Prakash Adhikari June 8, 2022

काठमाण्डौँ, २५ जेठ । नेपालका पर्वतारोही,पर्वतारोहणमा संलग्न व्यवसायी र पर्वतारोहणमा सरोकार राख्ने संस्थाहरुको छाता संगठनको रुपमा रहेको नेपाल पर्वतारोहण संघको नेतृत्वका लागि निमानुरु शेर्पाको समूहले उम्मेदवारी घोषणा गरेको छ ।

मंगलबार काठमाण्डौँमा आयोजित एक पत्रकार सम्मेलनमा अध्यक्षका प्रत्यासी शेर्पा र उहाँको समूहको उम्मेदवारी घोषणा गरिएको हो ।

शेर्पा संघको वरिष्ठ उपाध्यक्ष रहिसक्नुभएको छ ।

यही जेठ २७ गते तय भएको संघको निर्वाचनमा निमानुरु शेर्पाको समूहबाट वरिष्ठ उपाध्यक्षमा ठाकुरप्रसाद पाण्डे, प्रथम उपाध्यक्षमा आङदावा शेर्पा, द्धितीय उपाध्यक्षमा दिपेन्द्र पाण्डे (कपिल), महासचिवमा मोहन लम्साल, सचिवमा धनबहादुर गुरुङ, कोषाध्यक्षमा मुक्ति पाण्डे उम्मेदवार बन्नुभएको छ ।

शेर्पा समूहबाट सदस्य पदका लागि सिङगी लामा, पिताम्बर गुरुङ, राजेन्द्र बहादुर लामा, रामचन्द्र धमला, नाम्गेल जाङबु शेर्पा, नुर्वु छिरिङ शेर्पा (लामा), पासाङ दावा शेर्पा, दिनेश तामाङ, उर्गादेवी श्रेष्ठ, डोमा शेर्पा र निमा डोमा शेर्पा उम्मेदवार बन्नुभएको छ ।

उम्मेदवारी घोषणा कार्यक्रममा अध्यक्षका प्रत्यासी निमानुरु शेर्पाले नेपाल पर्वतारोहण संघका सदस्यहरुमा एकता कायम गर्न, पर्वतारोही तथा सदस्यहरुको हकहित र कल्याणका कार्यक्रम सञ्चालन गर्न सक्षम बनाउन, संस्थालाई पर्वतारोहणको क्षेत्रमा विश्वमा नेतृत्वदायी स्थानमा पुर्याउन र हिमाली क्षेत्रको वातावरण संरक्षण गर्दै जलवायू परिर्वतनका असर न्यूनीकरण गराउने कार्यमा संलग्न गर्न आफ्नो समूहले काम गर्ने बताउनुभयो ।

निमानुरु समूहबाट वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिनुभएका ठाकुरप्रसाद पाण्डेले पर्वतीय पर्यटनको विकास र दक्ष आरोही उत्पादनका लागि निमा नुरु शेर्पाको समूहलाई विजयी बनाउन अपिल गर्नुभयो । उहाँले पनि संघको महासचिवको जिम्मेवारी कुशलतापूर्वक सम्हालि सक्नुभएको छ ।

महासचिवका प्रत्यासी मोहन लम्सालले पर्वातारोहीको इन्स्यूरेन्सको समस्या समाधान गर्न, वृत्ति विकास गर्र्न, अन्तर्राष्ट्रिय गाइडको मान्यता दिलाउनका लागि आफ्नो टिमलाई जिताउन मतदातासमक्ष आग्रह गर्नुभएको छ ।

यो टिममा सत्तारुढ गठबन्धन र नेकपा एमालेप्रति पनि झुकाव भएका व्यवसायीहरुलाई समेटिएको हुनाले यसलाई समावेशी समूह भनिएको छ ।

 

Share Now

Leave a comment.