Prakash Adhikari July 19, 2022

 

काठमाडौं, ३ श्रावण । नेपाल क्रिकेट संघको आयोजनामा हुन लागेको नेपालको पहिलो राष्ट्रिय क्रिकेट लिग नेपाल टी २० लिगमा अन्तराष्ट्रिय चासो बढ्दै गएको छ । लिगमा प्रतिस्पर्धा गर्ने नेपाली फ्रेञ्चाइजमाथि लगानी गर्न विदेशी स्पोन्सरहरुले चासो राख्न थालेका छन् ।

आगामी असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुने पहिलो संस्करणको नेपाल ट्वान्टी–२० लिग क्रिकेट प्रतियोगितामा भारतीय स्वामित्वका दुई कम्पनीले नेपाली फ्रेन्चाइजलाई खरिद गरिसकेका छन् ।

नेपाल क्रिकेट संघ(क्यान)ले दिएको जानकारी अनुसार राजस्थानको गोल्ड स्पोर्टस् प्राइभेट लिमिटेडले जनकपुर रोयल्सलाई किनेको छ सन् २०१६ देखि नै खेलकुद क्षेत्रमा काम गर्दै आएको यो कम्पनीको संंलग्नताले जनकपुर रोयल्सलाई ठूलो राहत हुने छ । उसले नेपालका पनि शीर्षस्थानका क्रिकेटरलाई आकर्षक पारिश्रमिक दिएर अनुबन्ध गर्ने स्थिति बलियो हुने छ भने विश्वका चर्चित खेलाडीलाई ल्याउने संभावना पनि बढ्ने छ ।

नेपाली उद्योगपति र व्यापारीकै भर गर्दा अन्तर्राष्ट्रिय खेलाडी तर्फ राष्ट्रिय टिममा समेत नअटाएका खेलाडी खोज्दै हिड्नुपर्ने बाध्यता आउथ्यो ।अब अन्तर्राष्ट्रिय स्तरमा खेलाडीहरु प्रतिस्पर्धामा हायर गर्नसक्ने हैसियत नेपाल प्रिमियम लिगका खेलाडीहरुले लिनेछन् ।

यसै क्रममा अर्को भारतीय कम्पनी डाइमन्ड डिजिक्याप स्पोर्ट्स प्रालिले विराटनगर सुपर किङ्सलाई खरिद गरेको बताइएको छ । डाइमन्ड डिजिक्याप भन्ने कम्पनी भारतमा सुन र हीराको व्यापार गर्दै आएको कम्पनी हो । यी दुवै कम्पनीले नेपालको क्रिकेट विकासलाई सघाउने उद्देश्यले नेपाल प्रिमियम लिग ट्वान्टी–२० को हिस्सा बनेको जनाएका छन् ।

अमेरिकामा व्यावसायिक क्रिकेट लिग खेल्दै आएको अल स्टार स्पोर्ट्सले लुम्बिनी अल स्टार्स खरिद ग¥यो ।

टेक्सासमा रहेको अल स्टारले पनि अमेरिकामा क्रिकेट खेल्दै आएको छ । केही महिना अगाडि मात्र नेपाली क्रिकेट टोलीले अमेरिका भ्रमण गर्दा अल स्टारसँग अभ्यास खेल खेलेको थियो ।

चौथो टिमकान्तिपुर क्यापिटल्सलाई कान्तिपुर मिडिया ग्रुपले खरिद गरेको छ ।

सोमबार एक कार्यक्रमबीच यी चारै टोलीका मालिक पनि सार्वजनिक गरिएको थियो । सबैले नेपालमा क्रिकेट खेल निकै लोकप्रिय रहेको र यो फ्रेन्चाइज लिगले नेपालको क्रिकेटलाई राम्रो उचाइमा पु¥याउने विश्वाससमेत व्यक्त गरेका छन् ।

नेपाल ट्वान्टी–२० क्रिकेट लिग पनि भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सले नै रणनीति र कमर्सियल साझेदारीको अधिकार पाएको छ ।

क्यानले लिगको कमर्सियल साझेदारी सेभेन थ्री स्पोर्ट्स कम्पनीलाई ८ वर्षसम्मका लागि दिएको छ ।

संझौता अनुसार सेभेन थ्री स्पोर्ट्सले वार्षिक ४ करोड १२ लाख ५० हजार क्यानलाई उपलब्ध गराउनेछ ।

डबल राउन्ड लिगका आधारमा खेलाइने लिगमा पहिलो वर्ष ६ फ्रेन्चाइज टोली सहभागी गराइने यसअघि नै क्यानले स्पष्ट पारिसकेको छ ।

यस लिगमा ‘ए’ श्रेणीमा रहेका खेलाडीले कम्तीमा १५ लाख, ‘बी’ मा रहनेले १० लाख र ‘सी’ श्रेणीमा रहने खेलाडीले ५ लाख रुपैयाँ पारिश्रमिक पाउने भएका छन् ।

क्यानका सचिव प्रशान्त मल्लले टिमहरुबीच भएको संझौताले कुन टोलीले कति मूल्यमा फ्रेन्चाइज खरिद गरे भन्ने चाहिँ खुलाउन मिल्दैन । अब फार वेस्टर्न र पोखराका लागि पनि टोली घोषणा हुन बाँकी छ । ती टोलीमा पनि विदेशी क्रिकेटप्रेमीहरुको चासो बढेको छ ।

नेपाल टी २० क्रिकेट लिग को रणनीतिका र कमर्सियल साझेदारीको जिम्मेवारी पाएको सेभेन थ्री स्पोट्र्सका चेयरमेन जतिन आलुहबालियाले क्यानको शिर निहुराउने किसिमको काम नगर्ने उल्लेख गर्दै यस ट्वान्टी–२० लिगबाट नेपालको क्रिकेट अर्को उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले निर्वाचित भएलगत्तै नेपाल प्रिमियर लिग गर्ने आफ्नो योजना महामारी र अन्य कारणले सम्भव हुन नसकेको बताउनुभएको छ ।

उहाँले नेपाल प्रिमियर लिगको अधिकार पहिल्यै अरु कसैले आफ्नो नाममा दर्ता गराएकाले क्यानले आफ्नो पूर्वनिर्धारित योजना अगाडि बढाउन नपाएको गुनासो गर्नुभयो ।

‘निर्वाचित भएलगत्तै हाम्रो नेतृत्वले नेपाल प्रिमियर लिग गर्ने योजना सार्वजनिक गरेको थियौं । तर, महामारी र अन्य कारणले हुन सकेन । केही व्यक्तिले नेपाल प्रिमियर लिगको राइट दर्ता गरेकाले हाम्रो योजनाले सार्थकता पाउन सकेनन् । अब नेपाल ट्वान्टी–२० लिगबाट नेपालको क्रिकेटलाई नयाँ उचाइमा पुग्ने विश्वास लिएको छु,’ चन्दले भन्नुभयो ।

फ्रेन्चाइज टोली घोषणा कार्यक्रममा भारतीय क्रिकेटर्स एसोसिएसनका अध्यक्ष अशोक मलहोत्राले नेपाली क्रिकेटको भविष्य उज्ज्वल रहेको बताउनुभयो । मलहोत्राले भारतीय क्रिकेट टिमका पूर्वप्रशिक्षक तथा छनोटकर्ताको जिम्मेवारी सम्हालिसक्नुभएको छ ।

Share Now

Leave a comment.