काठमाडौं, १३ श्रावण । अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लूले आज प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई अलग अलग भेट गर्नुहुने भएको छ ।
सहायक विदेश मन्त्री लू भारत हुँदै बिहिबार राजधानी काठमाडौं उत्रिनुभएको हो ।
उहाँले नेपालमा रहदा नेपाल अमेरिका सम्बन्ध सुधारका विविध पक्षमा सरकारी अधिकारीहरुसंग छलफल गर्नुका साथै एक गैरसरकारी संस्थालाई पुरस्कृत गर्ने कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।
नेपालमा लूका कार्यक्रम
गत नोभेम्बरमा दुईदिने काठमाडौंको भ्रमण गर्नुभएका लूले यस पटकको आफ्नो भ्रमणमा सरकारी अधिकारीहरूबाहेक नागरिक समाज र व्यावसायिक सामुदायसँग पनि भेटवार्ता गर्ने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ।
ती भेटवार्तामा नेपाल र अमेरिकाबीच ७५ वर्षको अवधिमा साझेदारी भएका व्यापक विषयहरूमा छलफल हुने जनाइएको छ।
उहाँले सीमान्तकृत व्यक्तिहरू र शोषणबाट ज्यान जोगाएकाहरूले स्थापना गरेको एउटा उत्पादन कम्पनी पूर्णालाई यसै वर्ष अमेरिकी विदेशमन्त्रीको तर्फबाट दिइएको कर्पोरेट एक्सिलन्स अवार्ड हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ।

लू भारत हुँदै काठमाडौं आइपुग्नुभएको हो।
गत फेब्रुअरीमा संसद्ले एमसीसी अनुदान अनुमोदन गर्नुअघि उहाँले प्रधानमन्त्री देउवासहित नेपालका शीर्ष नेताहरूसँग टेलिफोन कुराकानी गरी त्यसलाई पारित गराउन पैरवी गर्नुभएको थियो।
त्यसबेला उहाँले नेताहरूलाई भ्रष्टाचार र बाह्य दबावले नेपालले एमसीसीबारे लिने निर्णयलाई प्रभावित तुल्याए त्यसले नेपाल अमेरिका सम्बन्धमा प्रभाव पार्ने चेतावनी दिनुभएको थियो।
प्रधानमन्त्रीको भ्रमण गराउने इरादा
संयुक्त राज्य अमेरिकाले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई साढे तीन महिनाअघि वाशिङ्टन डीसी भ्रमणको निम्तो दिइएको र उक्त आमन्त्रण अझै कायम रहेको जनाएको छ।
दक्षिण तथा मध्यएशिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू दुईदिने नेपाल भ्रमणमा काठमाडौं आइपुगेकै दिन अमेरिकी अधिकारीको यो भनाइ आएको हो।
यसअघि नेपालको परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण अपेक्षित भएको भए पनि मिति तय नभएको सार्वजनिक रूपमा बताएको थियो।
नेपाल आइपुगेका अमेरिकी सहायक विदेशमन्त्री लूले प्रधानमन्त्रीको सम्भावित अमेरिका भ्रमणसहितका द्विपक्षीय सम्बन्धमा हालैका समयमा देखिएका स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) सहितका विषयबारे छलफल गर्ने ठानिएको छ।
काठमाडौंस्थित अमेरिकी राजदूतावासका प्रेस तथा सांस्कृतिक शाखा प्रमुख ग्यारेट विल्करका अनुसार प्रधानमन्त्री देउवालाई अमेरिकाले यो वर्षको एप्रिल ८ मा वाशिङ्टन डीसी भ्रमणको लागि आमन्त्रण हस्तान्तरण गरेको थियो।
विल्करले बीबीसीलाई इमेलमा भन्नुभएको छ, “..तर अहिलेसम्म समय तालिकासम्बन्धी विषयले गर्दा कुनै पनि कुरा निश्चित हुन सकेको छैन। प्रधानमन्त्री देउवालाई संयुक्त राज्य अमेरिकाले दिएको आमन्त्रण खुला नै रहेको छ।”
उहाँले भन्नुभयो , “हामी दुवै देशलाई अनुकूल हुने मितिमा भविष्यमा यो भ्रमण हुने अपेक्षा गर्छौँ।”
नेपाल र अमेरिकाले यो वर्ष दुई देशबीचको कूटनीतिक सम्बन्ध कायम भएको ७५औँ वार्षिकोत्सव मनाइरहेका छन्।
सहायक विदेशमन्त्री लूले दक्षिण एशियासम्बन्धी अमेरिकी विदेश नीति हेर्ने जिम्मेवारी पाउनुभएको छ
पछिल्ला महिनाहरूमा अमेरिकी उच्च अधिकारी र त्यहाँको संसदीय प्रतिनिधिमण्डलले काठमाडौंको भ्रमण गरेका छन्।
गत फेब्रुअरीमा नेपालको संसद्ले हालसम्मकै सबैभन्दा ठूलो वैदेशिक अनुदान स्वीकार गर्ने क्रममा अमेरिकाले दिने भनेको करिव ६० अर्ब रुपैयाँ बराबरको मिलेनीअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सहायतालाई स्वीकार गर्ने निर्णय गरेको थियो।
त्यसयता प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणको तयारीहरू चलिरहेको नेपाली अधिकारीहरूले बताउँदै आएका छन्।
जुलाई महिनाको सुरुमा परराष्ट्र मन्त्रालयकी प्रवक्ताले प्रधानमन्त्रीको अमेरिका भ्रमण अपेक्षित रहेको बताएको भए पनि पछिल्ला दिनमा सत्ता गठबन्धनका कतिपय नेताहरूले उक्त भ्रमण रद्द भएको बताउनुभएको थियो।
दुई सातापहिले पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एसपीपी अघि नबढाउने निर्णय गरेकै कारण प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द भएको बताउनुभएको थियो।
अघिल्लो साता मात्रै पूर्वपरराष्ट्रमन्त्री तथा सङ्घीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आन्तरिक कारणले गर्दा सत्ता गठबन्धनले प्रधानमन्त्रीलाई अमेरिकाको भ्रमण नगर्न सुझाव दिएको बताएका थिए।
बिहीवार नेपाल आइपुगेका लूले शुक्रवार प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई भेट्ने कार्यक्रम छ।
एसपीपी विवाद र अमेरिकी सहायक विदेशमन्त्रीको भ्रमण
नेपाल सरकारले एसपीपी अघि नबढाउने निर्णय लिएपछि काठमाडौंको भ्रमण गर्ने उहाँ सबैभन्दा वरिष्ठ अमेरिकी अधिकारी हुनुहुन्छ।
एसपीपीलाई अघि नबढाउने नेपालको कदमको अमेरिकाको रणनीतिक प्रतिद्वन्द्वी चीनले सार्वजनिक रूपमा स्वागत गरेको थियो।
नेपालमा चाहिँ मन्त्रिपरिषद्ले असार ६ गते एसपीपी अघि नबढाउने भनेर गरेको निर्णय अमेरिकालाई जानकारी गराउन पत्राचार गर्नुपर्ने आवाज उठिरहेको छ।
संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बुधवार एसपीपी सम्झौताबाट अलग हुन अमेरिकालाई हालसम्म पत्रचार नगरेको विषयमा परराष्ट्रमन्त्रीसहितलाई बोलाएर छलफल गर्ने निर्णय गरेको थियो।
परराष्ट्र मामिलाका जानकारहरूले एसपीपीसम्बन्धी निर्णय र प्रधानमन्त्रीको अमेरिका भ्रमणका बारेमा नेपाललाई सन्देश दिन लू काठमाडौं आएको हुनसक्ने बताएका छन्।
प्रधानमन्त्री देउवाका पूर्वपरराष्ट्र मामिला सल्लाहकार डा. दिनेश भट्टराई भन्नुहुन्छ, “सञ्चारमाध्यमहरू हेर्दा मलाई यो अलिकति अपर्झटको भ्रमण हो जस्तो लाग्छ। प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई उहाँले भेटेपछि उहाँले ल्याउनुभएको सन्देश थाहा होला।”
“अमेरिकाले हामीलाई कसैले अनुरोध गर्यो भने नत्र ठिकै छ, यो लिनु वा नलिनु राज्यको सार्वभौम अधिकार हो पनि भनिरहेको छ। त्यो सन्दर्भमा उहाँ आइरहँदा के सन्देश लिएर आउनुभयो भन्ने चासो रहनु स्वाभाविक हो”, उहाँले बीबीसीसँग भन्नुभएको छ।

प्यासिफिक कमान्डिङ जेनरल चार्ल्स ए फ्लिन केही समय पहिले नेपाल भ्रमणमा आउनुभएको थियो ।
“प्रधानमन्त्रीको अमेरिका भ्रमणलाई सम्भावित भनिएको छ। अहिले दुवै देशको कूटनीतिक सम्बन्ध कायम भएको ७५औँ वर्ष पनि हो। यस्तो बेलामा उच्चतम तहमा भ्रमणको आदानप्रदान होस् भन्ने पनि हुन्छ। हाम्रो तर्फबाट मात्रै नभएर अमेरिकी राष्ट्रपतिले दक्षिण एशियाको भ्रमण गर्दा नेपाल पनि आइदिऊन् भन्ने अपेक्षा गर्नु स्वाभाविक नै हुन्छ। समय र सन्दर्भले गर्दा यस्तो भएको हो।”
यसअघि नेपालमा माओवादी द्वन्द्व उत्कर्षमा रहेको समयमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ह्वाइट हाउसको भ्रमण गरी अमेरिकी राष्ट्रपतिलाई भेट्नुभएको थियो।
त्यस बेला राष्ट्रपति बुशले ‘आतङ्कवादविरुद्धको युद्ध’ अन्तर्गत नेपालका माओवादीविरुद्धको लडाइँमा आफ्नो समर्थन रहने प्रतिबद्धता जनाउनुभएको थियो।
त्यसपछिका नेपालका सरकार प्रमुखहरूले संयुक्त राष्ट्रसङ्घको महासभाको अवसर पारेर दिइने रात्रिभोज र विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा अमेरिकी राष्ट्रपतिसँग सङ्क्षिप्त भेटघाटको मात्रै अवसर पाएका छन्।(स्रोतःबीबीसी)



















