काठमाडौं, २६ जेठ । नेपाल विद्युत प्राधिकरणले दैनिक ३ सय १२ मेगावाटसम्मको विद्युत निर्यात गर्न थालेको छ ।
नेपा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिड.ले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा यसको जानकारी दिनुभएको हो ।
उहाँका अनुसार मनसुन सक्रिय भएका कारण नेपालका नदीहरुमा पानीको मात्रा बढेको छ र विद्युत उत्पादन गृहहरुमा दैनिक विद्युत उत्पादन बढ्दै गएको छ ।
यो परिमाणको विद्युत बिक्रिबाट विद्युत प्राधिकरणले अहिले दैनिक ७ करोड रुपैया आम्दानी गरिरहेको छ ।
नेपालमा असोज महिनासम्म नदी तथा खोलाको पानी प्रवाह बढी हुने, कार्तिक मंसिरमा ठिक्कमात्रामा हुने पुसदेखि जेठको दोस्रो तथा तेस्रो सातासम्म सुख्खा याम रहने गरेको छ ।
राम्रो बर्षात भएको बर्ष नेपालले ४ देखि ५ महिना विद्युत विक्री गर्न सक्ने र रातको समयमा अन्य महिनामा पनि विद्युत बिक्री गर्ने संभावना रहेको छ ।
Nepal has started exporting maximum upto 312 MW of Electricity from today to India everyday after increase in production due to monsoon. Around NRs. 7 crores worth of electricity is exported daily on an average. ❤️ pic.twitter.com/kRLFGmbVYP
— Kulman Ghising (@kulmanghNea3) June 9, 2022
गत कार्तिकदेखि सुरुभयो निर्यात
नेपाल विद्युत प्राधिकरणले २०७८ कार्तिक १६ देखि भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत् निर्यात थालेको हो ।
भारतको विद्युत मन्त्रालयको सहमतिमा अन्तरदेशीय विद्युत् व्यापारका लागि स्वीकृति दिने निकायले कार्तिक १५ गते सोमबार नेपाल विद्युत् प्राधिकरणलाई भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा विद्युत् बिक्री गर्न अनुमति दिएको हो ।
पहिलो चरणमा प्राधिकरणको स्वामित्वमा नुवाकोटमा सञ्चालमा रहेका २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट विद्युतगृहबाट उत्पादित ३९ मेगावाट विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आइआइएक्स)मा बिक्री गर्न अनुमति दिइएको हो ।
यस बर्ष भने नेपाल विद्युत प्राधिकरणले जेठ १९ देखि विद्युत निर्यात सुरु गरेको हो । पहिले त्रिशुली र देविघाटको विद्युत निर्यात गरेको प्राधिकरणले २२ जेठ शनिवार रातिबाट स्वामित्वमा रहेको १ सय ४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ए विद्युतगृहबाट उत्पादित विद्युत पनि निर्यात थालेको थियो।
यस पहिले प्राधिकरणले कालीगण्डकीको १ सय ७७ दशमलव ७ मेगावाट विद्युत भारत निर्यात गर्यो । कालीगण्डकी ए को १ सय ४० मेगावाट, त्रिशूलीको २३.२ मेगावाट र देवीघाटको १४.५ मेगावाट विद्युत भारत निर्यात गर्दै आएको थियो।
वर्षातसँगै नदीनालामा पानीको वहाव बढेर विद्युतगृहहरु पूर्ण क्षमतामा चल्न थालेपछि आन्तरिक रुपमा खपत गरी उब्रेको ऊर्जालाई प्राधिकरणले भारत निर्यात गरेको हो।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार रातिबाट निर्यात भएको विद्युतको औसत बिक्री मूल्य प्रतियुनिट ११.२ रुपैयाँ (७ भारु)रहेको बताउनुभएको थियो।
‘अधिकतम दर प्रतियुनिट १९ रुपैयाँ ( भारु१२), न्यूनतम २.३८ रुपैयाँ (भारु१.४) र औसत दर ११।२ रुपैयाँ (भारु ७) छ’, घिसिङले भन्नुभएको थियो।
आइएक्समा २४ घण्टालाई १५ ।१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ। त्यसैले हरेक ब्ल्कको मूल्य फरक फरक हुने गरेको छ।
प्राधिकरणका अनुसार बिहीबार निर्यात गरिएको विद्युतको अधिकतम र न्यूनतम मूल्य प्रतियुनिट क्रमशः भारु १२ (१९।२ नेरु) र भारु२।४९ (नेरु३।९८) छ। त्यस दिनको औसत मूल्य प्रतियुनिट भारु ६।७२ (१०।७६ नेरु) छ।
यसैगरी, प्राधिकरणले आजदेखि अधिकतम प्रतियुनिट मूल्य १९।२ रुपैयाँ (१२ भारु) र न्यूनतम ४।०८ रुपैयाँ (२।५५ भारुं) मा विद्युत बिक्री गरेको छ। औसत मूल्य ११।४८ रुपैयाँ (७।१८ भारु( रहेको छ।
नेपालले भारतीय भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा प्रतिस्पर्धी दरमा ३ सय ६४ मेगावाटसम्म विद्युत बिक्री गर्न अनुमति पाएको छ ।
प्राधिकरणले ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनमार्फत विद्युत् निर्यात सुरु गरिरहेको छ ।
भारतले पहिलो चरणमा भारतीय सहयोगमा बनेका आयोजनाबाट उत्पादित विद्युतमात्र आयात गर्ने नीति लियो र पछि नेपालले आफैले लगानी जुटाएर बनाएका आयोजनाको विजुली किन्ने उदारता देखाएको छ ।


















