Prakash Adhikari June 16, 2022

काठमाडौं, २ आषाढ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकामा भएको त्रिदेशीय श्रृंखलाको अन्तिम खेलमा नेपाल अमेरिकासँग ३९ रनले पराजित भएको छ ।

अमेरिकाको टेक्सास राज्यको पर्लल्याण्डस्थित मोसा क्रिकेट मैदानमा भएको खेलमा टस जितेर फिल्डिड. रोजेको नेपालले अमेरिकाले दिएको २ सय ४६ रनको लक्ष्य हासिल गर्न सकेन ।

आरिफ शेख र सोमपाल कामीले कीर्तिमानी साझेदारी गरेपनि नेपालले २ सय ६ रन मात्र बनाउन सक्यो । अघिल्लो दिन ओमानलाई पराजित गरेको नेपाली टिम लगातार खेलमा परेकोले बिश्रामको अभाव खट्किएको थियो ।

ओमानसंगको खेलमा चम्केका करन के.सी., कुशल भूर्तेल र आशिफ शेख बुधबारको खेलमा पूर्ववत चम्कन सकेनन् ।

खेलमा आरिफ शेखले ६३ रन,सोमपालले ४७, देव खनालले ३४, रोहितकुमार १६,कुशल भूर्तेल १०, दीपेन्द्रसिंह ऐरी ७,मोहम्मद आदिल आलम ४,करन के.सी. र सौरभ ढकालले १।१ रन जोडेका थिए ।  नेपालले अन्तिम ७ रन जोड्दा ५ विकेट गुमाएको थियो ।

नेपाललाई रोक्न अमेरिकाका सौरभ नेत्रभाल्कर र अली खानले ३ । ३ विकेट लिए । नोसथुस केन्जिगले र निसर्ग पटेलले समान १ विकेट लिए । नेपालका दुई खेलाडी रनआउट भए ।

त्यसअघि मोसा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ४५ रन बनाएको थियो ।

अमेरिकाका लागि गजानन्द सिंहले सर्वाधिक ५८ रन बनाउँदा सुशान्त मोदानीले ५४ रन बनाए । यस्तै आरोन जोन्सले ४३ र साइतेजा मुम्मकामालाले ३६ रन जोडे । खेलमा निसर्ग पटेलले १८,क्यामरुन स्टेभेन्सनले १६,नोस्थुस किन्जीले ९,मोनाक पटेलले ४,स्टेभन टेलरले १ रनको योगदान दिएका थिए ।

करण केसीले स्टेभेन टेलर १ र कप्तान मोनाक पटेल ४ लाई सुरुमै आउट गरेपनि मोदानी र जोन्सले ८८ रनको साझेदारी गर्दै अमेरिकाको इनिङ्सलाई अघि बढाएका थिए ।

अमेरिकालाई रोक्न नेपालका करण केसीले ३, सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए ।
यस श्रृङ्खलामा नेपालको यो दोस्रो हार हो । चार खेलमध्ये एक जित र एक बराबरीबाट नेपालले ३ अंक मात्र जोड्न सक्यो ।

अंकतालिकामा १६ खेलबाट १५ अंकसहित नेपाल पाँचौ स्थानमा छ । अमेरिका २४ खेलबाट २३ अंकसहित चौथो स्थानमा छ ।

ICC Men’s Cricket World Cup League 2
TEAM M W L PT NRR
OMA 36 21 13 44 0.039
SCOT 20 13 5 28 0.436
UAE 22 12 8 26 0.214
USA 24 11 12 23 -0.050
NEPAL 16 7 8 15 0.123
NAM 14 7 7 14 0.096
PNG 20 1 19 2 -0.856

 

Share Now

Leave a comment.