नुअघि महानगरले औपचारिक रूपमा आफूहरूसँग कुनै परामर्श नगरेको नेपाल ब्याङ्कर्स एसोसिएशनले जनाएको छ।
“उहाँहरूले हामीहरूसँग सम्भाव्यता छ वा छैन अथवा तपाईँहरूको विचार के हो भन्ने सोध्नुभएको छैन”, एसोसिएशनका अनिल शर्माले बीबीसीसँग भन्नुभयो।
“अब हामी एसोसिएशनभित्र छलफल गर्छौँ अनि के विचार आउँछ थाहा हुन्छ”, उहाँले थप्नुभयो।
विज्ञहरू के भन्छन् ?
महानगरले निःशुल्कभन्दा स्तरीय सेवा दिनेतर्फ ध्यान दिनुपर्ने खानेपानी तथा सरसफाइसम्बन्धी विज्ञहरूको सुझाव छ।
“निःशुल्क भनेर धेरै समय टिक्न सक्दैन। बरू गुणस्तर अनुसार शुल्क तोक्दा दीर्घकालीन रूपमा लैजान सकिन्छ”, खानेपानी तथा सरसरफाइ कार्यक्रम युनिसेफका लाइबेरिया प्रमुख जगदीश्वर वरुणले बीबीसीसँग टेलिफोनमा भन्नुभयो।
एपमार्फत् त्यस्तो सेवा घानादेखि नाइजेरियासम्ममा सफल भएको आफूले पाएको उहाँले अनुभव सुनाउनुभयो।
शुरूमा केही समय निःशुल्क शौचालय सेवा उपलब्ध गराउने होटल र रेष्टुराँ लगायतलाई महानगरले सहयोग गर्न सक्ने वरुणको सुझाव छ।
मापदण्ड तय गरेर सशुल्क गर्नुपर्नेमा एरोशान सस्टेनेवल स्यानिटेशनका कार्यकारी प्रमुख प्रकाश अमात्य पनि सहमति जनाउनुहुन्छ ।
“बरू महानगरले कसले कति रुपैयाँ लिन पाउँछ भनेर शौचालयहरूको रेटिङ गरिदिनुपर्छ। त्यसो गर्यो भने दीर्घकालीन रूपमा लैजान पनि सकिन्छ”, बीबीसीसँग उहाँले भन्नुभयो।
त्यसैगरी सार्वजनिक शौचालय सेवाबारे गुनासो सुन्ने संयन्त्र पनि खडा गर्नुपर्ने अमात्यको सुझाव छ।
महानगरपालिका के भन्छ ?
होटल, रेष्टुराँ तथा वित्तीय सङ्घसंस्थाले निःशुल्क शौचालय सेवा उपलब्ध गराउँदा अप्रत्यक्ष रूपमा व्यापारव्यवसाय वृद्धि पनि हुन सक्ने महानगरका अधिकारीहरू बताउँछन्।
यद्यपि त्यसरी निःशुल्क सेवा दिने सङ्घसंस्थालाई सहयोग गर्ने सोच पनि रहेको काठमाडौं महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले बताउनुभयो।

“महानगरपालिकाले केही समय परीक्षणको रूपमा हेर्नेछ र त्यस्ता शौचालयलाई सुव्यवस्थित रूपमा सञ्चालन गर्नका लागि केही सहयोग गर्नुपर्ने आवश्यकता देखियो भने एउटा मापदण्ड बनाएर सहयोग गर्ने खालको सोच पनि छ”, बीबीसीसँग उहाँले भन्नुभयो।
मापदण्ड बनाउने दिशामा काम भइरहेको र सेवा दिन चाहने सङ्घसंस्थाहरूसँग सम्झौता भएपछि अझ विस्तृत कुरा आउने आचार्यले उल्लेख गर्नुभयो।
सामाजिक सञ्जालमा बुटवलका व्यवसायीले पनि आफ्ना होटल रेष्टुरेण्टका शौचालय सार्वजनिक प्रयोगका लागि दिने घोषणा गरेको देखिन्छ ।


















