Prakash Adhikari July 7, 2022

 

बुढीगंगा(बाजुरा), २३ आषाढ । बाजुराको बुढीगंगा नगरपालिकामा आज स्थानीय तह निर्वाचनका लागि पुनः मतदान भैरहेको छ ।

मतदानका लागि नगरको सुरक्षा कडा पारिएको छ । सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानसहितका करिब १ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सुरक्षा स्रोतका अनुसार मतदानस्थलपिच्छे एक सय जनाभन्दा बढी सुरक्षाकर्मी खटाइनुका साथै मंगलबारदेखि संयुक्त सुरक्षा टोलीले गस्तीसमेत गरिरहेका छन् ।

यसअघि गत वैशाख ३० को मतदानका क्रममा सुरक्षा व्यवस्था फितलो भएकाले निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो ।

यसअघिको मतदानका क्रममा १० मध्ये ६ वटा मतदानस्थलमा बुथ कब्जा गरेपछि मतदान रोकिएको थियो । बेलामा चुनाव हुन नपाउँदा बुढीगंगाले जनप्रतिनिधि चयन र बजेट ल्याउन पछि परिसकेको छ ।

यतिबेला भने सुरक्षा व्यवस्था कडा देखेर आम मतदाताहरूमा आफूले चाहेको उम्मेदवारलाई स्वतन्त्र रूपमा मतदान गर्न पाउने विश्वास बढेको छ ।
प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले पुनः मतदानको तयारी पूरा भएको बताउनुभएको छ ।

‘कसैले पनि मतदान गर्न पाइएन भन्ने अवस्था आउन दिन्नौं,’ डीएसपी सूर्यबहादुर थापाले भन्नुभएको छ, ‘पर्याप्त संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचन स्वतन्त्र र निष्पक्ष हुनेछ ।’

१० वटा मतदानस्थल र १९ वटा केन्द्र रहेको बुढीगंगामा पुनः मतदान गराउन ९५ जना कर्मचारी खटिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

१० वडा रहेको नगरपालिकाको मतदाता संख्या १२ हजार ६ सय ५९ छ । मतदानस्थल रहेका १० विद्यालयमा एक साताअघि नै बिदा दिइएको छ । मंगलबारदेखि तीन दिनसम्म नगरपालिकाका सबै विद्यालयहरू बन्द गरिएका छन् ।

यसअघिको निर्वाचनका क्रममा गम्भीर सुरक्षा लापरबाही गरेको भन्दै निर्वाचन आयोगको निर्देशनमा गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहित प्रहरी र सशस्त्रका प्रमुखहरूलाई हटाएर नयाँ अधिकारीहरू पठाएको छ ।

नगरप्रमुखमा एमालेबाट रामबहादुर बानियाँ र कांग्रेसबाट रंगबहादुर खाती प्रमुख पदका उम्मेदवार हुनुहुन्छ ।

Share Now

Leave a comment.