Prakash Adhikari August 8, 2022

काठमाडौं, २३ श्रावण । नेपाली कांग्रेसका पूर्वतथा वर्तमान पदाधिकारीहरुले सत्ता साझेदार दलहरुका बीचमा सिट बाँडफाँटका लागि गठित कार्यदलमा पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने सदस्यहरुसँग छलफल गरेका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा सिट बाँडफाँटका क्रममा पार्टीले लिने नीतिका बारेमा सरसल्लाह दिइएको जानकारी प्रवक्ता डा. प्रकाशशरण महतले बताउनुभएको छ ।

‘आजै पाँच दलीय कार्यदलको बैठक छ। तालमेलको शिलशिलामा कार्यदलका सदस्यहरुलाई पदाधिकारी र पूर्वपदाधिकारीको सल्लाह सुझाव दिनको लागि बैठक बोलाइएको हो,’ उनले भने, ‘साथीहरुले आफूलाई लागेका सल्लाह, सुझावहरु कार्यदलका सदस्यहरुलाई दिनुभएको छ।’

तर प्रवक्ता डा. महतले बैठकमा पदाधिकारी र पूर्वपदाधिकारीले कार्यदलका सदस्यहरुलाई दिएको सुझावका बारे विस्तृतमा बताउनुभएन ।

बैठकमा सहभागी नेताहरूले गठबन्धनका उम्मेदवार विजयी हुने कुरालाई केन्द्रमा राखेर व्यावहारिक‚ वैज्ञानिक र स्वभाविक प्रकृतिको चुनावी तालमेल गर्नुपर्ने राय आएको बताइएको छ ।

‘गठबन्धन गरौं तर त्यसले पार्टीभित्रको आन्तरिक एकतामा कुनै पनि किसिमको असर नपारोस्, त्यसमा बढी जोड दिएर जाऔं । अस्वभाविक देखिने गठबन्धन नगरौं । सबैलाई न्याय हुनेगरी गठनबन्धन गरौं भन्ने खालको राय आएको उपसभापति विमलेन्द्र निधिले बताउनुभएको छ ।

त्यस्तै बैठकमा पार्टीका पूर्वउपसभापति विजयकुमार गच्छदारले थारु समुदायका माग र मुद्दालाई सम्बोधन गर्दै अघि बढ्नुपर्ने बताउनुभएको थियो ।

सहमहान्त्री उमाकान्त चौधरी र महेन्द्र यादवले मधेसमा कम सिट लिने गरी गठबन्धन नगर्न सुझाव दिनुभएको थियो । बैठकमा यसअघिको निर्वाचन भन्दा यो निर्वाचनमा कांग्रेसको उपस्थिति धेरै देखिनुपर्नेमा पदाधिकारीहरुको जोड थियो ।

आजको बैठकमा पूर्वउपसभापति विमलेन्द्र निधि‚ गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, सहमहामन्त्रीहरू किशोरसिंह राठौर, भिष्मराज आङदेम्बे, जीवन परियार, महेन्द्र यादव, उमाकान्त चौधरीलगायतले आफ्नो धारणा राख्नुभएको थियो ।

पाँच दलीय गठबन्धनले केही दिनअघि सिट बाँडफाँटका लागि गठन गरेको कार्यदलमा कांग्रेसका तर्फबाट महामन्त्री गगन थापा, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला र सरकारका प्रवक्तासमेत रहेका केन्द्रीय सदस्य केन्द्रीय ज्ञानेन्द्रबहादुर कार्की सदस्य हुनुहुन्छ ।

कार्यदलमा नेकपा माओवादी केन्द्रबाट नेताहरु वर्षमान पुन र देव गुरुङ, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव वेदुराम भुसाल, जनता समाजवादी पार्टी (जसपा)बाट रकम चेम्जोङ र रामसहायप्रसाद यादव तथा राष्ट्रिय जनमोर्चाका तर्फबाट नेता हिमलाल पुरी र आनन्द शर्मा रहेका छन्।

सत्ता गठबन्धनका पाँच दलले बनाएको ११ सदस्यीय समिति कार्यदलले साउन महिनाभित्र सिट बाँडफाँटको मोडल प्रस्ताव गर्ने समयसीमा पाएको छ।

पाँच दलीय सत्ता गठबन्धनले आगामी मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँटका लागि कार्यदल गठन गरेको थियो।

 

Share Now

Leave a comment.