Prakash Adhikari August 8, 2022

काठमाडौं, २३ श्रावण । आउदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको पहिलो बैठक आज बस्ने भएको छ।

कार्यदलमा जनता समाजवादी पार्टीबाट सदस्य रहनुभएका रामसहाय यादवले सोमबार अपरान्ह ३ बजे बालुवाटारमा कार्यदलको बैठक बस्ने बताउनुभयो।

‘आज कार्यदलको बैठक बस्दैछ। अब हामीले काम सुरू गर्छौं,’ यादवले भन्नुभयो।

साउन २० गते बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले चुनावमा कहाँ कुन पार्टीबाट उठ्ने भन्ने सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल गठन गरेका थियो।

उक्त कार्यदलले आज पहिलो बैठक गर्न लागेको छ। साउन २० मा सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले चुनावी तालमेल गरी जाने औपचारिक निर्णय गर्दै संयुक्त विज्ञप्ति जारी गरेका थिए। सोही दिन सिट बाँडफाँटका लागि कार्यदल बनेको थियो।

कार्यदल बैठकमा सिट बाँडफाँटका आधारलगायत विषयमा कुराकानी हुने बताइएको छ। यो कार्यदललाई साउन मसान्तभित्र सिट बाँडफाँटबारे टुंगो गर्न समय दिइएको छ।

कार्यदलमा नेपाली कांग्रेसबाट ३ जना सदस्य छन् भने अन्य चार पार्टीबाट दुईदुई जना सदस्य छन्।

यसअघि स्थानीय चुनावमा पनि सत्ता गठबन्धनले केन्द्र, प्रदेश र स्थानीय तहमा कार्यदल बनाएर सिट बाँडफाँट गरेका थिए।

 

Share Now

Leave a comment.