Prakash Adhikari August 17, 2022

बेसीसहर(लमजुड.), १ भाद्र । लमजुङको सदरमुकाम बेंसीसहरबाट मर्स्याङ्दी गाउँपालिका २, घनपोखरा भाचे जाँदै गरेको जिप दुर्घटना हुँदा सबै यात्रु घाइते भएका छन् ।

जिपमा सवार १५ जना यात्रु घाइते भएको र सवारी चालकले हाम फालेर जोगाएको प्रहरीले जनाएको छ ।

बुधबार साँझ ५ बजेतिर ग१ज ७४१७ नम्बरको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा एक गर्भवतीसहित ६ महिला, ४ बालबालिका र ५ जना पुरुष घाइते भएका छन् ।

स्थानीय कृष्णबहादुर विकका अनुसार भाचे जाँदै गरेको जिप काफलडाँडाको घुम्ती नपुग्दै पल्चे खोलामा दुर्घटना भएको हो । जिप खोल्सामा खसेपछि यात्रुलाई स्थानीय र प्रहरीले उद्धार गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदीश रेग्मीका अनुसार गम्भीर घाइते मर्स्याङ्दी गाउँपालिका २ की ५३ वर्षीया इन्द्रदेवी घलेलाई नयाँ मेडिकल कलेज चितवन रिफर गरिएको छ ।

दुर्घटनामा घाइते हुनेमा मर्स्याङ्दी ६ का २५ वर्षीया करिना सुनार, उनका २ वर्षीय छोरा रिजन विक, २५ वर्षीय सोमनाथ विक र २३ वर्षीय मिलन विक छन् ।

यस्तै, मर्स्याङ्दी २ का ४ वर्षीया कृतिका विक, ५६ वर्षीया सुनमाया गुरुङ, गर्भवती १९ वर्षीया रेखा विक, ३४ वर्षीया शिवकुमारी गुरुङ, उनका २ वर्षीय छोरा रियन्स गुरुङ र ३० वर्षीया मनु विक छन् ।

घाइते भएका अन्य यात्रुमा मर्स्याङ्दी २ कै ३३ वर्षीय शेषबहादुर गुरुङ, ५२ वर्षीय चित्रबहादुर गुरुङ, ३१ वर्षीय बुद्धिबहादुर गुरुङ र ७ वर्षीय राजिप गुरुङ छन् । उनीहरु सबैको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

चालक मर्स्याङ्दी गाउँपालिका २ का २५ वर्षीय अजय विकले हाम फालेर ज्यान जोगाएको र उनी नियन्त्रणमा रहेको प्रहरीले बताएको छ ।

इन्सपेक्टर रेग्मीका अनुसार सडकबाट करिब २५ मिटर तल खोल्सामा खसेर जिप दुर्घटना भएको हो । उकालोमा व्याक गर्दा बढी लोडका कारण ब्रेक लाग्न नसकी जिप दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

Share Now

Leave a comment.