Prakash Adhikari August 6, 2022

 

इस्मत अरा
मधुवनी(बिहार,भारत), २१ श्रावण । चर्को गर्मीमा भारतको पूर्वी राज्य बिहारस्थित मधुवनी जिल्लामा एक व्यक्ति बेचैन मुद्रामा कुनामा उभिएका छन्। गुलाबी कमिज र कालो सुरुवाल लगाएका उनी पर्खिरहेका छन्। उनका लागि यो खास दिन हो।

आफ्नो घर बेगुसरायबाट मधुवनीसम्म एक सय किलोमिटर यात्रा गरेर यहाँ आइपुगेका हुन् ३५ वर्षीय निर्भयचन्द्र झा। आफूलाई सुहाउँदो बेहुली फेला पर्ने आशामा यहाँ आयोजित सौराठ सभा अर्थात् वार्षिक रुपमा आयोजना हुने ‘बेहुला बजार’ मा उनी आएका छन्।

अब कुनै पनि क्षण बेहुलीको परिवार आएर उनलाई रोज्न सक्छन् र दाइजोको मोलमोलाइ सुरु हुन सक्छ। यी हुनेवाला बेहुला निकै सस्तो अर्थात् ५० हजार भारतीय रुपैयाँ दाइजोको मोलसहित उभिएका छन्।

‘अलि कम उमेर भएको भए मैले सजिलै दुईतीन लाख रुपैयाँ माग्न सक्थेँ,’ उनले भने।

निर्भय मैथिल ब्राह्मण हुन्। यो बिहारको मिथिलाञ्चल क्षेत्रमा बसोबास गर्ने हिन्दु ब्राह्मणहरुको एक उपजाति हो।

हिन्दुहरुमा सगोत्री विवाह वर्जित छ। तर, विवाह एउटै जातीय समूहभित्र गर्न प्रेरित गरिन्छ। त्यसैले यस्ता विवाहको चाँजो धेरैजसो परिवारले नै मिलाउँछ।

निर्भय एक कारखानामा म्यानेजरका रुपमा कार्यरत छन्। उनको कमाइ नियमित छ। त्यसैले आफू बेहुलाका रुपमा राम्रो रोजाइ भएको उनको विश्वास छ।

भारतमा दाइजो गैरकानुनी छ। तर, बिहार र उत्तर प्रदेशजस्ता राज्यमा यसलाई सामाजिक रुपमा सहर्ष स्वीकारिन्छ। विज्ञहरुका अनुसार भारतमा दाइजोमा मात्र वार्षिक ५ अर्ब डलर तिरिन्छ। जुन भारतले एक वर्षमा जनस्वास्थ्यका क्षेत्रमा गर्ने खर्च बराबर हो।

नजिकै करिब २० जना जति लोग्नेमान्छे रुखमुनि बसेका छन्। शान्तिपूर्वक बसेर उनीहरु यसपालिको सौराठ सभामा आएका बेहुलाहरुका बारेमा चर्चा गरिरहेका छन्। उनीहरुका अनुसार यो विश्वकै पुरानोमध्येको एक वैवाहिक केन्द्र हो।

यसरी जोडी बाँध्ने परम्परा भारतबाट लगभग हराइसकेको छ। तथापि बिहारको मिथिलाञ्चलमा पर्ने मधुवनीमा यो चलन अझै पनि जीवित छ।

निर्भयचन्द्र झा

‘दुलाहा बजार’
स्थानीयका अनुसार यो सात सय वर्ष अघिदेखि चलिरहेको परम्परा हो। बेहुला बन्न चाहनेहरु सौराठ सभामा गएर सार्वजनिक रुपमा उभिन्छन्। त्यसपछि केटीका बुबा वा दाइजस्ता पुरुष अभिभावक त्यहाँ आउँछन् र उनीहरुले बेहुला रोज्छन्। यो प्रक्रियामा सामान्यतः बेहुलीले केही बोल्दैनन्।

‘यो बेहुलीको परिवारले तोकिएको दाइजो तिरेर बेहुला किनेजस्तै हो। यो बेहुला बजारजस्तै हो,’ नजिकैको गाउँमा बस्ने एक व्यक्ति भने।

मैथिल ब्राह्मणहरुका लागि भने यो पवित्र कार्य हो।

स्थानीयहरुका अनुसार छोरीको विवाह गर्न चाहने परिवार गुपचुप यो भेलामा आउँछन् र टाढैबाट बेहुलाहरुलाई नियाल्छन्। जब उनीहरुले बेहुला रोजिसक्छन् तब गएर रातो गम्छा बेहुलाको काँधमा राखिदिन्छन्। यो बेहुला रोजेको सार्वजनिक घोषणा हो।

‘बसको सिटमा रुमाल राखेजस्तै हो यो,’ मधुवनीका ज्योतिरमन झा भन्छन्, ‘जो पहिले आयो, उसैले रोज्न पायो।’

सभामा मानिसहरुको उपस्थिति पातलो थियो। अर्थात् यो परम्परा हराउँदै गएको छ। तर, जोडी खोज्न नसकिरहेका मानिसहरु अझै यहाँ आउने गर्छन्।

पहिलेपहिले बेहुलाका लागि खुल्लमखुला दाम बढाबढ हुने गरेको केहीले बताए। बेहुलाको पेसा जति गतिलो भयो, दाइजोको माग उति नै उच्च हुने गर्थ्यो। इन्जिनियर, डाक्टर र सरकारी जागिरेहरुको माग सबैभन्दा उच्च हुन्थ्यो।

तर, अहिले यहाँ उभिइरहेका बेहुलाहरु धेरैजसो गाउँका देखिन्छन्। जसले यो परम्परालाई जीवित राख्न खास चासो दिएका छन्। तर, त्यो काम सजिलो छैन।

आर्थिक उन्नति र सहरमा बसाइँ सर्ने चलनले थुप्रै भारतीयहरु आफ्नो जन्मभूमिबाट अलग भएका छन्। अचेल आफ्ना छोराछोरीको वैवाहिक रोजाइमा बाबुआमाको नियन्त्रण पनि कम हुँदै गएको छ। सस्तो इन्टरनेटका कारण विवाहको चाँजो अनलाइनमार्फत हुन थालेको छ। विश्वकै ठूलामध्ये केही विवाह गराउने वेबसाइट भारतमै छन्।

तर, सौराठ सभा परम्परागत विवाहको अवशेष हो, जसलाई प्रविधिको विकासले प्रदुषित तुल्याएको छैन।

यो कार्यक्रम गाउँको पोखरीको छेउमा आयोजना गरिन्छ। जहाँ पिपल, वर र आँपका दर्जनौँ रुख छन्। एउटा ठूलो तर उपयोगविहीन इनार छ। जसमा भर्खरै भारतको झण्डा पोतिएको छ। पोखरीनजिकै प्राचीन मन्दिर छ।

एउटा चम्किलो पहेँलो ब्यानरले आगन्तुकलाई स्वागत गर्छ, जसमा रातो अक्षरमा ‘सौराठ सभा’ लेखिएको छ। किंवदन्तीअनुसार यो ठाउँमा एक लाख ब्राह्मण भेला हुँदा त्यो पुरानो पिपलको रुखबाट सबै पात झर्थे।

‘पहिले यो सभामा मान्छे ओसार्न राज्यभरबाट बस आउने गर्थ्यो,’ ५० वर्षीय स्वराज चौधरीले भने, ‘अहिले मुस्किलले केही सय बेहुला भेला हुन्छन्।’

दाइजोको समस्या
सौराठ सभामा मानिसहरुको उपस्थिति कम हुँदै जानुमा सञ्चारमाध्यम र राजनीतिकर्मीलाई दोष दिन्छन् सभाका एक आयोजक शेखरचन्द्र मिश्रा।

‘सञ्चारमाध्यमले हाम्रो सभालाई त्यस्तो बजारका रुपमा चित्रित गरे, जहाँ बेहुलाहरुलाई गाईवस्तुजसरी बेचिन्छ। ‘दुल्हा बजार’ जस्ता पदावली प्रचलित भए,’ उनले भने।

तर, यो सभाले शताब्दियौँदेखि खुल्लमखुला दाइजो लेनदेनलाई बढावा दिएको भने उनले स्वीकारे।

‘आजभोलि दाइजोलाई राम्रो नजरले हेरिँदैन। तर, लुकाएर लेनदेन हुन्छ,’ उनी भन्छन्, ‘यदि बाबुआमाले आफ्नो छोरालाई इन्जिनियर वा डाक्टर बनाउन पैसा लगानी गरेका छन् भने त्यो लगानी उनीहरुले उठाउन खोज्छन्। त्यसो गर्ने एउटा उपाय दाइजो हो।’

बिहारमा दाइजो ठूलो समस्या हो। सरकारले दाइजोविरोधी अभियान चलाए पनि दाइजोसँग सम्बन्धित हत्या व्यापक मात्रामा हुने गरेका छन्। २०२० मा बिहारमा दाइजोका कारणले १ हजार जनाको मृत्यु भयो।

पछिल्लो समय बिहार सरकारले मानिसहरुलाई विवाहको निम्ता कार्डमै दाइजोविरोधी घोषणा गर्ने अभियान चलाएको छ। दाइजो प्रथा त्याग्न आह्वान गर्दै घर र कार्यालयहरुको भित्तामा नारा लेखिएका छन्।

दाइजोको समस्याले सो क्षेत्रमा ‘पकड्वा विवाह’ नामक नौलो चलन पनि जन्माएको छ। बेहुलीको परिवारले केटालाई अपहरण गरेर निधारमा बन्दुक ताकेर दाइजो नदिई यस्तो विवाह गराइन्छ। यस्ता अपहरणका घटना अझै हुने गरेका छन्।

सौराठ सभामा आएका मानिसहरुले पुराना दिन सम्झिए। उतिबेला हजारौँ बेहुलाहरु दाइजोको मोलमोलाइ भइसकेपछि रातो लुगा लगाएर विवाहका लागि तयार भई यहाँ आउने गर्थे।

‘दाइजो बिना उनीहरु विवाह गर्न तयार हुँदैनथे,’ एक व्यक्तिले भने।

बीचैमा अर्का व्यक्ति बोले, ‘दाइजोको चलन सुनेर कोही पनि चकित पर्नु पर्दैन। भारतमा दाइजो सामान्य हो। सभामा पनि त्यही देखिने त हो।’

सभामा उपस्थिति घट्नुको एउटा कारण ब्राह्मणहरुमा बढ्दो अन्तरजातीय विवाह भएको स्थानीयले बताए। जसलाई स्थानीय बोलीमा ‘उरहर शादी’ अर्थात् प्रेम विवाह भन्ने गरिन्छ।

दरभंगाका ३१ वर्षीय मनिष झाले पनि आफ्नो जातबाहिर विवाह गरेका हुन्। राजपुत कन्यासँग विवाह गर्दा उनले आफ्नै परिवार र समुदायबाट विरोधको सामना गर्नुपरेको थियो।

‘एक पटक त मलाई बन्दुक समेत ताकियो। तर म उनलाई खुब माया गर्थेँ,’ उनले भने। ज्यान मार्ने धम्कीका बीच विवाह गरेका उनीहरुको अहिले एक छोरा छन्।

‘समुदायको नयाँ पुस्ता आफ्नै जातिमा विवाह गर्नैपर्छ भन्ने मान्यता राख्दैन। जुनसुकै जात भए पनि उनीहरु आफूले माया गर्ने व्यक्तिसँग विवाह गर्न चाहन्छन्,’ उनले भने।

हराउँदो परम्परा
यति हुँदाहुँदै पनि सौराठ सभालाई मिथिलाञ्चलको सांस्कृतिक निधिका रुपमा संरक्षण गरिनुपर्ने मनिष बताउँछन्।

‘यसले गरिबहरुलाई आम्दानी गर्न पनि सघाउँछ। सभाका क्रममा थुप्रै मानिसहरुले केही महिना पुग्ने आम्दानी गर्छन्,’ उनी भन्छन्।

सुतार जातिका घनश्याम सभानजिकै चिया बेच्छन्। उनका अनुसार पहिले सभाको बेलामा पसलेहरु व्यापार बढ्ने कारणले खुसी हुन्थे।

‘तर, अहिले यहाँ आउने मानिसहरुको संख्या घटिरहेको छ। बुबाले भनेअनुसार पहिले सभाबाट ६ महिनाका लागि आम्दानी हुन्थ्यो,’ उनी भन्छन्।

सभामा आएका केहीले इन्टरनेटबाट जोडी बाँध्ने काममा आफ्नो रस नबसेको बताए।

बेहुला अमरजित पाठकका बुबा मुक्तिनाथले इन्टरनेटको माध्यमबाट भन्दा सौराठ सभाबाट छोराका लागि दुलही खोज्नु सुरक्षित हुने बताए।

‘अनलाइनबाट विवाह गर्दा सम्बन्धविच्छेदको खतरा रहन्छ। परम्परा पालना गर्दा त्यस्तो हुँदैन,’ उनले भने।

सभाका आयोजकहरु सौराठ सभा विज्ञानभन्दा निकै अगाडि भएको दाबी गर्छन्। किनभने यहाँको सबैभन्दा ठूलो नियम भनेको सगोत्री विवाह नगर्नु हो।

ज्योतिका अनुसार त्यसका लागि जोसुकै पनि पहिले पञ्जीकारसामु पुग्नुपर्छ। जसले मैथिल ब्राह्मण परिवारहरुको शताब्दियौँदेखिको अभिलेख राखेका हुन्छन्। ताकि बेहुलाबेहुलीको रक्त सम्बन्ध नरहेको सुनिश्चित होस्।

मेहेक पाण्डे र उनका भाइ

बाबुको तर्फबाट ७ र आमाको तर्फबाट ५ पुस्तासम्म बेहुलाबेहुलीबीच रक्तसम्बन्ध रहन नहुने नियम छ। पञ्जीकारले शुल्क लिएर जोडी अनुमोदन गरेपछि अभिभावकले विवाहको तयारी अघि बढाउँछन्।

त्यस्तै एक पञ्जीकार हुन् प्रमोदकुमार मिश्रा। जो पाल टाँगेर बसेका छन्। उनले पनि २००३ मा यहीँ विवाह गरेका थिए।

‘मलाई मेरी पत्नीको परिवारले रोजेको थियो। अहिले हामी खुसीपूर्वक बाँचिरहेका छौँ,’ उनी भन्छन्।

उनीहरुले मोटामोटा अभिलेख राखेका छन्, जसमा ब्राह्मण परिवारका सदस्यहरुको जन्म र मृत्यु अंकित छ। यो परम्परागत कामको माग घटेपछि अहिले उनीहरु आम्दानीको वैकल्पिक उपाय खोजिरहेका छन्। उनीहरुका छोराछोरी पनि सहरतिर जाने क्रम बढेको छ।

‘सम्भवतः हामी पञ्जीकारहरुको अन्तिम पुस्ता हौँ,’ कन्हैयाकुमार मिश्राले भने।

साँझ पर्न लागेको छ। एक महिला सभामा प्रवेश गर्छिन् र कराउँछन्, ‘मेरो भाइलाई बेहुली चाहिएको छ।’

मेहेक पाण्डे उत्तर प्रदेशदेखि आफ्नो पतिको साथमा ३३ वर्षीय भाइका लागि बेहुली खोज्न आएकी हुन्। उनका भाइ सुमितमोहन मिश्राको जुन महिनामा विवाह हुने तय भइसकेको थियो। तर, अन्तिममा बेहुलीको परिवार पछि हटेपछि उनीहरु संकटमा परे।

आफ्नो सहरमा बेहुली खोज्ने प्रयास असफल भएपछि उनीहरु बस र रेल चढेर २४ घण्टाभन्दा लामो यात्रा गरी मधुवनीको सभामा आइपुगेका थिए।

‘आजभोलि वैवाहिक एपहरुको भर छैन। विश्वास गर्नै सकिन्न,’ मेहेक भन्छिन्।

(अल जजिरा/ नेपालखबरबाट)

Share Now

Leave a comment.

Your email address will not be published. Required fields are marked*