Prakash Adhikari July 16, 2022

ग्लास्गो( स्कटल्याण्ड), ३२ आषाढ । नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी विश्व क्रिकेट लिग टू अन्तर्गत स्कटल्यान्ड सिरिजको तेस्रो खेलमा नामिबियासँग ६३ रनले पराजित भएको छ ।

अएरस्थित कम्बसदुन न्यू ग्राउन्डमा नामिबियाले दिएको २ सय रनको लक्ष्य पछ्याएको नेपालले ३७ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १ सय ३६ रन बनायो । आजको खेलमा पनि नेपालको ब्याटिड. सुध्रिएन ।

नेपालका लागि दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ३८ रनको योगदान गरे । त्यस्तै आसिफ शेखले ३४ रन बनाउँदा आदिल अन्सारीले २० तथा रोहित पौडेलले १७ रनको योगदान गरे । खेलमा पवन सर्राफले १०,आरिफ शेखले ४, सोमपाल र देव खनालले एक एक रन लिए भने ओपनर कुशल भुर्तेल, क्याप्टेन सन्दीप लामिछाने र वशिर अहमदले खाता खोल्न सकेकनन् ।

नेपाललाई रोक्न बलिङतर्फ नामिबियाका लागि ब्रेनाड स्कोल्टले सर्वाधिक पाँच विकेट लिए । त्यस्तै जान फ्रेन्कलीले तीन विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४९ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ९९ रन बनाएको थियो । नामिबियाका लागि कप्तान जेरहार्ड इरास्मसले सर्वाधिक ५३ रनको योगदान दिए । ७० बलमा उनले ४ चौका र १ छक्का प्रहार गरे ।

त्यस्तै डेभिड विसीले रन आउट हुनअघि ३४ तथा ओपनर डिभान ला कक र जेजे स्मिटले समान २७–२७ रन बनाए ।

नामिबियालाई रोक्न नेपालका लागि कप्तान सन्दीप लामिछानेले ४ तथा सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले २–२ विकेट लिए ।

यो जितसँगै नामिबिया १८ खेलबाट १८ अंक जोडेर तालिकाको पाँचौं स्थानमा उक्लेको छ । १९ खेल खेलेको नेपाल १९ अंक जोडेर तालिकाको छैटौं स्थानमा छ ।

नेपालले भोलि स्कटल्याण्डसंग सेरिजको चौथो तथा अन्तिम खेल खेल्ने छ ।

Share Now

Leave a comment.