Prakash Adhikari June 19, 2022

काठमाडौँ, ४ आषाढ । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण नेपालको हितमा रहेको बताउनुभएको छ ।

रौतहटको यमुना गाउँपालिकाको शुकदेवमा शनिबार सगरमाथा तराई अस्पतालको उद्घाटन गर्दै प्रवक्ता महतले अमेरिकी राष्ट्रपतिबाटै नेपालका प्रधानमन्त्रीलाई विरलै आमन्त्रण हुने गरेको र प्रधानमन्त्री देउवा अमेरिकी राष्ट्रपतिकै आमन्त्रणमा जान लागेकाले त्यो नेपालको लागि हितकर हुने बताउनुभयो ।

‘हाम्रो प्रधानमन्त्रीलाई अमेरिकाको राष्ट्रपतिले आमन्त्रण गर्नुभएको छ । हाम्रो कुनै पनि प्रधानमन्त्रीलाई राष्ट्रपतिको तहबाट आमन्त्रण भएको छैन । अहिले शेरबहादुर देउवालाई त्यस्तो निमन्त्रणा छ । पहिले पनि उहाँलाई नै त्यस्तो आमन्त्रण गरिएको थियो । यो त खुसीको कुरा हुनुपर्ने हो,’ प्रवक्ता डा. महतले भन्नुभयो, ‘अमेरिकाजस्तो देशले उच्च सम्मान दिइरहेको छ । उहाँले त्यहाँ गएर नेपालकै लागि कसरी बढीभन्दा बढी सहयोग ल्याउने भनेर पहल गर्ने हो । कसरी विकासका योजना ल्याउने भन्ने कुरा हो । त्यसमा पनि किन जान लाग्नुभएको हो ? जानु हुँदैन भनेर प्रश्न गर्नु गलत हो ।’

प्रधानमन्त्रीको अमेरिका भ्रमणलाई लिएर आशंका गर्नु गलत सोचको परिणाम भएको उहाँको कथन छ ।

पूर्वपरराष्ट्रमन्त्री डा.महतले कांग्रेसले सबै छिमेकी र मित्रराष्ट्रहरूलाई समान ढंगको व्यवहार गर्ने गरेको दावी पनि गर्नुभयो । ‘हामी त अमेरिकाले मात्रै होइन, चीनले बोलाए पनि जान्छौँ, भारतले बोलाए पनि जान्छौँ । यो देशको लागि सहयोग जुटाउने कुरा हो, त्यसैले यस्तो कुरामा राजनीति गर्नु राम्रो होइन,’ नेता महतले एमाले नेताहरूलाई लक्षित गर्दै भन्नुभयो, ‘हामी उहाँहरू जस्तो छिमेकीका सामु लम्पसार पर्ने तर जनताको बीचमा चाहिँ ठूलो राष्ट्रवादी भनेर प्रचार गर्दैनौं ।’

No description available.

उहाँले नेपालमा एमसीसी विकासे परियोजना भए पनि पहिले एमसीसीको नाममा बबन्डर मच्याउने काम भएको बताउनुभयो ।

‘हिजो उहाँहरूले परियोजना स्वीकृत गर्नुभयो, फेरि एमसीसी राष्ट्रघाती भनेर बबन्डर मच्याउने काम पनि उहाँहरूले नै गर्नुभयो । अब एसपीपीमा पनि उहाँहरूले त्यस्तै हत्कन्डा गर्न खोज्नुभएको थियो । चुनावको मुखमा एकपटक फेरि राष्ट्रियताको झटारो हानौं न त भनेर सोच्नुभएको थियो होला । तर, अहिले तथ्य बाहिरिएको छ, एसपीपी उहाँहरूकै पालामा अघि बढेको रहेछ,’ उहाँले भन्नुभयो, ‘एसपीपी अहिले प्रचारमा आएको जस्तो सैन्य गठबन्धनको सम्झौता होइन । तर, छिमेकीहरूलाई त्यस्तो आशंका छ भने हामी त्यो शंका उत्पन्न हुने अवस्था आउनै दिँदैनौँ । त्यसकारण प्रधानमन्त्रीले प्रस्ट पारिसक्नुभएको छ, हामी एसपीपीको पक्षमा छैनौं ।’

गठबन्धनलाई निरन्तरता

नेपाली कांग्रेसका प्रवक्ता डा. महतले वर्तमान सत्ता गठबन्धनले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि निरन्तरता पाउने बताउनुभएको छ ।

उहाँले अहिलेकै अवस्थामा कुनै पनि दलको बहुमत नआउने र बहुमत नभए सरकार नबन्ने भएकाले चुनावपछि सरकार बनाउन यताउता दौडधुप गर्नुभन्दा अहिल्यै गठबन्धन गरेर जानु उपयुक्त हुने पार्टीको ठहर रहेको बताउनुभयो ।

रौतहटको यमुना गाउँपालिकाको शुकदेवमा शनिबार सगरमाथा तराई अस्पतालको उद्घाटन गर्दै प्रवक्ता महतले गठबन्धनमा कसरी चुनावी तालमेल गर्ने भनेर छलफल भइरहेको बताउनुभयो ।
‘हाम्रो संविधानमा ४० प्रतिशत सिट पार्टीको समानुपातिक मतको आधारमा हुने व्यवस्था छ । त्यसकारण अहिलेकै अवस्थामा कुनै पनि पार्टीले एक्लै बहुमत ल्याउन कठिन छ,’ उहाँले भन्नुभयो, ‘हाम्रो उद्देश्य कांग्रेस एक्लैले दुई तिहाई प्राप्त गर्ने हुनुपर्छ । तर, बहुमत नआएर सरकार बनाउने बेला यता(उता दौडधुप गर्नुपर्ने अवस्था नआओस् भनेर हामी अहिल्यै गठबन्धन गरेर चुनाव जान चाहन्छौं ।’

उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको संविधानमाथिको आक्रमण र प्रतिगमतकाविरुद्ध वर्तमान गठबन्धन बनेको भन्दै ओली अहिले पनि गठबन्धनलाई असफल बनाएर मुलुकलाई प्रतिगमनतर्फ लैजान उद्यत रहेको आरोप लगाउनुभयो ।

‘ओलीजी अहिले पनि गठबन्धनलाई कसरी असफल पार्न सकिन्छ भनेर लागिरहनुभएको छ,’ प्रवक्ता डा. महतले भन्नुभयो, ‘तर हामी त्यस्तो हुन दिँदैनौं । गठबन्धनमा कुन पार्टीको कहाँ कस्तो अवस्था छ, के अपेक्षा छ ? त्यसबारे छलफल गरेर हामी गठबन्धनलाई निरन्तरता दिन्छौं ।’

No description available.
उहाँले स्थानीय तहको निर्वाचनमा मधेसमा गठबन्धनले सन्तोषजनक सफलता हासिल गरेको बताउनुभयो । ‘मधेसमा आठ जिल्ला हुन् । तीमध्ये चार जिल्लामा गठबन्धनको नतिजा राम्रै भयो । सप्तरी, सिरहा, महोत्तरी र बारामा मात्रै हो, त्यत्ति राम्रो परिणाम नआएको । नभए अरु चार जिल्लामा राम्रो परिणाम आएको छ,’ डा. महतले भन्नुभयो ।

 

Share Now

Leave a comment.