Prakash Adhikari June 15, 2022

 

काठमाडौं, १ आषाढ । दुई दिन नेपालको संसद र सडकदेखि सिंगो सञ्चारमाध्यम र सामाजिक सञ्जालमा तहल्का मच्चाएको अमेरिकी राज्य साझेदारी कार्यक्रम(एसपीपी)सम्बन्धमा नेपाली सेनाले मुख खोलेको छ ।

नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग एसपीपीसम्बन्धी सम्झौता गर्ने कुनै प्रक्रिया शुरु नगरेको, संझौता पनि नभएको र भविष्यमा यस्तो संझौता नगरिने स्पष्ट पारेको छ ।

सेनाले बुधबार राति एक विज्ञप्ति प्रकाशित गर्दै नेपालको असंलग्न परराष्ट्र नीतिमा प्रतिकुल असर पर्नेगरी भविष्यमा पनि कसैसँग सैनिक साझेदारी नगर्ने प्रतिवद्धता जनाएको छ।

अमेरिकी दूतावासका अधिकारीहरुले एसपीपी सम्झौताका लागि नेपाली सेना आफैंले आग्रह गरेको बताइरहेका बेला नेपाली सेनाले एसपीपीबारे त्यस्तो कुनै प्रक्रिया अघि नबढेको र नबढ्ने जानकारी गराएको हो।

नेपाली सेनाद्वारा बुधबार साँझ जारी विज्ञप्तिमा भनिएको छ, एसपीपी सम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग नगरेको र त्यस्तो सम्झौता गर्नेतर्फ कुनै प्रक्रिया पनि नभएको जानकारी गराइन्छ।’

नेपाली सेनाले विज्ञप्तिमा भनेको छ, ‘नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति, नेपालको विशिष्ट भू–राजनीतिक अवस्थिति एवं सामरिक संवेदनशीलतामा प्रतिकूल असर पर्ने गरी कुनै पनि सैनिक साझेदारी भविष्यमा कोही कसैसँग पनि गर्न नहुने वस्तुगत यथार्थतामा नेपाली सेना सदैब प्रष्ट र सचेत रहेको व्यहोरा सम्पूर्ण जनमानस तथा सञ्चार जगतलाई जानकारी गराइन्छ।’

Share Now

Leave a comment.