Prakash Adhikari August 16, 2022

काठमाडौं, ३१ श्रावण। राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयकबारे आजको प्रतिनिधि सभा बैठकमा जानकारी गराइने भएको छ ।

प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ ।

बैठकमा, राष्ट्रपतिले प्रमाणित नगरीकन १५ बुँदे सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयकबारे जानकारी गराइने कार्यक्रम रहेको छ ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा नागरिकता विधेयक सन्देशसहित फिर्ता भएको सम्बन्धी राष्ट्रपति कार्यालयको पत्र जानकारी गराउने विषय उल्लेख छ ।

साउन १५ गते संघीय संसदका दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि आफूकहाँ आएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले पुनर्विचारका लागि भन्दै सोमबार प्रतिनिधि सभामै फिर्ता पठाउनुभएको छ ।

राष्ट्रपति भण्डारीले फिर्ता पठाएको ९ पृष्ठ लामो पत्रमा नागरिकता विधेयक प्रतिनिधि सभाको जानकारी, विमर्श र अध्ययनका लागि फिर्ता पठाएको उल्लेख छ । राष्ट्रपतिको सुझावमा विधेयकले नसमेटेका विषयलाई समेट समेट्न अनुरोध गरिएको छ ।

राष्ट्रपति कार्यालयको सोसम्बन्धी पत्र संघीय संसद सचिवालयमा पुगेको छ ।

फिर्ता विधेयकबारे जानकारी गराएपछि अर्को बैठकमा यसबारेमा छलफल हुनेछ ।

राष्ट्रपतिले कुनै विधेयक सन्देश सहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तोे विधेयक जस्ताको तस्तै वा संशोधन सहित पारित गरी पुनः राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाउने गरिन्छ ।

यसरी आएको विधेयकलाई राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

पुनः आएको विधेयक फिर्ता गर्न सक्ने अधिकार राष्ट्रपतिलाई संविधानले दिएको छैन ।

संघीय संसदले आफ्नो अधिकारमाथि राष्ट्रपतिबाट चुनौति देखिएको महसुस गरेर जस्ताको तस्तै पारित गरेर पठायो भने राष्ट्रपतिको छवि धूमिल हुने देखिन्छ ।

यीनै प्रावधानसहित पूर्वपर्ति सरकारका प्रमुख के.पी. शर्मा ओलीले ल्याएको अध्यादेश राष्ट्रपतिले तत्कालै प्रमाणीकरण गर्नुभएको थियो

अहिले संघीय संसदले लामो समय विचार विमर्श गरेर पेश गरेको विधेयक रोक्दा उहाँ आलोचनाको पात्र पनि बन्नुभएको छ ।

Share Now

Leave a comment.