Prakash Adhikari June 19, 2022

काठमाडौं,५ आषाढ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेद्धारा नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीउपर गरिएको दूर्व्यबहार र अश्लिल गाली गलौजको निगमका तीनवटा युनियनले एकै स्वरमा विरोध गरेका छन् ।

नेपाल वायुसेवा निगम कर्मचारी संघ उपाध्यक्ष देवेन्द्र पुन र महासचिव नेत्रराज राउतले आषाढ ३ गते एक विज्ञप्ति प्रकाशित गर्दै भन्नुभएको छ, “निगमको वित्तीय अवस्थामा समेत सुधार भइरहेको अवस्थामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्री श्री प्रेमबहादुर आलेज्यूले कार्यकारी अध्यक्षलाई नियम विपरितका कार्यहरु गर्न दबाब दिने,अश्लिल गाली गलौच गर्नुका साथै दुब्र्यबहार समेत गरेको समाचार विभिन्न राष्ट्रिय छापा तथा विद्युतीय माध्यमहरुबाट प्रकाशित भएकोमा हामी सम्पूर्ण कर्मचारीहरु यस घट्नाबाट दुःखी हुँदै घटनाप्रति खेद प्रकट गर्दछौं ।”

संघले भनेको छ,”मन्त्रीले हस्तक्षेप गर्ने, कानून विधि विपरित कार्य गर्न लगाउने र नगरे भौतिक आक्रमणमा उत्रिनु भत्सर्नायोग्य कार्य हो ।”

नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल वायुसेवा निगम केन्द्रीय समितिले पनि निगमका कार्यकारी अध्यक्ष अधिकारीमाथि तालुक मन्त्रालयका मन्त्री आलेले गरेको गालाीगलौज र हातपातजन्य घृणित दुव्र्यबहारप्रति खेद प्रकट गरेको छ ।

“लामो इतिहास बोकी अनवरत रुपमा रहेको स्वायत्त संस्था हालै आर्थिक रुपमा पनि कमजोर भएको अवस्थामा विभागीय मन्त्रीबाट सयौंको संख्यामा कुनै विधि प्रकृया नअपनाई कर्मचारी भर्ना गर्न ठाडो आदेशका भरमा गरिएका भर्ती खेदपूर्ण छ “,  संघका वरिष्ठ उपाध्यक्ष शैलेन्द्र शाहद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “नेपाल सरकारको पर्यटन मन्त्री जस्तो पदमा बसेको व्यक्तिले पदीय मर्यादा र आचरण विपरित पटकपटक कर्मचारी भर्तीको दवाव दिंदै गरिएको निच दुव्र्यबहारपूर्ण अभिव्यक्ति प्रति खेद प्रकट गर्दै नेपाल राष्ट्रिय कर्मचारी संगठन संबान्धित निकायसमक्ष निजलाई बर्खास्तीको जोडदार माग गर्र्दछ ।”

नेपाल वायुसेवा निगम कर्मचारी युनियनले पनि मन्त्री आलेद्धारा निगममा गरिएको अनावश्यक हस्तक्षेप र कार्यकारी अध्यक्ष युवराज अधिकारीमाथि भएको दुर्व्यबहारको भर्त्सना गरेको छ ।

युनियनका अध्यक्ष सुवास डाँडीले असार ३ गते प्रकाशित गर्नुभएको विज्ञप्तिमा भनिएको छ, “यसै सन्दर्भमा मिति २०७९ असार ३ गते विभिन्न राष्ट्रिय सञ्चार माध्यमहरुमा नेपाल वायुसेवा निगमका कार्यकारी प्रमुखमाथि मन्त्रालयका विभागीय मन्त्रीले गरेको अश्लिल गालीगलौज तथा हातपातजन्य दुव्र्यबहारको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ । ६४औं बर्षसम्म अनवरतरुपमा स्वायत्त निकायको रुपमा सञ्चालित नेपाल वायुसेवा निगमलाई भर्तिकेन्द्र बनाउने मनशायसहित कार्यकारी प्रमुखज्यूमाथि गरिएका निन्दनीय क्रियाकलापप्रति यस यूनियन घोर  भर्त्सना गर्दछ ।

यूनियनले मन्त्री आलेको वर्खास्तीको माग गर्दै भनेको छ, “नेपाल सरकारको मन्त्री जस्तो गौरवशाली पदमा आसिन भएका सार्वजनिक व्यक्तिबाट त्यस्ताखालका निज हर्कत अभिव्यक्तिप्रति खेद प्रकट गर्दै नेपाल वायुसेवा निगम कर्मचारी युनियन नेपाल सरकारसमक्ष निजको बर्खास्तीको जोडदार माग गर्दछ ।”

नेपाल वायुसेवा कर्मचारी संघले त मन्त्री आलेले मन्त्रालयमा बसेर निगममा ८० जनालाई मासिक ज्यालादारीमा नियुक्ति दिएको आरोप पनि लगाएको छ ।

 

Share Now

Leave a comment.