Prakash Adhikari July 20, 2022

 

काठमाडौं, ४ श्रावण। आर्थिक वर्ष २०७८ ।७९ मा सबैभन्दा धेरै कर तिर्ने कम्पनीमा पूर्वराजा ज्ञानेन्द्रको लगानी रहेको सूर्य नेपाल प्रालि परेको छ।

सूर्य चुरोट, तीर सलाई, चकलेट र धूप उत्पादन तथा वितरण गर्ने सूर्य नेपालले गत आर्थिक बर्षमा सरकारलाई १० अर्ब ७२ करोड कर दाखिला गरेको थियो । कम्पनीको सिमरा र तनहुँमा चुरोटको दुई वटा उद्योग छ।

यो रकममा मूल्य अभिवृद्धि कर (भ्याट) र आयकरलगायत शीर्षकका कर समावेश छन्।

अघिल्लो वर्ष पनि सूर्य नेपालले ९ अर्ब ३४ करोड कर दाखिला गर्दै आफूलाई करदाताको पहिलो नम्बरमा राखेको थियो। यो बर्ष कोरोना संकटबाट मुक्त भएर व्यवसाय गर्न पाएकोले कम्पनीको कारोबारमा विस्तार भई पहिलेभन्दा १ अर्ब ३८ करोड धेरै कर दाखिला गरेको हो।

कम्पनीले विभिन्न ब्राण्डमा वार्षिक ३ अर्ब खिल्ली चुरोट उत्पादन र बिक्री वितरण गर्दै आएको छ। कम्पनीमा आइटीसी इन्डियाको ५९ प्रतिशत, नेपाली लगानीकर्ताको ३९ प्रतिशत र ब्रिटिस अमेरिकन टोब्याको (इन्भेष्टमेन्ट) लिमिटेड युकेको दुई प्रतिशत सेयर छ। सन् १९८६ मा स्थापना भएको यो कम्पनी धेरै कर तिर्ने सूचीको शीर्ष १० भित्र सधैं पर्दै आएको छ।

यसैगरी धेरै कर तिर्ने दोस्रो नम्बरमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (एनटीसी) रहेको छ। यो कम्पनीले ९ अर्ब ७२ करोड कर दाखिला गर्दै धेरै कर तिर्नेमा दोस्रो नम्बरमा परेको हो।

अघिल्लो वर्ष यो कम्पनीले ९ अर्ब कर दाखिला गरेको थियो। यो वर्ष अघिल्लो वर्षको तुलनामा ८२ करोड धेरै कर तिरेको हो।

निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेल आजियाटा लिमिटेडले गत वर्ष ७ अर्ब ५९ करोड राजस्व तिर्दै तेस्रो स्थानमा कायम गरेको छ। अर्थ मन्त्रालयका अनुसार, कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा ४१ करोड कम राजस्व तिरेको हो। पछिल्लो समयमा सामाजिक संजाल (ओटिटी) को बढ्दो प्रयोगले कम्पनीको भ्वाइसको व्यापार लगातार घट्दा नाफामै प्रभाव परेको छ।

यसैगरी धेरै कर तिर्ने चौथो नम्बरमा गोर्खा ब्रुअरी रहेको छ। नेपालमा सबैभन्दा धेरै बियर बिक्री गर्ने कम्पनीमा पर्छ। यो कम्पनीको गोर्खा, काल्सबर्ग, सान मिगल, सोमर्बी र टुबोर्ग बियर उत्पादन र बिक्री गर्दै आएको छ।

कम्पनीले गत वर्ष ५ अर्ब ६९ करोड कर तिरेको छ। अघिल्लो वर्ष यो कम्पनीले ४ अर्ब २४ करोड राजस्व तिर्दै चौथो नम्बरमा नै रहेको थियो।

विद्युत प्राधिकरणले गत वर्ष ३ अर्ब ९५ करोड कर दाखिला गर्दै पाँचौं स्थानमा परेको छ। सरकारी कम्पनी र निजी क्षेत्रको कम्पनीबाट उत्पादित विद्युत खरिद बिक्री गर्दै आएको प्राधिकरणले नाफा गरेको र अन्य शीर्षक गरी सो बराबर कर दाखिला गरेको हो। विद्युत प्राधिकरणले अघिल्लो वर्ष २ अर्ब ९० करोड राजस्व तिरेर ८ औ स्थान सुरक्षित गरेको थियो।

निजी क्षेत्रबाट संचालित एनआइसी एसिया बैंक धेरै कर तिर्नेमा छैठौंं नम्बरमा परेको छ। एनआईसी एशियाले यो बर्ष बैंकले ३ अर्ब ४१ करोड कर दाखिला गर्दै धेरै कर तिर्नेमा सूचिकृत भएको हो एनआईसी एशियाले अघिल्लो वर्ष ३ अर्ब ६१ करोड कर दाखिला गरेको थियो।

नबिल बैंकले वितेको आर्थिक बर्षमा ३ अर्ब ३२ करोड कर दाखिला गरेको छ । कम्पनी धेरै कर तिर्नेको सातौं नम्बरमा परेको छ। अघिल्लो वर्ष यो बैंकले ३ अर्ब ९७ करोड कर तिर्दैं बैंकिङ क्षेत्रभध्ये धेरै कर तिर्नेको पहिलो नम्बरमा परेको थियो।

यस्तै आठौं स्थानमा ग्लोबल आइएमई बैंक परेको छ। यो बैंकले गत वर्ष ३ अर्ब २१ करोड राजस्व तिरेको छ। सिद्धार्थ बैंक पनि धेरै कर तिर्नेको नवौं नम्बरमा परेको छ। दशौं नम्बरमा भने राष्ट्रिय वाणिज्य बैंक लिमिटेड रहेको छ।

 

Share Now

Leave a comment.