Prakash Adhikari June 21, 2022

काठमाडौं, असार ७ गते । एसीसी महिला टी–२० क्रिकेट च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग पराजित भएको छ । मलेसियाको किनरारा ओभल मैदानमा मङ्गलबार भएको खेलमा नेपाल हङकङसँग सात विकेटले पराजित भयो ।

यद्यपी नेपाल यस खेल अगाडिनै सेमिफाइनलमा पुगिसकेको थियो । नेपालले दिएको एक सय १० रनको विजय लक्ष्य हङकङले १५.५ ओभरमा तीन विकेटको क्षतिमा एक सय १२ रन बनायो । हङकङको लागि मारिको हिलले सर्वाधिक ४५ रन बनाउनुभयो । नतासा माइल्सले २८ र कप्तान केरी चानले १७ रन जोड्नु भयो । बलिङमा नेपालकी सङ्गीता राईले दुई तथा सीता रानामगरले एक विकेट लिनुभयो ।

Image

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय नौ रन बनाएको थियो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ३२ रन बनाउनुभयो । बिन्दु रावलले २३, अप्सरी बेगमले २२, सीता रानामगरले नौ र ममता चौधरीले सात रन जोड्नुभयो । बलिङमा हङकङकी बेट्टी चानले दुई विकेट लिनुभयो । मर्याम बिबी र इल्सा हब्बार्डले एक एक विकेट लिनुभयो ।

समूह ‘बी’ मारहेको नेपालले चार खेलबाट ६ अङ्क जोड्दै दोस्रो स्थानमा छ । हङकङ पनि ६ अङ्कका साथ शीर्षस्थानमा छ । नेपालले समूहको पहिलो खेलमा भुटानलाई ५० र दोस्रो खेलमा कुवेतलाई २५ रनले हराएको थियो । नेपालले तेस्रो खेलमा बहराइनलाई आठ विकेटले हराएको थियो ।

च्याम्पियनसिपमा १० टोलीको सहभागिता छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा मलेसिया, ओमान, कतार, सिङ्गापुर र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनल जुन २४ र फाइनल खेल २५ तारिखमा हुनेछ ।

Share Now

Leave a comment.