Prakash Adhikari July 27, 2022

काठमाडौं, ११ श्रावण । साफ यू–२० च्याम्पियनसिपको दोस्रो खेलमा आज नेपाली टोली श्रीलङ्कासँग प्रतिस्पर्धा गर्दैछ ।

भारतको भुवनेश्वरमा सोमबारदेखि सुरु भएको च्याम्पियनसिपको पहिलो खेलमा नेपालले माल्दिभ्समाथि ४–० ले शानदार विजय हासिल गरेको थियो ।

नेपाली युवा टोली आज लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ ।

नेपाली टोलीका प्रशिक्षक मेघराज केसीले पहिलो जितले खेलाडीमा हौसला मिलेको बताउनुभएको छ ।

हामी राम्रो तयारी गरेर भारत आएका छौं । हरेक खेलमा राम्रो गर्दै उपाधि जित्न चाहन्छौं,’ माल्दिभ्ससँगको खेलपछि केसीले भन्नुभएको छ ।

केसीले श्रीलङ्कासँग आत्मविश्वासका साथ जितका लागि खेल्ने पनि बताउनुभएको छ ।

प्रतियोगितामा आयोजक भारतसहित नेपाल, माल्दिभ्स, श्रीलङ्का र बङ्गलादेश सहभागी छन् । च्याम्पियनसिपमा नेपालले तेस्रो खेल आइतबार भारतसँग र चौथो खेल आउने मङ्गलबार बङ्गलादेशसँग खेल्नेछ ।

राउन्ड रोबिन लिगमा आधारमा खेलाईएको च्याम्पियनसिपको शीर्ष दुई टोलीबीच साउन २० गते उपाधिको लागि भिडन्त हुनेछ ।

साफ यू–२० च्याम्पियनसिप पहिलो पटक आयोजना भएको हो । साफले यस च्याम्पियनसिपलाई एएफसी यू–२० एसियन कप छनोट फुटबलको तयारी प्रतियोगिताको रुपमा पनि लिएको छ ।

नेपाल एसियन कप छनोटको समूह ‘बी’ मा परेको छ ।

नेपालको समूहमा कतार, बहराइन, भुटान र बङ्गलादेश छन् ।

छनोट खेल सेप्टेम्बर १० देखि १८ सम्म बहराइनमा हुनेछ ।

समूह विजेता टोलीले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू–२० एसियन कपमा छनोट हुनेछन् ।

Share Now

Leave a comment.