सानेपा(ललितपुर) ३० जेठ । गत वैशाखमा भएको स्थानीय चुनावमा पार्टीबाट उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिलाई नेपाली कांग्रेसले प्रशिक्षण दिने भएको छ।
सोमबार र मंगलबार जनप्रतिनिधिलाई प्रशिक्षण दिइने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभएको छ।
उहाँकाअनुसार सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार बिहान ११ बजे प्रशिक्षण कार्यक्रम उद्घाटन गर्नुहुने बताइएको छ।
ललितपुरको हेरिटेज गार्डेनमा प्रशिक्षण कार्यक्रम चल्नेछ।
उपसभापति पूर्णबहादुर खड्का प्रमुख रहेको कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जनप्रतिनिधिलाई प्रशिक्षण दिन लागेको हो।
स्थानीय सरकार सञ्चालनलगायत विषयमा प्रशिक्षण केन्द्रित हुनेछ। कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, गाउँरनगरका प्रमुख तथा उपप्रमुख सहभागी हुनेछन्।
कांग्रेसले गत स्थानीय चुनावमा ७५३ पालिकामध्ये ३२९ पालिका प्रमुख जितेको थियो।
यसअघि अरू दलले पनि आफ्ना पार्टीबाट उम्मेदवार भई निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिएका थिए।


















