ओटावा(क्यानडा), २३ आषाढ । क्रिकेटको स्तर सुधारेर स्कटल्याण्डमा हुने विश्व कप क्रिकेट लिग २ को त्रिदेशीय श्रृखलाका चारैवटा खेल जित्ने आकांक्षा राखेर एकदिवसीय क्रिकेट खेल्न क्यानडा भ्रमणमा निस्केको राष्ट्रिय क्रिकेट टिमको भ्रमण सोंचे जस्तो भएन ।
वर्षाको कारण पूर्वनिर्धारित पहिलो एक दिवसीय खेल रद्द भयो भने बुधबार सम्पन्न दोस्रोे एक दिवसीय खेलमा आफूभन्दा कमजोर ठानिने क्यानडाको टिमसंग नेपाल पराजित भयो । त्यो पनि ८३ रनको अन्तरले ।
बुधबार राति भएको अभ्यास खेलमा पहिले टस जितेर फिल्डिड. रोजेको नेपालले क्यानडाबाट १ सय ८९ रनको सामान्य लक्ष्य पाएको थियो । तर ५० ओभरको खेलमा नेपालले ३९ ओभर २ बलमा सबै विकेट गुमाउदै १ सय ५ रन जोडेर अलआउट भयो।
नेपालका लागि देव खनालले सर्वाधिक २६ रन बनाएका थिए। कुनै पनि ब्याट्सम्यानको प्रदर्शन संझन लायक रहेन । क्यानडाका पाँच बलरले समान २ । २ विकेट लिएका थिए।
यसअघि टस हारेर ब्याटिङ गरेको क्यानडाले श्रेयस मोभाको अविजिति अर्धशतकीय पालीमा १ सय ८८ रन बनाएको थियो। क्यानडाका लागि आरोन जोन्सनले ४४ रन बनाएका थिए।
उसले पूरै ५० ओभर खेलेर ९ विकेटको क्षतिमा १ सय ८८ रन बनाएको हो । एक दिवसीय खेलमा कुनै पनि टिम पूरै ओभर टिक्न सक्छ कि सक्दैन भन्ने कुराले पनि अर्थ राख्छ । नेपाली खेलाडीहरुमा एक दिवसीय खेलको लागि चाहिनै धैर्यता कम देखिदै आएको छ । सुरुमा नै लड.बल हान्ने ब्याट्सम्यानहरुको हतारोले खेलाडीहरु पहिले नै थाक्ने, अप्ठ्यारा बलमा चौका र छक्का निकाल्न खोज्दा बल क्याच भएर विकेट झर्ने घट्ना नेपाली ब्याट्सम्यानहरुको खेलमा अनगिन्ति दोहोरिएका छन् ।
एक नम्बरका ब्याट्सम्यानहरु मैदानमा छिटो विदा हुँदा नेपाली खेलाडीहरु मैदानमा निरिह देखिने गरेका छन् । खासगरी ब्याटिड.मा तल्लो क्रममा रहने नेपाली खेलाडीहरु जो बलिड.मा उपल्लो क्रममा रहेका हुन्छन, अलराउण्ड प्रकृतिका छैनन् । उनीहरु बलिड. राम्रो गर्दछन् । ब्याटिड. गरेर रन जोड्न सक्दैनन् । नेपालले खेलमा कस्तो गर्छ भन्ने संकेत पाँचौ र छैठो विकेट गिरेपछि देखिन्छ । यो भनेको त खेलको मध्य भाग नै हो । यदि उपल्लो क्रमका कुनै ब्याट्स म्यानले एक किनारा सम्हाल्न पाए भने नेपालले त्यस्ता खेल पार लगाउछ नत्र तल्लो क्रमका व्याट्सम्यान र बलरको काँधमा जिम्मा आयो भने नेपालले स्वभाविक हार ब्यहोर्ने गरेको छ ।
एक दिवसीय खेलको लागि नेपालको बलियो पक्ष बलिड. नै हो । जति छिटो प्रतिस्पर्धी टिमको विकेट झारेर थोरै रनमा समेट्न सक्यो त्यो खेल नेपालले जित्ने संभावना प्रबल हुन्छ । बुधबारको क्यानडासंगको खेलमा नेपाली बलरहरुले सुरुमा राम्रो गरेका थिए तर नेपाली खेलाडीहरुले खेलाची संझे कि पात्तिए कि मात्तिए दशौं विकेट झार्न नसक्दा क्यानडाले राम्रो रन बनाउन सक्यो । नवौं विकेट झरेपछि क्यानडका व्याट्सम्यानहरु क्रिजमा टिकेर अपेक्षाभन्दा बढी रन बनाउन सक्नु क्यानडाका लागि बरदान भयो । कुनै समय त क्यानडाले पनि सय रन कटाउछ कि कटाउदैन भन्ने अवस्था रहेको थियो ।
क्यानडालाई रोक्ने क्रममा नेपालका लागि सन्दीप लामिछानेले ३ तथा दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए। त्यस्तै किशोर महतो, करण केसी, आदिल अन्सारी र बसिर अहमदले १ । १ विकेट हात पारे। तर अन्तिम विकेट झार्न नसक्दा क्यानडा बलियो स्थितिमा पुग्यो ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँगको त्रिकोणात्मक सिरिजको तयारीको लागि नेपालले क्यानडासँग अभ्यास खेल खेलेको हो।
विश्वकप क्रिकेट लिग –२ अन्तर्गतको त्रिकोणात्मक श्रृंखलामा नेपालले स्कटल्याण्ड र नामिबियासँग समान दुई दुई खेल खेल्नेछ । स्कटल्याण्डमा हुने श्रृंखलाको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध खेल्नेछ ।
नेपाल र नामिबियाबीचको खेल जुलाई ११ मा हुनेछ । यस्तै नेपालले दोस्रो खेल स्कटल्याण्डविरुद्ध जुलाई १३ मा खेल्नेछ ।
नेपालले तेस्रो खेलमा नामिबियाबिरुद्ध जुलाई १६ र अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध जुलाई १७ मा खेल्नेछ ।
नेपाली टिम खेल्न हैन, घुम्न थालेको आरोप
आफूभन्दा कमजोर टिमसंग पनि पराजित हुन थालेपछि नेपाल क्रिकेट संघ र क्रिकेट खेलाडी माथि खेल्न हैन मनोरञ्जनका लागि नेपाली टिम घुम्न थालेको आरोप आउन थालेको छ ।
नेपाल क्रिकेट संघको वर्तमान पदाधिकारीका आलोचकहरुले क्रिकेटमा केही सिक्न र आफूलाई सुधार्न सधै आफूभन्दा बलिया टिमसंग प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन् । उनीहरुका अनुसार नेपालसंग सीमाना जोडिएको भारत र छिमेकमै रहेका पाकिस्तान,बंगलादेश,श्रीलंका टेष्ट राष्ट्र हुन् । त्यहाका राष्ट्रिय टिमसंग खेल्न नपाए पनि क्षेत्रीय टिमसंगको खेलबाट पनि नेपालको स्तर सुधार्न धेरै मद्दत मिल्ने थियो ।
तर नेपाल क्रिकेट संघका पदाधिकारीहरुले आफूभन्दा कमजोर क्यानडा रोजे । त्यहाँ गएर पनि कुनै बलियो स्थानीय क्लबसंग खेल्न पाएनन् । देश छोडेर बाहिर गएका नेपालीहरुले जोरजाम गरेको गैरव्यवसायिक टिमलाई जितेर राष्ट्रिय टिमका खेलाडीहरु दंगदास भए ।
यस्तै गल्ती क्यानले अष्ट्रेलिया भ्रमण गर्ने संझौता गरेर गरिरहेको छ । क्रिकेटका खेलाडीहरुले अभ्यास र छनोट खेलमा पनि पदाधिकारी भ्रमण गरेर कोषको दुरुपयोग गरेको आरोप पनि लगाएका छन् ।
त्यसमाथि संघले प्रतिशोधका आधारमा खेलाडीमाथि कारबाही चलाएको र पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई टी २० र एक दिवसीय खेलमा मौका नदिइकन खेल जीवन निस्क्रिय बनाउन बाध्य बनाएको आरोप पनि आलोचकहरुले लगाएका छन् ।


















