सिंहदरबार(काठमाडौं), ४ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री मुख्य सचिव, सचिव, कर्मचारीलाई तलमाथि नगरी जवाफदेही ढंगले काम गर्न निर्देशन दिएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार आयोजित कार्यक्रममा सचिवहरुलाई सम्बोधन गर्दै उनले सो निर्देशन दिएका हुन्।
उनले मन्त्रीहरूलाई मर्यादामा बस्न पनि सुझाएका छन्। ‘मन्त्री नियुक्त हुने बित्तिकै परिवारका सदस्यहरू चलमलाउने कुरा धेरै सुनिन्छन्’, प्रधानमन्त्री ओलीले भने,‘त्यस्ता व्यवहार बन्द गर्नुहास् । तपाईंका काम माथि अनुगमन हुन्छ। त्यसमाथि अर्को अनुगमन हुन्छ। र, मैले पनि अनुगमन गरिरहेको हुन्छ । केही तलमाथि भेटिए ऐया आत्थु भन्ने मौका पाउनुहुने छैन।’
ओलीले वर्तमान सरकार सबैको सुझाव लिने तर कसैको दबाबमा नपर्ने बताएका छन्। ‘सरकार सबैको सुझाव लिन्छ तर कसैको दबाबमा परेर निर्णय लिँदैन’,ओलीले भने ।
प्रधानमन्त्री ओलीले वर्तमान सरकार नेपालको पहिचान बदल्ने लक्ष्यमा रहेकोले यसका लागि नीति निर्माण तहमा बस्नेहरूको सोचाइ पनि परिवर्तन हुनुपर्ने बताए ।
‘हामीले अब पनि परम्परागत मानसिकता नै राखेर काम गर्यौं भने देश बन्दैन’ प्रधानमन्त्री ओलीले भने ‘ यो असधारण दायित्व बोकेको सरकार हो।’
‘हामी नेपाललाई मगन्ते रहित बनाउन चाहन्छौं’ प्रधानमन्त्री ओलीले भने, ‘सडकमा मागेर दिन कटाउनेहरूले अब रोजगारी गरेर आफ्ना परिवार पाल्ने अवसर पाउने छन्।’
सरकारको मुल लक्ष्य समृद्ध नेपाल,सुखी नेपाली भएकोले त्यसै आधारमा सम्पूर्ण संरचनाहरू परिचालन गर्न प्रधानमन्त्री ओलीले मन्त्री तथा सचिवहरूलाई निर्देशन दिएका छन्।
‘सरकारको यो लक्ष्य हासिल गर्न सबैले योजनाबद्ध ढंगले काम गर्नुपर्छ। उपलब्धि देखिने गरी काम गर्नुपर्छ,’ प्रधानम्नत्ती ओलीले भने।